बुटवलमा रहेको श्रीराम टोबाको उद्योग प्रालिले १० करोड ७३ लाख राजस्व चुहावट गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
श्रीराम टोबाको उद्योग प्रालिका संचालक टान बहादुर पाण्डे, कमल किशोर मालपानी, चुन्न प्रसाद शर्मा पौडेल, श्रवण कुमार बेरिवाल, बलराम अधिकारी, राम प्रसाद ढकाल र उमादेवी शर्माविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो।
प्रालिबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तिजन्य पदार्थहरुको उत्पादन कम देखाई विभिन्न विक्रेताहरुको सहयोगमा विना स्टीकर, विना कर विजक विक्री वितरण गरी तथा प्याकिंग गरेको प्याकेटमा परिमाण भन्दा बढी मालबस्तु उत्पादन प्याकिंग तथा विक्री वितरण गरेको विभागले जनाकारी गराएको छ।
उक्त उद्योगका उत्पादनहरु विक्री वितरण गर्न विभिन्न फर्महरु श्यामलाल बन्जाडे ट्रेड सेन्टर प्रोपाइटर श्यामलाल बन्जाडे, जय महालक्ष्मी जनरल स्टोर्स प्रोपाइटर गोपीकृष्ण गैरे, नव अन्न पुर्ण स्टोर्स का प्रोपाइटर राजकुमार जयसवाल, शनी स्टोर्सका प्रोपाइटर नारायण प्रसाद श्रेष्ठ र एल जि ट्रेड सेन्टरका प्रोपाइटर लक्ष्मण ज्ञावली समेतबाट अन्तःशुल्क स्टीकर नलगाएको अवस्थामा सुर्तिजन्य पदार्थ बरामद भएकोले विभागले बताएको छ।
नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने अन्तःशुल्क, आयकर तथा मुअकर समेत चुहावट गरी राजस्व छलि गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, ले निषेधित कार्य रहेको विभागले जनाएको छ। विभागले बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई रुपन्देही जिल्ला अदालतमा साेमबार मुद्दा दर्ता गरिएको हो।
Shares
प्रतिक्रिया