ad ad

कारोबार


स्वर्णिमले अर्थमन्त्री महतलाई देखाएको कांग्रेसको घोषणा पत्रमा के छ?

स्वर्णिमले अर्थमन्त्री महतलाई देखाएको कांग्रेसको घोषणा पत्रमा के छ?

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:१३, काठमाडौँ

मंसिर ४ को चुनावका लागि नेपाली कांग्रेसको चुनावी घोषणा पत्र लेख्नेमध्येका एक सदस्य थिए डा. स्वर्णिम वाग्ले।

नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले त्यसबेला गठन गरेका २ वटा उपसमितिमध्ये वाग्ले प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक थिए। 

वाग्ले संयोजक रहेको उक्त मस्यौदा समितिले आर्थिक विकास र सुशासनलाई प्राथमिकता दिँदै तयार पारेको घोषणापत्रको मस्यौदालाई आवश्यक सुझावसहित पारित गरेर कांग्रेस मत माग्न जनतामाझ गएको थियो। 

घोषणा पत्र मस्यौदा उपसमितिका संयोजक उनै वाग्ले मंसिर ४ को चुनावमा कांग्रेसबाट प्रतिनिधिसभाका लागि टिकटका आकांक्षी थिए। तर उनलाई कांग्रेसले न त प्रत्यक्षको टिकट दियो, न समानुपातिकमा उठायो। 

विज्ञ समूहबाट कांग्रेसमा प्रभाव पारेका उनै वाग्ले मंसिरको चुनावको पाँच महिना नबित्दै पार्टी फेरेर प्रतिनिधिसभाको यात्रामा आइपुगेका छन्।

वैशाख १० मा भएको उपनिर्वाचनमा तनहुँ १ बाट विजयी उनले देशका आर्थिक मुद्दामा आफ्नो प्रभाव देखाउने गरी संसदमा मन्तव्य दिइरहेका छन्।

सोमरबार प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले आर्थिक संकटबीच बजेटमा धेरै विषय समावेश गर्न सकिने धारणा राखे। 

चालु आर्थिक वर्षमै खर्च व्यवस्थापन हुन नसकेर सरकारको आयस्रोत खुम्चिएको अवस्थामा अर्थविद्समेत रहेका वाग्लेले बजेटको नीति तथा कार्यक्रममा धेरै विषय समावेश गर्न सकिने स्पेस रहेको बताएका हुन्।

उनले सम्बोधनका क्रममा सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दालाई पनि अघि बढाउनु पर्नेमा पनि जोड दिएका छन्।

उनले भने ‘फिजिकल स्पेश अलिक टाइट छ। मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जान्छौँ भन्नुभयो। त्यो गलत हो। अर्थनीबाटै स्पेस क्रिएट गर्न सकिन्छ।’

संसदमा बोल्ने क्रममा उनले आफूले एक महिनाअघि छाडेको पार्टी नेपाली कांग्रेसको घोषण पत्र हेरेर बजेट निर्माण गर्नसमेत अर्थमन्त्री डा. प्रकाशशरण महतललाई सुझाएका छन्। 

उनले अर्थमन्त्री महतको नाम लिँदै संसदमा भने, ‘कांग्रेसको घोषणा पत्र पढ्नुभयो होला अर्थमन्त्रीज्युले? मैले पनि थोरैबहुत लेखिदिएकै हो। त्यहाँ आर्थिक सुधारका कुरा गरिएका छन्।’

उनले उक्त घोषणा पत्र हेरेर बजेट निर्माण गर्न अर्थमन्त्रीलाई अग्रह गरेका छन्।

नेपाली कांग्रेसको घोषणा पत्रमा अहिलेको आर्थिक समस्यालाई कसरी सम्हाल्ने? र, अबका एजेन्डा कसरी तय गर्नेसम्मका विषय समावेश रहेका उनको भनाइ थियो। 

तात्कालीक आर्थिक एजेन्डा शीर्षक नै राखेर मंसिरको चुनावी घोषणा पत्रमा भनिएको छ, ‘अहिलेको असहज आर्थिक परिस्थितिका प्रमुख कारण आवरणमा कोभिड–१९ महामारी तथा रसिया–युक्रेन युद्ध देखिए पनि मूलतः नेपालको वर्तमान आर्थिक संरचना नै हो । पञ्चायतको अन्त्य भई  लोकतन्त्र स्थापना भएपछि २०४८ मा कांग्रेस नेतृत्व सरकारले जसरी मुलुकलाई आर्थिक प्रगतिको नयाँ चरणमा उकास्यो, यसैगरी मध्यमकालीन संरचनात्मक सुधारको नेतृत्व अब पुनः नेपाली कांग्रेसले नै गर्ने छ।’ 

अर्थतन्त्रका चार प्रमुख क्षेत्र वास्तविक, वित्तीय मौद्रिक र बाह्य फाँटमा देखिएका प्रतिकूलतालाई हामी आफ्नै वैचारिक धरातल, अभ्यास, जन्म, सिकाई, अनुभव तथा निजी क्षेत्र र नागरिक समाजसँगको परामर्श एवम् प्राज्ञिक शोध र अन्तर्राष्ट्रिय साझेदारको सल्लाहका आधारमा समाधान गर्ने उल्लेख छ।

घोषणा पत्रमा भनिएको छ, ‘बाह्य क्षेत्रमा परेको चाप सहजीकरण गर्न शोधानान्तर बचत हासिल गर्नु पहिलो प्राथमिकता हो। क्षेत्रगत कर्जा विस्तार र वितरण, उच्च आयात प्रवाहको व्यवस्थापन र औपचारिक विप्रेषण वृद्धिका उपाय अवलम्बन गर्दै शोधानान्तर बचत हासिल गर्नुपर्ने छ। मुद्रास्फीति नियन्त्रण अर्को तात्कालीक लक्ष्य हो । क्रमशः आर्थिक स्थायित्व सुनिश्चित गर्दै फराकिलो आर्थिक वृद्धिमार्फत लाखौँको संख्यामा रोजगारी सिर्जना गर्न अर्थतन्त्रलाई आयातमुखीबाट उत्पादनमुखी बनाउनु पर्ने छ।’ 

स्वर्णिमले लेखेको घोषणापत्रमा कस्तो छ आर्थिक लक्ष्य?
कांग्रेसले मंसिरको निर्वाचनका लागि लेखेको घोषणा पत्रमा अर्थतन्त्रलाई आगामाी ५ वर्षमा कस्तो स्थितिमा रुपान्त्रण गर्न सकिन्छ भनेर क्षेत्रगत अवस्था राखिएको छ। निर्वाचनपछिको पहिलो बजेट भएकाले घोषणा पत्रमा समावेश विषयहरुको आधार तय गर्नुपर्ने संकेत वाग्लेले गरेका छन्।

शिक्षा
आगामी ५ वर्षभित्र सिकाइका  संकट मापन संस्थागत गर्ने :
– महिला (१५–२४ वष) साक्षरता दर ९५ प्रतिशत 
– इन्टरनेट सेवा पुगेका शैक्षिक संस्थास्था ८० प्रतिशत कायम गर्ने 
–कक्षा ११ मा भर्ना हुनु कम्तीमा ५० प्रतिशत ल्याएको हुनपर्ने
–पाठयक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत कायम गर्ने 

स्वास्थ्य
– ३ वर्षमुनि र ७३ वर्षमाथिकालाई निःशुल्क उपचार
 – नसर्ने रोगबाट हुने मृत्युदर एकतिहाइ कम गराउने
– औसत आयु ७३ वर्षसम्म कायम गराउने
 – मातृ मृत्युदर ८० (प्रति १ लाख जीवित जन्म) 
– सबै नागरिकको स्वास्थ्य बीमा गर्ने 
 – बाल कुपोषण (पुड्कोपना) २० प्रतिशतमा झार्ने

उद्यम, रोजगारी र निजी क्षेत्र
– पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी दिनेगरि कार्यक्रम ल्याउने
– न्यूनतम् वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि
– ‘ओम्निवस’ आर्थिक सुधारका नयाँ चरण सुरु गर्ने 
– अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५.६ प्रतिशतबाट ९ प्रतिशत कायम गर्ने 

विज्ञान, प्रविधि, सञ्चार र डिजिटलाइजेशन
– निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना सञ्चार क्षेत्रमा २ लाख युवा संलग्न गराउने
– टेलिमेडिसिन केन्द्र स्थापना र सातै प्रदेशमा सूचना ज्ञानपार्क स्थापना गर्ने
– सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेटको पहुँच पुर्‍याउने

जलवायु परिवर्तन र वातावरण संरक्षण
– सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्यअनुरुप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ गर्ने
– विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत पुर्‍याउने
– वन ढाकेको क्षेत्रफल कूल ४७ पुर्‍याउने
 – जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापन गर्ने

कृषि
– खाद्यान्न उत्पादकत्वमा वृद्धि गर्ने
– तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवम् औद्योगिक बालीमा आत्मनिर्भर बन्ने
 – नगदे बाली र जडीबुटीको निर्यात दोब्बर बनाउने
 – खाद्य असुरक्षा सूचकांकमा प्रगति गर्ने 
 – भू-उपयोग नीतिअनुसार भूमिको वर्गीकरण गर्ने
– कृषि मल कारखाना स्थापना गर्ने 

भौतिक पूर्वाधार
– आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसंख्या ७५ प्रतिशत बनाउने
 – सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत बनाउने
– राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने 

ऊर्जा जलस्रोत
– विद्युतीय ऊर्जाको उत्पादन १०००० मेगावाट पुर्‍याउने
 – प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १२०० युनिट पुर्‍याउने
– ४०० केभीको पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने

पर्यटन
– पाँच वर्षमा वार्षिक २० लाख पर्यटक
 – दैनिक पर्यटक खर्च १०० डलर पुर्‍याउने
 – कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत पुर्‍याउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .