ad ad

कारोबार


चेम्बरले अर्थमन्त्रीलाई सुझायो राजस्व बढाउने उपाय

करको दायरा बढाउन नागरिकता सँगसँगै प्यानकार्ड पनि दिन सुझाव
चेम्बरले अर्थमन्त्रीलाई सुझायो राजस्व बढाउने उपाय

नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:२६, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने प्रस्ताव गरेको छ। 

अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले सिहंदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसंग बधाई भेटवार्ता गरेको हो। 
चेम्बरले भनेको छ, ‘करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनुपर्दछ। यसका लागि नागरिकतासंगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्दछ।’

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए। बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्य रुपमा कार्यान्व्यनमा ल्याउनुपर्ने अध्यक्ष मल्लले जोड दिए।

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए। बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ।

उनले भने, ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गर्भनर महाप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका सचिवहरुसंग पनि छलफल गरिरहेको छु।’

लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरुसँग आफूले जानकारी लिइरहेको डा महतको भनाइ छ। आगामी आर्थिक वर्षबाट  अर्थतन्त्रले लय समाउने उनले बताए।  

नवनियुक्त अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बुँदामा सुझाव समेत दिएको छ। अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरे। 

यस्तै अध्यक्ष मल्लले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पुँजीगत खर्चमा टाईम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गरिनुपर्नेमा जोड समेत दिए। पुँजीगत खर्च कार्यान्वयनको अवस्थाबारे त्रैमासिक पुनरवलोकन गरी कार्यान्वयन गरिनुपर्ने उनको भनाइ छ। 

चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न समेत आग्रह गरेको छ । 

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रेमिट्यान्सबाट भित्रने रकमको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। यस्तो परिस्थितीमा बैंकिङ च्यानलमार्फत मुलुक भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमुलुक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक छ।’

चालू पुँजीमार्ग निर्देशनलाई निजी क्षेत्र, बिज्ञ समूह, तथा सरोकारवाला निकायसँग विस्तृत छलफल पछि मात्रै कार्यन्वयनमा ल्याउन समेत चेम्बरले जोड दिएको छ। 

चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ, दिपक श्रेष्ठ, दिपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ लगायतका कार्यसमिति सदस्यहरुले नवनियुक्त अर्थमन्त्री डा. महतलाई बधाई एवं शुभकामना दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .