चालू आर्थिक वर्षमा बैंकको ब्याजदर बढेसँगै घरजग्गा कारोबार घटेको छ।
गत वर्ष ब्याजदर घट्दा घरजग्गाको कारोबार उकालो लागेकोमा यो वर्ष घटेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्ष कोभिड महामारीको बीच पनि गत वर्ष माघमा पौने ७ अर्ब राजस्व उठेको थियो ।
यो वर्ष भने ५ अर्ब ५० करोड रुपैयाँ मात्रै राजस्व उठेको विभागले उल्लेख गरेको छ।
विभागका अनुसार सेवाकरबापत २० करोड, वाग्मती सभ्यताको लागि करबापत १८ करोड, राजिष्ट्रेशन दस्तुरबापत ३ अर्ब ३१ करोड, पुँजीगत लाभ करबापत १ अर्ब २६ करोड, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क ४ करोड राजस्व उठाएको छ भने त्यसमा छुट ४८ करोड दिएको छ।
गत वर्ष कोभिडको कारण ह्वात्तै घटेको कारोबार पुसपछि विस्तारै बढ्दै गएको थियो। व्यवसायीका अनुसार सबैभन्दा बढी घरजग्गा कारोबार माघ, फागुन र चैतमा हुने बताउँछन्।
चालू आर्थिक वर्षमा बढ्न नसक्नुमा तरलता अभावको कारण कारोबारमा कमी आएको नेपाल जग्गा विकास तथा आवास संघका महासचिव पुरुषोत्तम पौडेलले बताए।
‘बैंकको ब्याजदर पनि बढेको छ। ऋण नै नपाउने अवस्था रहेको छ’, महासचिव पौडेलले भने, ‘ऋण नै सहज नपाउने भएपछि स्वाभाविक रुपमा कारोबार घटेको हो।’
चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ पुसमा ७.१८ प्रतिशत रहेकोमा २०७८ पुसमा ८.४२ प्रतिशत कायम रहेको छ।
जसअनुसार नेपाल बैंकर्स संघले मुद्दती निक्षेप खातामा व्यक्तिगतका लागि बढीमा ११ दशमलव ३५ र संस्थागतमा त्यसको एक प्रतिशत कम अर्थात् १० दशमलव ३ प्रतिशत अधिकतम ब्याजको सीमा तय गरेको गरेको छ।
गत वर्ष बैंकमा औसत निक्षेप राख्ने ५ प्रतिशत दरसम्म ब्याज आम्दानी गरेका छन् भने बैंकबाट ऋण लिनेले ९.९ प्रतिशतसम्म ब्याज तिरेका छन्। आव ०७६/७७ को तुलनामा करिब २ प्रतिशतले ऋणको ब्याजदर घटेको थियो।
राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/०७६ को अर्धवार्षिक मौद्रिक नीति समीक्षाअनुसार औसत बचत (निक्षेप) ब्याजदर ६.७२ प्रतिशत रहेको थियो भने सबैखाले ऋणको औसत ब्याजदर १२.२९ प्रतिशत रहेको थियो।
आव २०७६/०७७ को पहिलो ६ महिनामा औसत बचत ब्याजदर ७.७९ प्रतिशत रहेको थियो भने सबैजसो ऋणको औसत ब्याजदर ११.९४ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकको तथ्यांक अनुसार घरजग्गा कारोबारमा ६६.५ प्रतिशतले ऋण घटेको छ। गत साउनमा ३ खर्ब १६ अर्ब ४६ करोड घरजग्गा कारोबारमा ऋण प्रवाह भएकोमा पुससम्म आइपुग्दा १ खर्ब ५ अर्बमा झरेको छ। पुससम्म ६६.५ प्रतिशतले घरजग्गा कारोबार घटेको बताएको छ।
घरजग्गा व्यवसायीका अनुसार घरजग्गाको कारोबार रेमिट्यान्स घट्दा पनि असर पुगेको बताएका छन्।
‘विदेशबाट आउने अधिकांश रकम घरजग्गा कारोबारमा प्रयोग हुन्छ’, एक व्यवसायीले भने, ‘पछिल्लो समय रेमिट्यान्स घटेको छ। त्यसैले घरजग्गा कारोबार कम भएको हुनसक्छ।’
३२ वटा मात्रै अपार्टमेन्टसम्बन्धी कारोबार
१ महिनामा अपार्टमेन्टको कारोबार भने जम्मा ३२ वटा भएका छन्। कुल १ लाख ३२ हजार वटा कारोबार भएक। जसमा लिखित पारित ५९ हजार ५१६, नामसारी ४ हजार २७७, संशोधन ३ हजार ६२२, हाल साविक २ हजार २४९, रोक्का ३० हजार ९५८, फुकुवा १८ हजार ६७६ कारोबार भएका छन्।
सबैभन्दा बढी धेरै भद्रपुर, दमक, इनरुवा, जनकपुरधाम धनुषा, झक्तपुर, कलंकी, चितवन, मकवानपुर कार्यालयबाट भएको छ।
काठमाडौं उपत्यकामा भक्तपुर मालपोत कार्यालयबाट १९ हजार २२ वटा, लगनखेलबाट १९ सय १६, कलंकीबाट १६ सय ६८, साँखुबाट ९ सय ५८, चावहिलबाट ७ सय ७८, मनमैजुबाट ६ सय १२, डिल्लीबजारबाट ३ सय ३६, टोखाबाट ३०७ र गोटीखेल ललितपुरबाट ३१ वटा घरजग्गाको किनबेच भएको छ ।
Shares
प्रतिक्रिया