विदेशी पर्यटकलाई के खाना खुवाउने ? झट्ट भन्दा धेरैले ‘नेपाली परिकार थुप्रै छ, जे खुवाए पनि भइहाल्छ नि !’ भन्छन्।
तर सबै खाने कुरा पर्यटकले मन पराउँछन् भन्ने हुँदैन। नेपालमा कुनै एक देशका पर्यटक मात्रै पनि आउने होइनन्। देशअनुसार पनि खाना फरक हुन्छ।
नेपालमा धेरै पर्यटक आउने छिमेकी मुलुक भारत र चीनका मानिसको खानाको रुचि पनि फरक हुन्छ। अर्को अमेरिका, युरोपका पर्यटकको खानाको मेन्यु झन् फरक छ।
ती पर्यटक नेपाल आउँदा कुन परिकार खाएको सम्झिन्छन् त?
नेपालका धेरै तारे होटलमा नेपाली परिकारको मेन्युले प्राथमिकता पाउँदैन। ग्रामीण तहमा खुलेका होम स्टेले पनि बाहिरी खाना खुवाउने गरेका छन्। जसले गर्दा उनीहरूले नेपाली स्वाद लिन पाउँदैनन्।
भ्रमण वर्ष नजिकिँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराई हरेक होटलमा नेपाली मेन्यु हुनुपर्ने बताउँछन्। विशेषगरी होम स्टेले बाहिरको खाना खुवाउन नहुने मन्त्री भट्टराईकाे जाेड छ।
उनी भन्छन्, ‘होम स्टे भनेकै लोकल खाना खुवाउनको लागि हो। तर हाम्रोमा बाहिरका खाना नै खुवाउने चलन पनि छ। त्यसलाई अन्त्य गर्नुपर्छ नेपालमा नपाइने सामग्री मात्र बाहिरबाट ल्याउने हो। सबै सामग्री उतैको खुवाउने भए नेपालको पहिचान के त?’
होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह नेपाली खानाको विषयमा पर्यटकलाई खासै जानकारी नै नभएको बताउँछन्।
उनी भन्छन्, ‘पर्यटकले माग गरे पस्किने न हो, माग नै गरेन भने के गर्ने ?’ नेपाली खाना कस्तो छ भनेर प्रचारप्रसार बढी हुनुपर्ने उनी सुझाउँछन्।
‘खानाको न्युट्रिसन भ्यालु के हुन्छ ? स्वास्थ्यमा के फाइदा गर्छ ? हाम्रो त हिमाली मुलुक भएकाले जडीबुटी प्रशस्त छ। त्यसलाई मसलाको रुपमा प्रयोग गरिएको छ। स्वास्थ्यको लागि यसले कस्तो फाइदा गर्छ भन्नसकेका छैनौं’, उनी भन्छन्।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी पनि शाहकै भनाइमा सहमत देखिन्छन्।
नेपाललाई ‘लाइफ टाइम एक्सपिरियन्स’को नारामा विश्वभर प्रचार गरिरहेकाले हाम्रो खाना के हो भन्न सक्नुपर्ने जाेशीकाे भनाइ छ।
‘हामीले नेपाली खाना प्रवर्द्धन गर्नको लागि ४० परिकार कसरी बनाउने, त्यसमा के–के हुन्छ भनेर पुस्तक तथा भिडियो बनाएका छौं’, उनी भन्छन्, ‘विदेशमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गर्ने नेपालीले त्यो पुस्तक तथा भिडियो हेरेर परिकार बनाउन सक्छन्।’
‘विश्वमा फेसबुक, इस्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा पर्यटकले खानाको अनुभव सेयर गर्ने गरेका छन्’, जाेशी भन्छन्, ‘त्यसैले हामीले कस्तो खाना खुवाउँछौँ, त्यो सामाजिक सञ्जालबाट प्रचार भइरहेको हुन्छ।’
उनका अनुसार नेपाली खाना ‘हाइजेनिक’ र स्वादिष्ट भएकाले यसको प्रवर्द्धन आवश्यक छ। हाल पर्यटन मन्त्रालयले सबै होटललाई कम्तीमा एउटा नेपाली मेन्यु राख्न भनेको छ।
यस्ता छन् पर्यटन बोर्डको मेन्युमा ३३ परिकार र ७ मसला
भूगोल र जातिअनुसारका खाना
नेपाली लोक परिकारका प्रवर्द्धक केदार शर्मा नेपाल विविधतायुक्त देश भएकाले खानाको मेन्युमा सबै ठाउँको प्रतिनिधित्व हुनुपर्ने बताउँछन्। अहिले नेपाली भनिएका मेन्यु पनि ठीक नभएको उनको भनाइ छ।
‘किराँतीहरुको एउटा खाने कुरा, मगरहरुको एउटा, गुरुङहरुको एउटा खाना हुनुपर्छ’, उनी भन्छन्, ‘त्यस्तै मधेश झन् विविधता भएकोले पूर्वदेखि पश्चिमका परिकार राख्नुपर्छ।’
उनले भनेझैँ नेपालमा भूगोलअनुसार पनि खानाका परिकार भिन्न भिन्न हुन्छन्। मध्यपहाडमा सिस्नुको सुप, तराई मधेशमा तरुवा (चामलको पीठोमा चोपलेर तारेको मिश्रित तरकारी), दाङ, कैलाली, कञ्चनपुरमा ढिकरी, गुल्मीमा एकपाक मासु, चुकाउने र ढकनी लोकप्रिय छन्।
तर कर्णाली र सुदूरपश्चिमका खानेकुरा भने काठमाडौंमा कुनै मेन्युमा समावेश नभएको शर्मा बताउँछन्।
उनका अनुसार नेपालमा डेजर्ट भनेको दहीमा चोबेको लालमोहन हो। ‘तराईमा डेजर्टका थुप्रै परिकार छन्। त्यसलाई हाम्रो मेन्युको डिजाइन गर्न सकिएको छैन’, शर्मा भन्छन्।
त्यसो त काठमाडौं उपत्यकामा मुख्य गरी खानाका ४ मेन्यु उपलब्ध छन्। यसमा नेवारी, दरबारी, बाहुन र काठमाडौंकै ग्रामीण क्षेत्रका फरक–फरक परिकार पर्छन्।
शर्मा भन्छन्, ‘हरेकपटक फरक–फरक परिकार बनाउन सकिन्छ। एकपटक छोइला बनायौँ भने अर्कोपटक कोचिला बनाउँला। जहिले पनि एउटै मेन्युभन्दा पनि विकसित मेन्युले प्रभाव पार्छ।’
पोखरामा थकाली मात्रै बजारमा आएको छ। त्यहाँका गुरुङ र मगरले के खान्छन्, उनीहरुका परिकारलाई बजारमा ल्याउन अहिलेसम्म सकिएको छैन।
‘स्वदेशमै प्रवर्द्धन भएन’
नेपाली लोक परिकारका प्रवर्द्धक केदार शर्माका अनुसार नेपाली परिकार प्रवर्द्धनका लागि खानाको संस्कृति बुझ्न आवश्यक छ।
उनी भन्छन्, ‘हामीकहाँ विभिन्न किसिमका पर्यटक आउँछन्। जस्तो भारतीय धार्मिक पर्यटक नेपाल आउँदा आफैँ खाना पकाएर खान्छन्। किनकि उनीहरु धेरै शाकाहारी हुन्छन् तर हाम्रा अधिकांश होटलमा मांसाहारी पाकेको हुन्छ।’
अझै पनि नेपाली जाँड/रक्सीले वैधता पाउन सकेको छैन। कसैले दियो भने पनि कानुनीरुपमा अवैध हुने उनको भनाइ छ। नेवारी खानामा तुम्बा पस्किए पनि त्यो अवैध छ, त्यसलाई सरकारले ख्याल गर्नुपर्ने बताउँछन्।
तारे होटलमा एकैपटक नेपाली लोक परिकार पु¥याउन गाह्रो हुने शर्मा बताउँछन्। नेपाली खानाको परिचय गराउने ठाउँ भनेको होम स्टे नै हो। होमस्टेले लोकल खाना खुवाउन थालेपछि विस्तारै चर्चा हुन्छ। त्यसपछि ठूला होटलमा जान्छन्। ‘मःम पनि पहिला सडकबाट तारे होटलमा पुगेको हो,’ उनी भन्छन्, ‘लोक परिकार प्रवद्र्धन गर्ने होम स्टेबाटै हो।’
हानका प्रथम उपाध्यक्ष विनायक शाह तारे होटलमा धेरै रेस्टुरेन्ट हुने भएकाले कम्तीमा एउटा नेपाली परिकारको रेस्टुरेन्ट हुनुपर्ने बताउँछन्। नेपाली परिकार बनाउने दक्ष जनशक्तिको लागि सीटीईभीटी तथा होटल व्यवस्थापन कलेजले नेपाली खानाको परिकार कसरी बनाउने भन्नेमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
‘गैरआवासीय नेपालीले विदेशमा प्रवर्द्धन गर्नुपर्छ’
विश्वका ८० देशमा गैरआवासीय नेपालीहरु छन्। उनीहरुमध्ये अधिकांशको व्यवसाय होटल तथा रेस्टुरेन्ट नै रहेको छ। तर नेपाली रेष्टुरेन्ट भए पनि चिकन टिक्का, तन्दुरी रोटी मात्रै बिक्री गर्ने गरेको हान उपाध्यक्ष शाह बताउँछन्।
विदेशमा पनि नेपाली खानाको परिकारको विस्तार भने भइरहेको छ। तर प्रचारप्रसारको कमी देखिन्छ। नेपाली लोक परिकार प्रवर्द्धक शर्मा भन्छन्, ‘विदेशमा होटल गर्ने नेपाली व्यवसायीले नेपाली र इन्डियन खाना भन्ने गरेका छन्, उनीहरुले नेपाली खाना मात्रै पस्किन सक्नुपर्छ।’
नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा खाना खुवाउँदा नेपाली खानालाई प्राथमिकता नदिने गरेका कारण पनि विदेशीमाझ नेपाली स्वाद नचिनिएको हान प्रथम उपाध्यक्ष शाहको भनाइ छ।
‘जहाजमा सेल, अनरसा वा बारा केही त दिन सकिन्थ्यो नि!’, उनी भन्छन्, ‘अनलाइन, टीभी वा पम्प्लेट, ब्रोसरमार्फत प्रचार गर्नुभन्दा कुनै एउटा नेपाली परिकार खुवाउँदा विदेशीले नेपालबारे जान्ने जिज्ञासा बढी हुन्छ।’
याे पनि पढ्नुहाेस्: नेपालका २८ परिकार हुँदैछन् विश्वव्यापी
Shares
प्रतिक्रिया