नेपाल टेलिकमले फाइभजी सञ्चालनमा ढिलाइ गरेकोमा नियामकले प्रश्न गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले निःशुल्क फ्रिक्वेन्सी दिएको लामो समय फाइभजीमा अगाडि बढ्न नसकेको बताएको हो।
‘मैले आशा गरेको थिएँ– फाइभजी आज उद्घाटन हुन्छ’, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘फ्रिमा फ्रिक्वेन्सी दिएका छौँ। प्रयोगकर्ताले अनुभव गर्न पाउँछन् भन्ने थियो।’
प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको छ। नेपाल टेलिकमले प्राविधिक परीक्षण मात्रै गरेको हो कि भन्ने लागेको उनले बताए।
‘नेपाल दूरसञ्चार प्राधिकरणले रिङरोडभित्रका ग्राहकले फाइभजीको अनुभव गर्न पाउँछन् कि भन्ने थियो’, खनालले भने, ‘व्यावसायिक रुपमा चल्न सक्छ/सक्दैन भन्नेबारे ध्यान दिन आग्रह गर्छु।’
नेपाल टेलिकमले बबरमहल र सुन्धारामा फाइभजीको परीक्षण गर्न उपकरण जडान गरेको जनाएको छ। उपकरण जडान गरे पनि सर्वसाधारणले अनुभव गर्न पाउनेछैनन्।
नेपाल टेलिकमले प्राविधिक परीक्षण मात्रै थालेको छ। नेपाल दूरसञ्चार कम्पनीका प्रबन्धनिर्देशक सुनिल पौडेलले फाइभजीको उपकरणहरु जडान गरी परीक्षणको काम जारी रहेको बताए।
उनले जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिक रुपमा नै फरक आर्किटेक्चरबाट सञ्चालन हुने बताए।
‘भविष्यमा फाइभजीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरणहरु कम्प्याक्टिबल हुने नहुने, स्तरोन्नति गर्नुपर्ने नपर्ने विश्लेषण गर्ने कार्य भइरहेको जानकारी दिए।
प्रतिक्रिया