ad ad

कारोबार


बहुराष्ट्रिय कम्पनी पेप्सीविरुद्ध ६४ करोडको करछली मुद्दा, २ अर्ब बिगाे दाबी

बहुराष्ट्रिय कम्पनी पेप्सीविरुद्ध ६४ करोडको करछली मुद्दा, २ अर्ब बिगाे दाबी

नेपालखबर
पुस ३, २०७६ बिहिबार ११:३३,

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सिकोको नेपालमा बोटलिङ गर्दै आएको कम्पनी वरुण बेभरेजविरुद्ध करछली मुद्दा दायर गरेको छ। विभागले कम्पनीविरुद्ध कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ छली गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो।

विभागले वरुण बेभरेज र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोद कुमार सिंह र अशोक कुमारविरुद्ध मुद्दा दायर गरेको हो।

विभागका अनुसार कम्पनीले झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बीजकको प्रयोग गरेको आरोप लगाइएको छ। विभागका अनुसार कम्पनीका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्तासहित सात जनामाथि उक्त परिमाणको बिगो रकम तथा त्यसको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० रुपैयाँ समेत गरी कुल १ अर्ब ९४ कराेड ८८ लाख ७ हजार २० रूपैयाँसम्म जरिवाना गराउन विभागले माग गरेको छ। साथै तीन वर्षसम्म कैद समेत मागिएको छ।

कम्पनीले नक्कली बीजक कारोबार गर्नेसँग मिलेर वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी नक्कली बीजक जारी गर्न खोलिएका फर्महरुले जारी गरेको बिल प्रयोग गरेर राजस्व छली गरेको बताइएको छ। उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिम कसुर गरेको विभागले ठहर गरेको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा नक्कली बीजकको कारोबारबाट २५ करोड ३४ लाख ६ हजार ९ सय ४०, आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय समेत गरी कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ राजस्व छली गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .