२०७९ पुस २७ गते साल्ट ट्रेडिङ कर्पोरेसनले कारोबार समयमा लाभांश घोषणा गरेको सूचना आएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार रोक्का गरी तीन दिने स्पष्टीकरण सोध्यो।
सोही दिन कम्पनीले नेप्सेलाई स्पष्टीकरण पनि पठायो। त्यसपछि दोस्रो दिन अर्थात् पुस २८ गते कम्पनीको कारोबार पुनः सञ्चालनमा आयो।
त्यसैगरी नेप्सेले २०७८ कात्तिक २५ गते प्रभु बैंकको कारोबार रोक्का गर्यो। बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको थियो।
बैंकको बैठक कारोबार अवधिमा बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६ ९१० ‘ख’मा भएको व्यवस्थाअनुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको थियो। तर, अर्को दिन नेप्सेमा स्पष्टीकरण दिएर पुनः कारोबार फुकुवा भएको थियो।
नेप्सेले २०७९ पुस २६ गते दुई महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार रोक्का गर्यो। कारोबार समयमा दुवै लघुवित्तले लाभांश घोषणा गरेको पत्र पठाएकाले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सेयर कारोबार रोक्का गरेको थियो।
लगानीकर्ताको गुनासो
नेप्सेमा सूचीकृत कम्पनीहरुले कारोबार समयमा सूचना फेरेर ‘म्यानिपुलेट’ गर्ने गरेका अनेक उदाहरण छन्।
कारोबार समयमा कम्पनीहरुले लाभांश घोषणा गर्नेदेखि सेयरमूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गर्दा नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ।
नेप्सेले कारोबार रोक्का गर्ने र स्पष्टीकरण सोधेर पुनः कारोबार फुकुवा गर्ने हुँदा कम्पनीहरु बारम्बार यस्ता किसिमका कार्य गर्ने गरेको लगानीकर्ताहरुको गुनासो छ।
कम्पनीहरुले स्पष्टीकरण दिएको भरमा कारोबार फुकुवाको व्यवस्था हुँदा त्यसको मारमा लगानीकर्ता पर्ने गरेका छन्।
कम्पनीहरुलाई कारबाही व्यवस्था नहुँदा कम्पनीहरुले बेला–बेलामा सेयरमूल्य बढाउन यस्ता किसिमका काम गर्ने गरेको इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
कम्पनीहरुलाई कारबाही नहुने र कारोबार मात्र रोक्का गरिने हुँदा यस्ता प्रकारको काम बारम्बार हुने गरेको रौनियार बताउँछन्।
‘धितोपत्र बोर्डले नेप्सेले सेयरमूल्यमा प्रभाव पार्ने, कारोबार अवधिमा लाभांश घोषणा गर्ने कम्पनीहरुलाई कारबाहि गर्न सकिने व्यवस्था मिलाउनुपर्छ’, उनले भने, ‘समयअनुसार हाम्रा ऐन, नीतिनियम परिवर्तन नहुँदा त्यसको मारमा लगानीकर्ता परेका छन्।’
इन्भेष्टर्स फोरमसहित अन्य लगानीकर्ता धेरै संघ मिलेर मूल्य प्रभाव पार्ने गतिविधि गर्ने कम्पनीलाई कारबाहीको व्यवस्था गर्नुपर्ने गरी बोर्ड र नेप्सेलाई पत्र बुझाएको रौनियारले बताए।
यता नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरी पराजुली कारोबार अवधिमा कम्पनीहरुले सेयरमूल्यमा प्रभाव पार्ने काम भइरहेको स्वीकार गर्छन्।
‘कुनै कम्पनीले कारोबार समयमा सेयरमूल्य प्रभाव पार्ने, लाभांश घोषणा सूचना प्रकाशित गरेको थाहा पाए तत्काल कम्पनीको कारोबार रोक्का राख्छौँ’, उनले भने, ‘नेप्सेलाई कम्पनीको कारोबार रोक्का राख्ने अधिकार छ, कारबाही गर्ने अधिकार छैन।’
पराजुलीले कुनै कम्पनीको कारोबारमा बदमासी भेटिए धितोपत्र बोर्डलाई पत्र पठाउने बताए।
उनका अनुसार लगानीकर्ताका गुनासोलाई मध्यनजर गर्दै कारोबार समयमा सेयरमूल्य प्रभाव पार्ने किसिमका काम गर्ने कम्पनीलाई कारबाही गर्ने गरी धितोपत्र सूचीकरण विनियमावली संशोधन गर्न लागिएको छ।
‘विनियमावली संशोधन गरी यस्तो कार्य गर्ने कम्पनीलाई कारबाहीको व्यवस्था गर्छौँ’, उनले भने।
नेप्सेले नै ढिलाइ गर्दै छ विनियमावली संशोधन
नेप्सेका एक उच्च अधिकारीका अनुसार नियमावली संशोधन अन्तिम चरणमा पुगेको छ।
ती अधिकारीका अनुसार बोर्ड अध्यक्ष रमेशकुमार हमालले विनियमावली स्वीकृत नगर्ने देखेपछि नेप्सेले तत्काल काम अगाडि बढाएको छैन।
‘बोर्ड अध्यक्ष र नेप्सेका सीईओबीच नयाँ टीएमएसको विषयमा मन्त्रालयमा भनाभन भएको थियो’, ती अधिकारीले नेपालखबरसँग भने, ‘बोर्ड र नेप्सेबीच अनेक लफडा छन्। बोर्डले अक्सन मार्केट सञ्चालनको लागि मागेको स्वीकृति समेत दिएको छैन।’
सोही कारण बोर्ड अध्यक्षमा हमाल रहँदासम्म नेप्सेले धितोपत्र विनियमावली संशोधन गरी स्वीकृतिको लागि पठाउने अवस्था नदेखिएको ती अधिकारी बताउँछन्।
Shares
प्रतिक्रिया