नेपाल धितोपत्र बोर्डले थप एउटा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन समूहको भिडन्त हुने भएको छ। नयाँ स्टकको लाइसेन्स लिन हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका हुन्। यी तीनै कम्पनीमा पहुँचवाला लगानीकर्ता आबद्ध छन्।
नयाँ स्टक छनोटका लागि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिसकेको छ। समिति ५ सदस्यीय रहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए।समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १/१ जना र बोर्डबाट २ जना सदस्य छन्।
समितिले आवेदन दिएका तीन कम्पनीमध्ये एउटा छनोट गर्नेछ।
सेयरबजारलाई प्रतिस्पर्धी बनाउन र लगानीकर्तालाई सहज र सस्तो सेवा दिने उद्देश्यले नयाँ स्टक सञ्चालन गर्न दिइने धितोपत्र बोर्डले बताइरहेको थियो। बोर्डले गत चैत ३१ गते १० दिनको समय दिँदै आवेदन माग गरेको थियो। बोर्ड प्रवक्ता श्रेष्ठका अनुसार नयाँ स्टकको प्रक्रिया जेठ १० गतेभित्र टुंगो लगाइनेछ।
कसरी छानिन्छन् कम्पनी?
नयाँ स्टक लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनसम्बन्धी छनोट निर्देशिकालाई आधार मान्ने जनाइएको छ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन देशका ठूला व्यावसायिक घराना प्रतिस्पर्धामा उत्रिएका छन्। जसको नेतृत्व दीपक भट्ट, दीपक तिमिल्सिना र रामेश्वर थापाले गरेका छन्।
भट्टको नेतृत्वमा हिमालयन, तिमिल्सिनाको नेतृत्वमा नेसनल र थापाको नेतृत्वमा अन्नपूर्ण स्टक एक्सचेन्ज दर्ता भएका छन्।
निर्देशिकाका अनुसार कम्पनीहरूले प्रस्तुत गरेका विस्तृत वित्तीय विवरण, कार्ययोजना, सञ्चालकहरूको अनुभव र योग्यतालाई मापदण्ड बनाइने छ।
प्रस्तावित प्रविधिको गुणस्तर पनि मूल्यांकनको सूचीमा समावेश छ। जसलाई सम्बन्धित समितिले जाँचबुझ गर्नेछ।
स्टक एक्सचेन्ज निवेदक कम्पनीलाई मापदण्डका आधारमा अंक दिने व्यवस्था छ। जसको पूर्णाङ्क १०० छ। विस्तृत व्यावसायिक कार्ययोजनाको ६० अंकबाहेक समितिले अन्य मापदण्डमा प्राप्त अंक र अंकभारलाई गणना गरी बोर्डसमक्ष पेस गर्नेछ। प्रस्तावित प्रविधिका लागि २४, सञ्चालकहरूको अनुभव र शैक्षिक योग्यताका लागि ८ र पुँजीका लागि ४ अंकभार तोकिएका छन्।सोहीअनुसार नयाँ स्टक वितरण गरिने जनाइएको छ।
कुन समूहको सम्भावना धेरै?
नयाँ स्टकका लागि आवेदन दिएका तीनवटै कम्पनीमा ठूला व्यावसायिक घराना जोडिएकाले अहिल्यै यही कम्पनीले लाइसेन्स पाउँछ भनेर भन्न सकिने अवस्था नरहेको जानकार बताउँछन्। राजनीतिक पकड पनि तीनै समूहको बलियो देखिएको छ भने उनीहरु सबै लाइसेन्स आफ्नो पोल्टोमा पार्न शक्तिकेन्द्र धाइरहेका छन्।
हिमालयन स्टकका मुख्य एक लगानीकर्ताले धेरै अघिदेखि तयारी गरिरहेकाले नयाँ स्कटकको लाइसेन्स पाउनेमा आफूहरू ढुक्क रहेको दाबी गरे। हिमालयन स्टकले प्राविधिक सहायताका लागि यसअघि नै (विदेशी स्टक) मौरिसस स्टकसँग सम्झौता गरिसकेको छ। बोर्डले जारी गरेको नियमावलीमा विदेशी स्टक एक्सचेन्जबाट प्राविधिक सहायता लिएमा बढी अंक दिने व्यवस्था छ। यसकारण हिमालयन स्टकले प्राविधिक रूपमा समेत धेरै तयारी गरेको देखिन्छ।
धितोपत्र बजार सञ्चालन नियमावलीको नियम (४) को (झ) मा धितोपत्र बजार सञ्चालनका लागि कुनै पूर्वाधार तयार गरिसकेको भए तत्सम्बन्धी विवरण अनुमतिका लागि निवेदन दिनुपर्ने व्यवस्था छ।
हिमालयन स्टक एक्सचेन्जले प्रतिस्पर्धामा अब्बल हुन मौरिसस स्टकसँग सम्झौता गरेको बुझिएको छ।
यता नेसनल स्टक एक्सचेन्जलाई समेत लाइसेन्सको बलियो दाबेदारका रूपमा हेरिएको छ। यो समूह पनि मापदण्ड पूरा गरी लाइसेन्स हात पार्ने दाबी गरिरहेको छ।
कुन व्यवसायी कहाँ?
हिमालयन स्टक एक्सचेन्जको मुख्य लगानीकर्ताहरू शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबिसी कम्पनीको आधिकारिक विक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा सायोमी मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता रोहित गुप्ता, मेरिएट होटलका सञ्चालक शशिकान्त अग्रवाललगायत लगानीकर्ता छन्। उक्त कम्पनीमा विवेक दुगड र राजेन्द्र खेतानले पनि लगानी गरेका छन्।
नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ।
त्यसैगरी रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता छन्। साथै, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको यसमा मुख्य लगानी छ।
त्यस्तै अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।
नयाँ स्टक स्थापनाका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्छन्।
स्टक एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याएको हुनुपर्छ।
यसअघि यी कम्पनीले दिएका थिए आवेदन
२०६६ सालमा तत्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेन्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एन्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएका थिए। यी कम्पनीले लाइसेन्स माग गर्दै आवेदन दिएको १४ वर्षपछि बल्ल नयाँ कम्पनीले लाइसेन्स पाउने पक्कापक्कीजस्तै भएको छ।
Shares
प्रतिक्रिया