ad ad

कारोबार


म्यान्मार–भैरहवा सिधा उडानमा पहल, नेशनल एयरलाइन्स सकारात्मक

म्यान्मार–भैरहवा सिधा उडानमा पहल, नेशनल एयरलाइन्स सकारात्मक

नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:०, काठमाडौँ

नेपाल पर्यटन बोर्डले म्यान्मारको यांगनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा सञ्चालनको लागि पहल गरेको छ।

बौद्ध धर्मावलम्बी भएको देश म्यान्मारबाट सिधा उडान गर्नसके दुवै लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो। 

यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यान्मारका राजदूत र म्यान्मारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी,लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यान्मार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरीय छलफल सम्पन्न गरेको छ। 

छलफलका क्रममा नेपाली पक्षले म्यान्मारबाट भैरहवा सिधा उडानको लागि म्यान्मार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यान्मारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। 

छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यान्मारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुनसके म्यान्मारबाट लुम्बिनी आउने पर्यटकहरु बढ्ने बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यान्मार नेशनल एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए। 
 
यस्तै म्यान्मारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यान्मारको सरकारीपक्षसँग संवाद भइरहेको सन्दर्भमा म्यान्मारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरे। 

नेपालका लागि म्यान्मारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययनपछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे। 

म्यान्मारको नेशनल एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफूले गौतमबुद्ध विमानस्थल निरीक्षण गरेर फर्किएको र सिधा उडानबारे आफूहरु सकारात्मक रहेको बताइन्। 

यसका लागि आवश्यक प्राविधिक तथा व्यावसायिक योजनासाथ छलफल अगाडि बढाइने उनले बताइन्। 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बौद्धमार्गी म्यान्मारबाट लुम्बिनीमा सिधा उडान गर्नसके धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताए। 

‘लुम्बिनीलाई केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ। तर बौद्ध धर्मबहुल देशबाट नै उडान हुनसकेको छैन। यो अवस्थामा विमानस्थल सञ्चालन तथा लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि हामीले यो पहल गरेका हौँ। छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खोल्नेमा हामी आशावादी छौँ’, रेग्मीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .