ad ad

कारोबार


रोपाइँको सिजन सुरु भएसँगै धानको समर्थन मूल्यमा बहस

रोपाइँको सिजन सुरु भएसँगै धानको समर्थन मूल्यमा बहस

दीपक भट्ट
असार ११, २०७६ बुधबार १३:१५,

धान रोपाई सुरु हुँदै गर्दा कृषि तथा पशुपन्छी मन्त्रालयले धानको समर्थन मूल्य पनि तोक्ने तयारी गरेको छ।

धान लगाउने समयमा नै न्यूनतम समर्थन मूल्य तोक्दा कृषक उत्साहित हुने भएकाले समर्थन मूल्य तोक्ने तयारी गरिएको हो।

कृषि मन्त्रालयले उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयको समन्वयमा धानको न्यूनतम समर्थन मूल्य सिफारिस गर्ने र मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने प्रावाधान रहेको छ।

सोही अनुसार कृषि मन्त्रालयले बहस सुरु गरेको कृषि मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ विनोद भट्टराई बताउँछन्। ‘रोपाईको सिजन सुरु भएको छ। यो वर्ष सरकारले धान उत्पादन समेत बढाउने लक्ष पनि लिएको छ।’ भट्टराईले भने, ‘त्यसकारण समर्थन मूल्य पनि समयमा नै दिएर किसानहरुको हौसला बढाउने तयारी सरकारले गरेको छ।’ सबैको सहमति तथा बजारको आपूर्तिलाई समेत मन्ध्यनजर गरी समर्थन मूल्य तोक्ने उनले जानकारी गराए।

गत वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मसिनो धानको मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँका दरले तोकेको थियो।

सरकारले यो वर्ष धान उत्पादन १५ प्रतिशत वृद्धि गर्ने लक्ष राखेको छ। यान्त्रिकरण, सिंचाईको सुविधामा वृद्धि तथा मल बिउको उपलब्धताले यो वर्षको धान उत्पादन बढाउने लक्ष्य राखेको सरकारले जनाएको छ।

गएको वर्ष पनि नेपालको धान उत्पादन ९ प्रतिशतले वृद्धि भएको थियो। गत वर्ष नेपालको धान उत्पादन ४ लाख ५८ हजार मेट्रिकटनले वृद्धि भएको थियो। गत वर्ष नेपालको कुल धान उत्पादन ५६ लाख १० हजार मेट्रिकटन रहेको थियो।

उत्पादनमा वृद्धि भए पनि नेपालीलाई आवश्यक पर्ने धानको परिमाणमा देश आत्मनिर्भर भने हुन नसकेको कृषि विभागको भनाई छ। चालू आर्थिक वर्षमा नेपालमा करिब ४० लाख मेट्रिकटन चामल आवश्यक पर्नेमा ३४ लाख मेट्रिकटन चामल मात्रै स्वदेशी आपूूर्ति भएको विभागको तथ्याङ्क छ।

करिब ६ लाख मेट्रिकटन चामल विदेशबाट आयत भएको विभागकका निमित्त महानिर्देशक रेवतिरमण पौडेलले बताए। चामलमा मात्रै करिब २५ अर्ब रुपैयाँ विदेश गएको उनले जानाकारी दिए।

नेपाल धानमा आत्म निर्भर रहनको लागि धान सिजन भरी नियमित सिंचाई उपलब्ध गराउनु पर्ने, धानको गुणस्तरीय बीउ प्रतिस्थापन गर्नु पर्ने, माटोमा प्रांगारिक पदार्थको व्यवस्थापन गर्नु पर्ने, मल बीउको उपलब्धता गराउनु पर्ने आवश्यकता छ। हाल सरकारले पनि यसको लागि प्रयास गरिरहेको पौडेलको भनाई छ।

नेपालमा लगाइने धानका जातहरु
कृषि विभागका अनुसार नेपालमा तराई, मध्य पहाड, उच्च पहाडमा वर्षे सिजनको लागि १ सय १६ र चैते सिजनको लागि ७ गरी १ सय २३ वटा जातहरु सिफारिस गरेको छ।

स्वदेशमा नै हाइव्रिड धानको जातहरु उत्पादन गर्ने क्रममा समेत नेपालले काम गरिरहेको विभागको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .