ad ad

कारोबार


सामाजिक सुरक्षा कार्यक्रमः बाध्य पार्दै सरकार, असन्तुष्टि पोख्दै रोजगारदाता

सामाजिक सुरक्षा कार्यक्रमः बाध्य पार्दै सरकार, असन्तुष्टि पोख्दै रोजगारदाता

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १०:५८,

सरकारले १ वर्षअघि सुरू गरेकाे सामाजिक सुरक्षा कार्यक्रममा मंसिर मसान्तसम्म करिब १२ हजार रोजगारदाता र १ लाख ३२ हजार बढी योगदानकर्ता आबद्ध भएका छन्। यो अवधिमा सामाजिक सुरक्षा कोषले २७ करोड ३५ लाख रुपैयाँ बराबरको रकम संकलन गरेको छ।

उक्त कार्यक्रम लागू गरेको एक वर्ष बढी भइसक्दा रोजगारदाता त्यति उत्साहित हुन नसकेको देखिएको छ। पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा आबद्ध हुन मानेका छैनन्। तर सरकार भने कोषमा आबद्ध नभएका कुनै पनि संस्थाको वार्षिक नवीकरण नै नहुने कानुनी व्यवस्था गर्ने तयारीमा जुटेको छ।

कार्यक्रमलाई वित्तीय क्षेत्रमा आएको एउटा नयाँ कार्यक्रम मात्र मान्न सकिन्छ। तर यस्तो सुविधा यसअघि पनि कर्मचारी संचय कोष, नागरिक लगानी कोष, तथा बीमा कम्पनीहरुले कुनै न कुनै रुपमा दिँदै आएका छन् । सरकारले सामाजिक सुरक्षा कोषलाई आर्थिक सुरक्षाको ग्यारेन्टी लिने संस्थाको रुपमा विकास गरेको भन्दै जबर्जस्ती आबद्ध हुन आग्रह गरेको छ। कोषमा जान जबर्जस्ती गर्नु कुनै एक बैंकबाट मात्रै कारोबार गर वा कुनै एक बीमा कम्पनीबाट मात्रै बीमा गर भन्नु जस्तै भएको विज्ञहरु बताउँछन्।

खुला बजार अर्थतन्त्रमा नागरिकले कुन सुविधा कहाँबाट लिने या नलिने भन्ने निर्णय आफैँ गर्न पाउनुपर्छ। तर सरकार सामाजिक सुरक्षाका लागि नियामक हुनुपर्नेमा सञ्चालक बनेर जबर्जस्ती गरिरहेको छ। खासगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षामा जान नमानेपछि सरकारको नियत सतहमा आएको हो।

नेपाल वित्तीय संस्था कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालले दोहोरो कर बुझाउनुपर्ने, उपदान तथा पेन्सन सुविधा लिन ६० वर्ष कुर्नुपर्ने, तथा एकमुष्ठ पेन्सन नपाइने भएकाले सामाजिक सुरक्षा कर्मचारीको हितमा नभएको बताए। उनले पछिल्लो समय राष्ट्र बैंकले समेत बैंकहरुलाई निर्देशन दिएको भन्दै आपत्ति जनाए।

समाजिक सुरक्षा कोषबाट पाउने सुविधाहरु र योगदानको बाँडफाँटअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनामा ०.२७ प्रतिशत, वृद्धावस्था सुरक्षा योजनामा २८.३३ प्रतिशत गरी कुल ३१ प्रतिशत योगदान गर्नुपर्ने हुन्छ।

अन्य संस्थाबाट यो भन्दा बढी सुविधा लिदै आएका कर्मचारीहरुले कोषमा आवद्ध हुन आवश्यक ठानेका छैनन्। तर कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सबै सुविधा एकैठाउँबाट हुने र सरकारको अभियान नै भएकाले यसमा अनिवार्य दर्ता हुनुपर्ने बताउँछन्। उनले कुनै पनि संस्था, कम्पनी, उद्योग तथा प्रतिष्ठान नवीकरण हुँदा अनिवार्य कोषमा आवद्ध भएको हुनुपर्ने कानूनी व्यवस्था गरी अगाडि बढ्न सकिने बताए।

सरकार जसरी पनि सबै पक्षलाई कोषमा आवद्ध गराउने रणनीतिमा छ। आन्दोलनरत कर्मचारी तथा कम्पनी, उद्योग प्रतिष्ठानहरु, बैंकहरुले कर्मचारीले यसअघि लिँदै आएका न्यूनतम सुविधाहरु कोषले उपलब्ध गराउनुपर्ने बताउँदै आएका छन्। तर सरकार अझै पनि त्यसतर्फ गम्भीर भने देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .