ad ad

कारोबार


उडिरहेको फ्लाई दुबईको जहाजमा किन देखियो आगो?

उडिरहेको फ्लाई दुबईको जहाजमा किन देखियो आगो?

सिबी अधिकारी
बैशाख १२, २०८० मंगलबार १९:३७, काठमाडौँ

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इन्जिनमा खराबी देखियो। विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोइङ७३७-८००’ जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो। 

विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथि आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इन्जिनको ‘कन्डिसन’ जाँच गरे। जहाजको सिङ्गल इन्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो। त्यतिन्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तयार भइसकेका थिए।

फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौँ विमानस्थलको टावरलाई जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उक्त जहाजका सबै इन्डिकेटर चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय गरे। 

विमानस्थलको टावरका एटीसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए। जहाजले सामान्य रुपमा उडान भरेर दुबईको ‘दुबई इन्टरनेसनल एयरपोर्ट’मा सुरक्षित अवतरण गर्‍यो। फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए। नेपाली समयअनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो। उक्त जहाजमा एक सय ६८ यात्रु थिए। 

यसरी जहाजमा विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहल विषय बनिरहेको छ। 

फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन्। 

जहाजमा चरा ठोक्किएर विस्फोट भएको भन्ने हल्ला फैलिएको छ। यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन्। तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विस्फोट भएको दाबी गरेको छ। 

यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इन्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमका घटना विगतमा पनि हुने गरेको बताए। 

उनले भने, ‘फ्लाई दुबईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेका थिए। विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो। तर, यसपटक चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो। अनुसन्धान नगरी थप बोल्न मिल्दैन।’

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार कुनै पनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ। त्यसअनुरुप ‘चेकलिस्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ। 

‘जहाजको इन्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ। यदि चरा छिरेको रहेछ भने पनि त्यो आगो भएर बाहिर निस्कन्छ। कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्’, उनले भने, ‘जहाजको इन्जिनलगायत कुनै पनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिस्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ। रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन्।’

निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इन्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो- चरा वा कुनै पनि सामान इन्जिनभित्र पसेर। दोस्रो- जहाजको इन्जिनको कम्प्रेसर स्टल भएर वा इन्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ। 

इन्जिनियर श्रेष्ठ भने इन्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने बताउँछन्। 

उनका अनुसार जहाजको इन्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विस्फोट गराउनसक्छ। ‘सानो कागज मात्रै पनि इन्जिनमा परेमा पड्किन्छ। कम्प्रेसरबाट हावा आवश्यकताअनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ’, श्रेष्ठले भने। जहाज उड्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज थर्थराउँछ र पूरै हल्लिन्छ। यस्तो अवस्थामा इन्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उनको भनाइ छ।

हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ। विज्ञका अनुसार जहाजको इन्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ। आगोले नै इन्जिनलाई पावर दिनु सामान्य कुरा हो। यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ। 

उडिरहेको जहाजको इन्जिन खराब भएको भए काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो। जहाजका सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ। यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ। 

पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरे पनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ। जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ। 

आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय
उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इन्डिकेटर जाँच गरेपछि जहाजको इन्जिन फेल भएका खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ। सोमबारको घटनामा जहाजको सबै इन्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअलअनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ। उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उनले बताए। 

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ। उनले जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताए। ‘नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ। नेपालका तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला। सहजीकरणका लागि प्राधिकरण तयार छ’, प्रवक्ता निरौलाले भने। 

उनले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गरे। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो। अवतरणका क्रममा रहेका विमानलाई राति ९:२० देखि ९:५९ सम्म आकाशमा होल्ड गरिएको थियो। विमानस्थलमा दमकल, ‘लोकल स्ट्यान्डबाई’ गरियो। यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तयार संयन्त्र हुन्।

दमकलसहित सवारीसाधन, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएका थिए। पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाएको थियो। जहाजका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन्। नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो। तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ। 

आगो लागेपछि जहाजको इन्जिन बन्द गरिन्छ। सिङ्गल इन्जिनमा जहाज उड्छ तर गति कम हुन्छ। गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए। विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .