चिनियाँ लगानीका २ ठूला सिमेन्ट उद्योगबीच प्रतिस्पर्धा सुरु भएको छ। चिनियाँ लगानीको ह्वासिन सिमेन्ट बजारमा आउन थालेसँगै होङ्सी र ह्वासिन सिमेन्टबीच टक्कर हुने भएको हो।
सिमेन्टको उत्पादन क्षमताभन्दा सिमेन्ट खपत कम हुँदा अहिलेकै अवस्थामा सिमेन्ट उद्योगबीच प्रतिस्पर्धा छ। हालै बजारमा आउन सुरु गरेको ह्वासिन सिमेन्टले ठूलो प्रतिस्पर्धा हुने व्यवसायीको आकलन छ।
६ हजार मेट्रिक टन क्षमताको होङ्सी सिमेन्ट २०७५ सालमै नेपाली बजारमा आएको थियो। उक्त उद्योगले अहिले करिब ३ हजार मेट्रिक टन क्लिङकर र ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ।
२०२० को सुरुवातमै बजारमा ल्याउने योजना बनाएको ह्वासिन सिमेन्ट हालै बजारमा आएको छ। ह्वासिन सिमेन्ट नारायणी प्रालिका सञ्चालक सुरज वैद्यले ह्वसिन ब्रान्ड नेपाली बजारमा पठाउन थालेको जानकारी दिए।
नेपालमा वार्षिक ९० लाख टन बढी सिमेन्ट खपत हुन्छ। व्यवसायीका अनुसार काठमाडौं सिमेन्टको कुल खपतमध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङमा मात्रै ३५ प्रतिशत खपत हुन्छ। हुवासिन सिमेन्टले काठमाडौंसहित पोखरा र चितवनका बजारमा सिमेन्ट पठाउनथालेको छ।
‘केही दिनदेखि सिमेन्ट बजारमा पठाउन थालेका छौँ। काठमाडौंसहित पोखरा र चितवनमा पुगेको छ’, कम्पनी एक अधिकारीले भने, ‘हाम्रो उद्योग धादिङमा भएकाले मुख्य बजार काठमाडौं हो। आसपासका ठूला सहर प्राथमिकतामा पर्छन्।’
ह्वासिनले सिमेन्ट भर्खर बजारमा आउनथालेकाले बजार रणनीति बनाई अघि बढ्ने जनाएको छ।
स्थानीयको अवरोध, कोभिड १९ महामारी, बाढीलगायतका कारण उत्पादनमा ढिलाइ भएको जनाएको छ। ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य हुन्।
ह्वासिनको १४ अर्ब ८२ कुल पुँजी छ। निर्माण र उत्पादनको समय बढ्दा लागत करिब १६ अर्ब पुगेको उद्योगले जनाएको छ।
ह्वासिनको ओपीसी ५ लाख ६० हजार, पीपीसी २ लाख ४० हजार, पीएससी ४ लाख मेट्रिक टन सिमेन्ट वार्षिक उत्पादन क्षमता छ। ह्वासिनले वार्षिक १० लाख ९५ हजार मेट्रिक टन उत्पादन गर्न सक्छ।
‘अहिले पीपीसी सिमेन्ट बजारमा ल्याएका छौँ। ओपीसीको उत्पादन परीक्षण हुँदै छ’, उद्योगका प्रबन्धक तुल्सी थापाले भने, ‘परीक्षणकै चरणमा रहेकाले पूर्ण क्षमतामा भने सञ्चालनमा आएको छैन।’
उद्योगले धादिङको बेनिघाट रोराङ गाउँपालिकामा केही जग्गा किनेर तथा सार्वजनिक जग्गा भाडामा लिएर उद्योगको संरचना निर्माण गरेको छ।
त्यस्तै नवलपरासीमा रहेको चिनियाँ लगानीकै होङ्सीको मुख्य बजार चितवन, रुपन्देही, कास्की र कठमाडौं आसपास नै रहेको छ। होङ्सी शिवम् सिमेन्ट प्रालिको कुल पुँजी ३७ अर्ब ३५ करोड छ। ३० प्रतिशत नेपाली लगानी छ भने ७० प्रतिशत चिनियाँ लगानी छ।
उद्योग विभागको तथ्यांकअनुसार ओपीसी सिमेन्ट उत्पादन क्षमता ९ लाख २० हजार टन, पीपीसी १३ लाख ८० हजार टन उत्पादन क्षमता छ।
होङ्सी र शिवम् सिमेन्टमा लगानी गरेका एचआर गोयल ग्रुपका अध्यक्ष विश्वनाथ गोयलले नेपालमा सिमेन्टको खपत बढ्ने उद्देश्य राखेर उद्योग स्थापना भए पनि खपत नबढेको बताउँछन्।
होङ्सीमा लगानी गरेको चिनियाँ कम्पनीले दाङ सिमेन्टमा पनि लगानी गर्दै छ। राष्ट्र बैंकबाट लगानीको लागि स्वीकृति दिएको छ।
‘नेपालमा अब विकास निर्माण तीव्र हुन्छ, सिमेन्टको खपत बढ्छ भन्ने उद्देश्य राखेर धमाधम उद्योग स्थापना वा लगानी विस्तार भयो। भएका उद्योगले पनि आफ्नो उत्पादन क्षमता बढाए’, गोयलले भने, ‘तर सिमेन्टको माग जुन हिसाबले बढ्नुपर्ने हो, बढिरहेको छैन।’
गोयलले अहिले खपत नबढ्दा प्रतिस्पर्धा बढेको बताए।
नेपालका ठूला आयोजनामा चिनियाँ ठेकेदार बढ्दै गएकाले ह्वासिन र होङ्सीको प्रतिस्पर्धा ती आयोजनामा पनि रहेको उद्योगीहरुको भनाइ छ।
‘चिनियाँ ठेकेदारले पाएका आयोजनामा नेपाली सिमेन्ट खरिद गर्नुभन्दा आफ्नै देशको लगानी भएका सिमेन्ट खोज्छन्’, एक सिमेन्ट उद्योगीले भने, ‘चिनियाँले ठेक्का पाएका आयोजनामा सिन्डिकेटजस्तै हुन्छ।’
Shares
प्रतिक्रिया