नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको माग गर्दै आवेदन दिने कम्पनीको प्रक्रिया चाँडै टुंग्याउने भएको छ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले आवेदन परेको ३५ दिनभित्र मापदण्ड पूरा गरेका कम्पनीहरुलाई बोर्डले नयाँ लाइसेन्स वितरण गरिसक्नुपर्ने बताएका हुन्।
‘मापदण्ड पूरा नहुने कम्पनीहरुलाई लिखित रुपमा जवाफ दिनुपर्छ’, उनले भने, ‘नपाउने कम्पनीलाई लिखित रुपमा जवाफ दिन्छौँ।’
प्रक्रिया सुरु भएको करिब १६ दिन नाघिसकेको छ। अब १९ दिनभित्र बोर्डले यससम्बन्धी आवश्यक प्रक्रिया टुंग्याइसक्नुपर्छ।
आवेदन दिएका सबै कम्पनीको कागजात छानबिन गरी योग्य सबैलाई लाइसेन्स दिने बोर्डले तयारी गरेको छ।
‘हाम्रो उद्देश्य कसलाई लाइसेन्स दिने कसलाई नदिने भन्ने होइन’, अध्यक्ष हमालले भने, ‘हामीले बजारलाई सबैको पहुँचमा पुर्याउनु छ। तसर्थ आवेदन दिएर योग्य भएका सबै कम्पनीले लाइसेन्स पाउनेछन्।’
सीमित व्यक्तिको हातमा मात्रै ब्रोकर लाइसेन्स हुने अवस्था अन्त्य गर्नेे र प्रतिस्पर्धी वातावरण सिर्जना हुने उनले विश्वास गरे।
यी व्यवस्था धितोपत्र बजारको व्यवस्थापनमा कोशेढुंगा साबित हुने हमालले बताए।
उनले भने, ‘अब खुला रुपमा मापदण्ड पुर्याएर आउने सबैले धितोपत्र दलालसम्बद्ध सेवाको प्रमाणपत्र पाउँछन्।’
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गरी नयाँ ब्रोकर लाइसेन्स वितरणको बाटो खोलेको हो।
असोज २ गते बोर्डले ३० दिने सूचना आह्वान गरी आवेदन दिन भनेको थियो। बोर्डमा नयाँ लाइसेन्सको लागि ४६ कम्पनीले आवेदन परेको थियो।
जसमा ४१ वटाले सीमित कार्य गर्न, ४ वटाले पूर्णकालीन र एउटाले स्टक डिलरको लागि आवेदन दिएको थियो।
सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। त्यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको लागि ६० करोड र धितोपत्र व्यापारी स्टक डिलर सञ्चालनको लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ।
बोर्डले नयाँ लाइसेन्स दिएपछि कम्पनीहरुले पूर्वाधार तयारी गर्नुपर्नेछ।
नयाँ लाइसेन्सको लागि आवेदन दिएका ४६ मध्ये नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी अर्थात् स्टक डिलरको काम गर्नेछ।
त्यसैगरी पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटी, शनि सेक्युरिटिज र सेन्चुरी स्टक ब्रोकरको आवेदन परेको छ।
अन्य ४१ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि निवेदन दिएका छन्।
साथै नयाँ स्टक र वस्तु विनिमय बजार सञ्चालनको लागि समेत आवेदन परेको छ।
नयाँ स्टकको लागि हिमालयन स्टक, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन्।
वस्तु विनिमय बजार सञ्चालनको लागि भने ४ कम्पनीले आवेदन दिएका छन्।
वस्तु विनिमय बजार सञ्चालन गर्न मल्टी डेरिभेटिभ एक्सचेञ्ज, मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेञ्ज, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटी एक्सचेञ्जको नामबाट आवेदन परेको छ।
बोर्डले नयाँ स्टक र कमोडिटीको लागि दुईवटा समिति बनाएर प्रक्रिया अगाडि बढाउने अध्यक्ष हमालले बताए।
Shares
प्रतिक्रिया