सन् २०१७ को अन्ततिर सुरजराज पाण्डे बंगलादेशमा भएको युथ कन्फरेन्समा सहभागी भए। त्यहाँ उनका बंगलादेशी साथी थिए अहमिद फाहिम।
गार्मेन्ट उद्योगी परिवारका फाहिमले उनलाई कारखाना भ्रमण गराए। साथीसँगै दिनभर उद्योग घुमे। हजारौँ कामदार भएका यी उद्योगमा मेसिनहरु चलिरहेका थिए।
सुरजले देखेका गार्मेन्ट उद्योगबाट बंगलादेशले वर्षेनी खर्बौँको कपडाजन्य निर्यात गर्छ। कुनै समय नेपालमा पनि यस्तै उद्योग सञ्चालन हुन्थे। ३ दशक अघिसम्म नेपाली गार्मेन्ट उत्पादन र निर्यातको लागि राम्रै थियो। विश्वका ठूला–ठूला ब्रान्ड पनि नेपाली कपडामा झुम्मिन्थे।
यसलाई मनमा लिँदै सुरज बंगलादेशबाट फर्किए। यहाँ आएर गार्मेन्टको बजार बुझे। अर्बौँको गार्मेन्ट विदेशबाट आउने। तयारी पोशाक निर्यात पनि हुने तर विना ब्रान्ड। उनलाई लाग्यो– नेपालमा स्रोत पनि छ। श्रमिक पनि छन्। आधुनिक प्रविधि भित्र्याउन पनि सकिन्छ।
यसबाट नेपालमा कपडा ब्रान्ड मज्जाले फस्टाउने प्रबल सम्भावना देखेपछि सुरजले साथीहरुसँग आफ्नै ब्रान्ड बनाउनेबारे छलफल अघि बढाए। सुझाव मागे।
उनीहरुमध्ये केहीले ‘तँलाई आइडिया छैन, झमेला हुन्छ’, ‘नगर’ पनि भने। केहीले चाहिँ योजनाअनुसार अघि बढ्न प्रोत्साहन पनि गरे।
‘जसले जेसुकै भनोस् बरु थोरै लगानी गर्छु। चले ठीकै छ, नभए अनुभव हुन्छ।’
उनको यही सोचले सुरु भयो– ‘फाइब्रो’ ब्रान्ड।
नेपालमा कपडाका थुप्रै ब्रान्ड भए पनि घर–घरमा पुग्नसकेका थिएनन्। सर्वसाधारणले ब्रान्डको अनुभूति नै गर्न पाएका थिएनन्। अझै पनि मज्जाले पुगिसकेका छैनन्।
सुरजको सपना साकार हुनेतिर अघि बढ्यो।
‘नेपालीले गर्वका साथ भन्न सकोस्। यो नेपालमै उत्पादित ब्रान्ड हो भन्ने ठानेँ र अघि बढेँ’, उनी भन्छन्।
तर सुरु गरेको ९–१० महिनामै कोभिड महामारी सुरु भयो। व्यवसाय बढाउने योजना एकातिर रह्यो, आफू बाँच्ने आधार अर्कैतिर।
कोभिडले व्यवसाय सोचेजस्तो बढाउन नसके पनि उनको भिजन भने डगमगाएको छैन।
‘समय र अनुभवसँगै बाटो परिवर्तन हुँदै गएका छन्’, उनको अठोट छ, ‘हामी कहाँ पुग्ने हो, गन्तव्य स्पष्ट छ।’
महामारीपूर्व र महामारीपछि अर्थतन्त्रको विकास नै फरक तरिकाले बढिरहेको उनको अनुभव छ। आफूलाई समयअनुसार ढाल्दै लगेका छन्।
स्टार्टअपबाट उद्योगीको यात्रा
स्टार्टअपका रुपमा हुर्काएको फाइब्रोलाई अहिले उद्योगमा ‘अपग्रेड’ गर्दै छन्। उनलाई को–फाउन्डर ओक्सर श्रेष्ठले सहयोग गरिरहेका छन्।
स्टार्टअपलाई उद्योग बनाउन उनीसँग पर्याप्त पुँजी छैन। यसका लागि दुई जना बिजनेस पार्टनर भित्र्याइसकेका छन्।
एक वर्षअघि मात्रै बीआईटी गरेका सुरज हरेक कुरामा प्रविधिको प्रयोग गर्न खोजिरहेका छन्। ‘टेक इनेबल फेसन कम्पनी’ बनाउने उनको सोच छ।
त्यसो त सुरज जुनसुकै प्रोडक्ट बजारमा ल्याउनुअघि धेरै तहमा काम गर्छन्।
फेसन डिजाइनरले कस्तो मुडमा कन्सेप्ट प्रस्तुत गरेको छ, त्यसमा छलफल गर्छन्। कन्सेप्ट राम्रो लागे त्यसको फेब्रिक नेपालमा पाउँछ÷पाइँदैन हेर्छन्। नेपालमा त्यस्तो फेब्रिक पाउन अप्ठ्यारो भए योजना अघि नै बढाउँदैनन्।
फेब्रिक ल्याउन सकिने भए डिजाइन स्किेच बनाउँछन्। स्केचलाई कुन प्राविधिक ढाँचामा बनाउने हो, त्यसको प्रोटोटाइप (प्रारूप) बनाई ग्राहकसँग सुझाव माग्छन्।
यसमा कस्तो रंग सुहाउँछ, सिलाइबुनाइ कस्तो मन पर्छ, थाहा हुने उनी बताउँछन्। त्यसपछि मूल्य कति राख्ने हो सुझाव र प्रतिक्रिया लिन्छन्।
यसरी धेरैले ‘ओके’ भनेपछि मात्रै प्रोडक्ट उत्पादनमा जाने गरेको छ। नभए ढाँचा, फेब्रिक र कन्सेप्ट नै परिवर्तन हुन्छ।
‘हामी नेपालमा साना–साना कुरामा परिवर्तन ल्याई ‘अटेन्सन डिटेल’मा काम गर्न खोजिरहेका छौँ’, सुरज भन्छन्, ‘यसले कहिलेकाहीँ गल्ती पनि गरेका छौँ। त्यसबाट पाठ सिकेर अघि बढ्दै छौँ।’
गुणस्तरमा विशेष ध्यान
सुरजलाई सबैभन्दा गाह्रो कच्चा पदार्थको गुणस्तरलाई स्थिर राख्नमा अप्ठ्यारो लाग्छ। उनले नेपालीबाटै फेब्रिक किन्छन् भने यहाँ नपाउने कच्चा पदार्थ बाहिरबाट ल्याउँछन्।
पछिल्लो १ वर्षमा भने बाहिरबाट कच्चापदार्थ नल्याएको उनी बताउँछन्। आयातकर्ताले कोभिडको कारण कच्चा पदार्थ ल्याउन नसकिरहेको बताउने गरेका छन्।
अब अरुको भर पर्नुभन्दा आफैँ कच्चा पदार्थमाथि कन्ट्रोल हुनुपर्ने बुझाइमा पुगेका छन् उनी। त्यसका लागि विभिन्न लजिस्टिक एजेन्टसँग छलफल अघि बढाइरहेका छन्।
‘अहिले ३ महिनाको लागि मात्रै कच्चा पदार्थ ल्याएर हुँदैन’, उनी भन्छन्, ‘कम्तीमा १ वर्षको योजना बनाएर अघि बढ्नुपर्छ।’
कुन समयमा कुन प्रोडक्ट बजारमा ल्याउने कस्तो डिजाइन बनाउने भन्ने काम गरिरहेका छन्।
२ महिनामा फाइब्रोको आफ्नै डिजाइन स्टुडियो निर्माण गर्दै छन्। उद्योग छिट्टै काठमाडौंमै सञ्चालनमा आउँदै छ। मेसिनहरु खरिद गरिसकेको र अब सेटअप गर्न बाँकी रहेको उनले बताए।
४ वटा सेगमेन्टमा ६० बढी डिजाइन
सुरजले फाइब्रोको सुरुवात ज्याकेटबाट गरेका थिए। कीर्तिपुरमा गार्मेन्ट चलाइरहेका साथीलाई फाइब्रो ब्रान्डमा ज्याकेट उत्पादन गरिदिन आग्रह गर्दै ७–८ हजार दिए।
सुरजको अर्डरअनुसार साथीले ज्याकेट बनाइदिए। उक्त उत्पादन आफ्नै साथीभाइलाई बिक्री गरे।
फाइब्रो सुरु गर्दा फुल टाइम जागिर गरिरहेका थिए। साइकल चढेर हिँड्ने उनी आफ्नो प्रोडक्ट बोकेर घर–घर पुग्थे। सुरुमा बनाएको प्रोडक्ट ३ हप्तामा पूरै बिक्री भएसँगै व्यवस्थित रुपमा उत्पादनतर्फ लागे।
‘सिड मनी (बीउपुँजी)को रुपमा करिब १० हजार जति लगानी गरेको हुँ’, उनी भन्छन्, ‘अहिले भ्यालुएसन गर्दा २ करोड बढीको हुन्छ।’
फाइब्रोले ४ वटा सेगमेन्टमा बढी काम गरिरहेको छ। दैनिक प्रयोग हुने सर्ट, टिसर्ट, हुडी उत्पादन गर्छ।
दोस्रो एडभेन्चर्स गियर बजारमा ल्याउँदै छन्। कच्चापदार्थ नपाउँदा चैत वैशाखको समय छुटेको छ। भदौपछि घुम्न निस्किनेको संख्या धेरै हुन्छ। त्यसलाई प्राथमिकता दिएर टिसर्ट, प्यान्ट, ट्रयाकसुट, डाउन ज्याकेज, सिलिकन ज्याकेट उत्पादन गर्दै आएका छन्।
तेस्रो सेगमेन्टमा युटिलिटी प्रोडक्ट पर्छ। यसमा समर ज्याकेटहरु पर्छन्। जसले पानी, धूलो, चिसो÷तातोको मेनटेन हुन्छ।
अर्को इनोभेसन सेगमेन्ट छ। जसमा नयाँ प्रोडक्ट बजारमा ल्याइरहेको हुन्छ। बाहिरबाट फेब्रिक ल्याएर प्रोडक्ट उत्पादन गर्दै छन्।
फाइब्रोले ६० बढी डिजाइन बनाइरहेको छ। जसमा १७–१८ वटा डिजाइन बजारमा चलिरहेका छन्। गर्मीको समयमा एउटा प्रोडक्ट बढी चल्छ भने जाडोको समयमा अर्को।
फाइब्रोको सबैभन्दा बढी चासो युटिलिटी प्रोडक्टमा बढी चासो छ। एउटै प्रोडक्टले धेरै फाइदा हुँदा युटिलिटी प्रोडक्ट बन्न नपाउँदै सकिन्छ।
‘भर्खर गर्मी सुरु हुँदै छ। त्यसको लागि सुपर स्टार प्रोडक्टको रुपमा आउँदै छ। समर लाइफ ज्याकेट अहिले उत्पादन भइरहेको छ। त्यसबाहेक १३–१४ वटा डिजाइन वैशाखमा रिलिज हुँदै छन्’, आफ्ना योजना सुनाए।
चैत महिना जहिले पनि सेल्सभन्दा प्लानिङ र प्रोडक्सन फोकस गरिरहेका हुन्छन्। गर्मीको प्रोडक्टमध्ये मंसिरसम्म बिक्री हुने बताउँछन्।
नेपाली बजार ब्रान्डमाथि मूल्यको भार
नेपाली आम उपभोक्तामा ब्रान्डमाथि मूल्यको भार बढी नै छ।
‘ब्रान्ड भनेको फेथ अर्थात् विश्वास हो। कपडा बन्ने प्रोसेसले नै ब्रान्ड निर्धारण गर्छ’, उनी भन्छन्, ‘नभए सामान्य कैँचीले काटेर बनाएको प्रोडक्टलाई पनि फाइब्रो भन्न सकिन्छ। तर त्यसको विश्वसनीयता हुँदैन।’
विश्वास नै नभएको कुरामा केही रकम खर्च गरेर किन्न तयार हुँदैन। सुरज आम ग्राहकलाई विश्वास दिलाउन चाहन्छन्। उनको मुख्य ध्यान गुणस्तरीय उत्पादनमा छ।
पैसा कमाउने मात्रै होइन ग्राहकलाई राम्रो प्रोडक्ट उपलब्ध गराउने कम्पनी पनि छन् है भन्ने विश्वास दिलाउनु छ उनलाई।
नेपाली बजारमा थुप्रै नक्कली ब्रान्ड बिक्री हुने गरेका छन्। केही विदेशी ब्रान्ड टाँसेका हुन्छन् भने केही नेपाली ब्रान्ड नै टाँस्न थालेका छन्।
‘नेपाली ब्रान्ड खरिद गर्ने सचेत समूह छ। तर केहीले नक्कली फाइब्रो बनाएरै बिक्री गर्दा हामीलाई अप्ठ्यारो पर्छ’, उनी भन्छन्।
उत्पादन सुरु गरेको एक–डेढ वर्ष मुखैले भनेर फाइब्रोको डेलिभरी गरे। महामारीसँगै बीचबाट अनलाइन मार्केटिङ सुरु गरे। ग्राहक अझै अनलाइनमा पूरै विश्वास गर्ने अवस्था बनिसकेको छैन।
‘पहिलो पटक खरिद गर्ने ग्राहकलाई स्टोरमै भिजिट गरी चेक गर्न आग्रह गर्छौँ’, फाइब्रोका ग्राहकलाई सुरज भन्छन्, ‘एकपटक फाइब्रोका कपडा खरिद गरेपछि ढुक्क हुनुहुन्छ।’
जुम्लादेखि बेलायतसम्म पुग्दै छ फाइब्रो
लामो समय काठमाडौंको बजारलाई नै प्राथमिकता दिएका सुरज फाइब्रोलाई नेपालसँगै विदेशसम्म फैलाउँदै छन्।
नेपाली प्रोडक्टलाई प्राथमिकता दिने स्टोरबाट फाइब्रो बिक्री भइरहेको उनको भनाइ छ।
फाइब्रोको आधा अर्डर काठमाडौंभित्र नै हुन्छ। त्यसबाहेक पोखरा, चितवन, बुटवल, दाङ र इटहरीमा फाइब्रोका प्रोडक्ट उपलब्ध छन्। अहिले जुम्लाको खलंगामा पनि फाइब्रोको प्रोडक्ट पुगिसकेको छ।
फाइब्रोको डेलिभरी लोजिस्टिक पार्टनरसँग मिलेर गरिरहेका छन्। काठमाडौंभित्र २४ घण्टामा डेलिभरी हुन्छ भने काठमाडौंबाहिर सुगम क्षेत्रमा २ दिन र दुर्गमा एक हप्ताभित्र डेलिभरी हुन्छ।
फाइब्रोको आफ्नै ब्रान्डमा फ्ल्यागसिप आउटलेट्स आउँदै छ। फाइब्रोले नयाँ डिजाइनका प्रोडक्ट ल्याउँदै छ।
कसैले गिफ्टिङको रुपमा सामग्री डेलिभरी गर्नुपरे विशेष प्याकेज गरेर पठाउने गरेका छन्। नेपालबाहिरबाट पनि अनलाइन पेमेन्ट गर्न सकिन्छ। विदेशमा भएका आफ्न्त, साथीभाइले त्यसको प्रयोग गरिरहेका छन्।
बंगलादेशको गार्मेन्ट उद्योगबाट प्रभावित भएर फाइब्रो ब्रान्ड ल्याएका सुरज नेपाली ब्रान्डलाई विदेशमा पठाउन सकिनेमा पूर्ण विश्वस्त रहेका छन्।
‘क्वालिटी’ र ‘इनोभेटिभ’ भएर काम गर्दा राम्रो निर्यात गर्न सकिने उनको विश्वास छ।
बेलायतमा उनले परीक्षणका रुपमा प्रोडक्ट पठाएका छन्। ग्राहकलाई सिधै खरिदभन्दा पनि त्यहाँ व्यवसाय गरिरहेकामार्फत निर्यातको लागि तयारी गरिरहेका छन्। त्यस्तै दक्षिण अमेरिकामा पनि निर्यात गर्ने उनको योजना छ।
‘यही आर्थिक वर्षमा नेपालबाहिर फाइब्रो ब्रान्डको उपस्थिति हुनेछ’, उनी भन्छन्, ‘हाम्रो मुख्य भिजन नेपालसँगै निर्यात गर्नु हो।’
Shares
प्रतिक्रिया