चालू आवको पहिलो चार महिनामा नेपालमा आउने रेमिट्यान्स बढेको छ।
साउन, भदौ, असोज र कात्तिकमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।
Shares
प्रतिक्रिया