होटल सञ्चालन गर्ने विषयमा व्यवस्थापन र मजदुरहरुबीच सहमति भएसँगै साउन १ देखि पुराना कर्मचारीलाई काममा फर्किन भनिएको छ।
सहमतिअनुसार होटल सेवा बन्द रहेको समयको एक वर्ष १५ दिनको मजदुरहरुले पाउने छन्।
‘होटलको सेवा बन्द रहेको समयको साढे १२ महिनाको तलब, सञ्चयकोष कर्मचारी र ७१–७२ सालका बोनस कर्मचारीलाई दिने सहमति छ,’ होटलका आधिकारिक ट्रेड युनियन अध्यक्ष होम सुवेदीले नेपालखबरसँग भने, ‘हाउस किपिङ र इन्जिनिरिङतर्फका काम शुरु भैसकेको छ। अन्य पनि साउन एक गतेदेखि काममा शुरु हुन्छ।’
सहमतिअनुसार मजदुर तथा कर्मचारीले साढे चार महिनाका तलब एकमुष्ठ पाएका छन्। सुवेदीले होटल सञ्चालनका लागि आन्दोलन गर्दै आएका सबै कर्मचारी काममा राख्ने सहमति भएको बताए। कतिपय पुराना कर्मचारीले अवकास लिएका छन्। केही बाहिर राम्रो जागिर पाएर छोडेका छन्। होटलले थप कर्मचारी राख्नका लागि विज्ञापन प्रकाशित गरेको छ।
२०७२ बैशाख १२ को भूकम्पको २ दिनपछि होटलमा क्षति पुगेको भन्दै बन्द गरिएको थियो। होटल बन्द हुँदा त्यसमा व्यवस्थापन र मजदुर गरी २ सय ३७ जना कर्मचारी थिए। २०३७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएर भारतीय नागरिक मकबुल अहमद लारीले होटल सञ्चालनमा ल्याएका थिए।
१ सय ३१ जना कर्मचारीहरु सञ्चालक विवादका कारण होटल बन्द गरिएको भन्दै पुनः सञ्चालन गर्न माग गर्दै संघर्ष गर्दै आएका थिए।
करिब ३९ वर्षअघि नयाँ वानेश्वरमा भारतीय नागरिक मकबुल अहमत लारीले होटल स्थापना गरेका थिए। उनको २०६१ सालमा मृत्यु भएको थियो। त्यसपछि नयाँ वानेश्वरको ३२ रोपनी क्षेत्रफलमा अवस्थित होटलको सम्पत्ति हत्याउन विभिन्न समूहले चलखेल गरेका थिए।
मकबुलका छोरा मुजबफर लारी र भतिजा मस्कुर अहमद लारी, उनकी पत्नी नज्मा मस्कुर अहमद लारीबीच सम्पत्ति स्वामित्वको विषयमा विवाद भएको थियो। सो मुद्दा जिल्ला अदालत हुँदै सर्वोच्च पुगेको थियो। इन्भेस्टमेन्ट बैंकमार्फत मकबुल अहमद लारीले आफ्ना भतिजा बुहारीलाई सेयर बेचेको पैसा भुक्तानी भएको देखिएपछि सर्वोच्चले २०७४ फागुन ६ मा मकबुलका भतिजा बुहारी मस्कुर अहमद र भतिजा बुहारी निम्जा अहमद लारीको पक्षमा फैसला गरेको थियो।
होटलका मानव संशाधन विभागका प्रमुख नारायणप्रसाद पौडेलले होटलले चाँडै सेवा शुरु गर्ने लक्ष्यसहति मर्ममसम्हार गरिरहेको बताए।
‘तयारी तीव्र रुपमा अघि बढेको छ। जुलाई र अगस्टसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको छ’ पौडेलले भने, ‘कर्मचारी भर्ना लगायतको काम पनि शुरु भएको छ। ६० जनासम्म नयाँ कर्मचारी भर्ना गर्दैछौं।’ राजधानीको नयाँ बानेश्वरमा ३२ रोपनी क्षेत्रमा फैलिएको होटलमा १ सय ६० कोठा रहेका छ।
प्रतिक्रिया