नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाइ उडान व्यवस्था लागू गर्ने भएको छ।
प्राधिकरणले आन्तरिक हवाइ उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाइ उडान व्यवस्था लागू गर्न लागेको हो।
बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै हवाइ उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाइ उडान सम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताए।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३/३ वा ६/६ महिनामा नेपालको हवाइ उडान क्षेत्र सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको बताए।
२७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाइ उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको बताए। सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि बताए।
उनले प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको बताए।
उनले हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको बताए। उनले आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने बताए।
उनले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने बताए।
सूचना अधिकारी भुलले चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको बताए।
उनले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको बताए।
Shares
प्रतिक्रिया