नेपालको पुनर्बीमा क्षेत्रमा चर्चित व्यावसायिक समूह ‘आईएमई ग्रुप’को प्रवेश भएको छ। योसँगै ग्रुपले बीमा क्षेत्रमा ठूलो हिस्सा ओगटेको हो।
ग्रुपले पछिल्लो लगानी हिमालयन रि इन्स्योरेन्समा गरेको छ। गत असारमा मात्रै लाइसेन्स पाएको हिमालयन रि इन्सोरेन्सको साढे तीन प्रतिशत सेयर आईएमईले खरिद गरेको हो।
यही प्रकृतिको काम गर्ने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा समेत यस ग्रुपको ६ प्रतिशत लगानी छ। त्यसका अलावा आईएमई लाइफ इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्समा ग्रुपको ठूलो सेयर हिस्सा छ।
हिमालयन रिमा आईएमईले करिब साढे तीन प्रतिशत सेयर २० करोड रुपैयाँमा खरिद गरेको हो। आईएमई ग्रुपसहित हिमालयन रिमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत १९ वटा बिजनेस ग्रुपको लगानी छ।
त्यसो त आईएमई ग्रुप आफैँले समेत नयाँ रिइन्स्योरेन्स कम्पनीको लागि लाइसेन्सको माग गरेको थियो।
प्रुडेन्सियल रि इन्सुरेन्स नामक पुनर्बीमा कम्पनीको लागि ग्रुपले लाइसेन्स माग गरेको थियो। उसले व्यवसायी शेष घले, विशाल ग्रुपलगायतको साझेदारीमा प्रुडेन्सियल रि इन्स्योरेन्सको लागि लाइसेन्स माग गरे पनि सरकारले हिमालयन रिलाई लाइसेन्स दिएको थियो।
शंकर ग्रुप, गोल्छा ग्रुप तथा इन्फिनिटी होल्डिङ (दीपक भट्ट)लगायतको लगानी रहेको हिमालयन रिलाई सरकारले लाइसेन्स दिएको थियो।
हिमालयन रिमा इन्फिनिटी होल्डिङ प्रालिको ४५ करोड रुपैयाँ अर्थात् ६ दशमलव ४३ प्रतिशत लगानी छ। यसको आधा सेयर आईएमई ग्रुपले २० करोड रुपैयाँमा खरिद गरेको हो। यसअनुसार ३ प्रतिशतभन्दा बढी हिमालयन रिको सेयर आईएमई ग्रुपले खरिद गरेको हिमालयन रिका एक सञ्चालकले नेपालखबरलाई बताए।
उनले भने, ‘आईएमई ग्रुप आफैँले हिमालयन रिमा लगानीको इच्छा व्यक्त गरेपछि हामीले सेयर दिएका हौँ। आईएमई ग्रुप नेपालको स्तरीय बिजनेस घराना हो। यस समूहलाई बाहिर राखेर बस्न पनि सकिएन।’
कुन–कुन समूहको लगानी?
हिमालयन रिका प्रवर्द्धकहरूमा नेपालका प्रमुख व्यापारिक घरानाहरूका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड प्रमुख छन्। यसबाहेक कम्पनीमा गोल्छा ग्रुप, शंकर ग्रुप, इन्फिनिटी होल्डिंग्स, भाग्यशाली समूह, रमेश कर्पोरेसन, शिवशक्ति समूह, हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, शालिमार लगानी, केसर सीके इन्भेष्टमेन्ट, वैष्णव इन्टरप्राइजेज, मुरारका समूहको लगानी छ।
त्यसैगरी, केएल दुगड ग्रुप, एमभी दुगड ग्रुप, आरएच समूह, एमएस कर्पोरेसन, आईएमई ग्रुप, प्रेम गुरुङ एण्ड ग्रुप, अश्लेषा इन्टरप्राइजेज, सहयोगी महाद्वीपीय र बालाजी मार्बल्सको पनि हिमालयन रिमा लगानी छ।
यस्तो छ व्यवसाय
७ अर्ब चुक्ता पुँजी रहेको हिमालयनको नेतृत्व शेखर गोल्छाले गरेका छन्। यसले सुरुबाटै आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको छ।
स्थापनाको सात महिनामै कम्पनीले २४ निर्जीवन तथा जीवन बीमा कम्पनीलाई आबद्ध गरिसकेको छ। चालू आवको पहिलो तीन महिनामै यो कम्पनीले ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।
नेपाली बीमा कम्पनीहरुलाई सुरुकै चरणमा आबद्ध गरेर कम्पनीले दोस्रो त्रैमासिकमा त पहिलो त्रैमासिकभन्दा दोब्बरभन्दा बढी बीमाशुल्क संकलन गरेको अनुमान छ। छ महिने रिपोर्ट केही दिनमै सार्वजनिक गरिने हिमालयन रिले जनाएको छ।
Shares
प्रतिक्रिया