ad ad

कला


बाल्यकाल सम्झेर बनाएको ‘आउँथ्यो दसैँ’बाट हेमन्तलाई नसोचेको सफलता

भन्छन्- टिकटक खुलेर पनि फाइदा भयो
बाल्यकाल सम्झेर बनाएको ‘आउँथ्यो दसैँ’बाट हेमन्तलाई नसोचेको सफलता

बाल्यकालमा जेजे भोगेँ, त्यसलाई कल्पना गर्दै गीत लेखेँ- हेमन्त शर्मा। तस्बिर/भिडिओ : सरोज नेपाल


लक्ष्मी बलायर
असोज १६, २०८१ बुधबार १९:५७, काठमाडौँ

चाडपर्व नजिकिएपछि हरेक वर्ष नयाँनयाँ गीत आउँछन्। यो वर्ष पनि युट्युबमा दजनौँ दसैँलक्षित गीत सार्वजनिक भइरहेका छन्। जसमध्ये एउटा गीतले यतिखेर दर्शकको सर्वाधिक ध्यान तानेको छ।

आउँथ्यो दसैँ आउन त पहिले नि
यस्तो मजा भाथेन कहिले नि
उठी बसी नाच्दिओस् सइँले नि
हल्का कम्मर भाँच्देको मैले नि

‘आउँथ्यो दसैँ’ बोलको गीत टिकटकमा भाइरल भइरहेको छ। दसैँको आगमनमा उत्साहित हुँदै दर्शकहरू छमछमी नाचिरहेका छन्।युट्युबदेखि अन्य सामाजिक सञ्जालमा पनि गीत छाएको छ। असोज पहिलो साता सार्वजनिक गीतलाई युट्युबमा २० लाख भ्युज नाघिसकेको छ। र, म्युजिकतर्फको ट्रेन्डिङको पहिलो नम्बरमा छ।

यस गीतमा गायक हेमन्त शर्माकै शब्द, संगीत र स्वर छ। गायिका मेलिना राईको पनि स्वर सुन्न सकिन्छ। पहिलोपटक दसैँ गीत ल्याएका शर्मा दर्शकबाट पाएको अपेक्षित प्रतिक्रियाले दंग छन्।

‘दसैँ आएजस्तो लाग्दा गीत सबैको घरघरमा पुगोस् भनेर असोज लाग्दै यो गीत निकालेका थियौँ। तर, सोचेको भन्दा छिटो राम्रो भइदियो। शब्द, संगीत र गीतको भिडिओलाई पनि दर्शकले रुचाइदिनुभएको छ। युट्युबदेखि टिकटक र सामाजिक सञ्जालमा पनि राम्रो प्रतिक्रिया छ। रिलिज गर्दासम्म पनि यस्तो राम्रो प्रतिक्रिया आउला भनेर सोचेको थिइनँ,’ उनले भने।

शर्माले दुई दशक लामो सांगीतिक करिअरमा थुप्रै हिट गीतहरू दिए। जसमध्ये माया साह्रै महँगो, मूल हौ भने रसाइदेऊ, जाला उडेर मेरो जाले रुमाल लगायतका गीतहरू लोकप्रिय छन्।

तर, जब दसैँ आउँन्थ्यो, हेमन्तलाई के नपुगेजस्तो लाग्थ्यो! तैपनि हेमन्तले दसैँगीत ल्याउन सकिरहेका थिएनन्।

उनले भने, ‘दसैँ नेपालीहरूको ठूलो पर्व हो। जहिलेजहिले दसैँ आउँछ, आफूलाई के नपुगेजस्तो लाग्थ्यो। पहिलेपहिले सिजनल गीत हो भनेर कन्जुस्याइँ गर्दो रहेछु। रेकर्डिङदेखि भिडिओ मेकिङसम्म खर्च हुन्छ। केही महिना त हो, यत्रो लगानी किन गर्नु सोच्थेँ। सिर्जनात्मक रूपमा कहिलेकाहीँ सोचेको जस्तो हुँदैनथ्यो पनि। तर, एउटा मनमा दसैँ गीत गर्नुपर्छ भन्ने हुन्थ्यो।’

यस्तो गीत जुन आफैलाई मन परोस्। अनि पुरानोदेखि नयाँ पुस्ताका दर्शकश्रोताले पनि सुनिदिऊन्। दसैँको गीत ल्याउने हुटहुटीबीच डेढ महिनाअघि हेमन्तको दिमागमा एउटा हरफ फुर्‍यो। त्यो पहिलो हरफ थियो:

आउँथ्यो दसैँ आउन त जहिले नि
यस्तो मजा आथेन कहिले नि

हेमन्तलाई राम्रो लाग्यो। अनि त्यसै हरफलाई तन्काउँदै गीत लेख्न सुरु गरे। जसको लागि उनी बाल्यकालतिर फर्के। नवलपरासीको त्रिवेणीमा जन्मेका हेमन्त। बुवाको जागिरकै सिलसिलामा कहिले स्याङ्जा पुगे त कहिले कपिलवस्तु र भैरहवा।

तर, जता पुगेनि दसैँमा निकै रमाउँथे उनी। जमरा र टीका। रोटे पिङ। लाम्काने खसी। फिनी र सेलरोटी। तास अनि लंगुरगुर्जा। आफूले बाँचेका पुराना कुरा स्मरण गर्दै गीत तयार पारे। थपे केही तिहारका सम्झना पनि।

‘ठ्याक्कै म हो यो गीत। मैले बाल्यकालमा जेजे भोगेँ, त्यसलाई कल्पना गर्दै लेखेको हुँ। देउसीभैलोको कुरा पनि यसमा छ। किनकि दसैँ आफैँमा तिहारको हिस्सा हो। विगतको सम्झना र आत्मसन्तुष्टिको लागि यो गीत ल्याएको हुँ। गीतमार्फत परदेशिएकालाई आउन भनिएको छ,’ उनले सुनाए।

त्यसपछि मेलिना राईसँगको सहकार्यमा गीत रेकर्डिङ गरे। गीत रेकर्ड गरे पनि सुरुमा भिडिओमा खर्च नगर्ने हेमन्तको सोच थियो।

‘सुरुमा दसैँ गीत त हो, एक महिना चल्छ भनेर खर्च नगर्ने सोच बनाएको थिएँ। रेकर्डिङसहित फुटेज राखेर ५० हजारमा सक्ने कुरा थियो। तर, मलाई जहिले पनि यसै कुराले दु:ख दिन्छ। पहिले लिमिटेड गर्छु भन्छु पछि आफ्नो सिर्जनाको माया लागेर आउँछ। दसैँ भन्नेबित्तिकै त्यो माहौल देखाउनुपर्‍यो। पिङको सेटअपमा मात्रै १५ हजार सकियो। भिडिओ बनाउन ३ लाख खर्च भएको थियो,’ शर्माले भने।     

मौसम हिमालीको निर्देशन र कोरियोग्राफीमा गीतको भिडिओ तयार भयो। हिमालीकै स्टेपमा पहिलोपटक आफू नाचेको उनको भनाइ छ।

उनले भने, ‘मैले पहिले नाचेर कुनै पनि म्युजिक भिडिओ खेलेको थिइनँ। म नाच्न जान्ने मान्छे होइन, स्टेजमा दर्शकस्रोता नाच्दा झुम्ने हो। सुरुमा मैले नाच्दिनँ भनेको थिएँ। तर, मौसमजीले आफ्नो गीतमा ननाचेर कसको मा नाच्ने भन्नुभयो। दसैँ गीतमा सिम्पल स्टेप बनाउँछु भन्नुभयो। अनि नाच्न रेडी भएँ।’

दसैँको गीत बनाउँदा सानो फ्रेममा बाँधिनुपर्ने बताउँदै अरु गीतजस्तो स्वतन्त्रता नहुने उनको बुझाइ छ। दसैँ गीतमा युवापुस्तालाई समेट्न जोडीबीचको मायाप्रेमलाई पनि समेटेको सुनाउँछन् उनी। 

भदौमा सरकारले टिकटकमाथिको प्रतिबन्ध खुला गर्‍यो। यससँगै हेमन्तको गीतलाई निकै फाइदा पुगेको छ। किनकि टिकटकमा छोटा क्लिप हेरेर युट्युबसम्म पुग्ने जमात धेरै छ।

नेपाली गीतसंगीतलाई टिकटकले सधैँ टेवा पुर्‍याएको उनको भनाइ छ।

भन्छन्, ‘हामीले दोहोरो चरित्र बाँच्नुहुन्न। ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नपर्छ। टिकटकले नेपाली गीतसंगीतलाई फाइदै गरेको छ। टिकटकले सानो भए पनि आम्दानी दिन्छ। चारपाँच लाख टिकटक बन्दा एक लाख रूपैयाँ आउँछ। त्यो त आम कलाकारलाई ठूलो पैसा हो नि। अनि यस प्लेटफर्मलाई नराम्रो भन्न मिल्दैन। विसङ्गति कता पो छैन र? त्यसमाथि नियमन हुनुपर्छ।’

सामान्यतया दसैँ गीतहरूको आयु खासै लामो हुन्न। तर, वर्षौअघिका गीतहरू भने दर्शकहरूको मनमा बसिरहेका हुन्छन्। जसमा दसैँ आयोदेखि नमुछे आमा र वर्षमा दिनमा लै लै लगायतका गीतहरू पर्छन्।

हेमन्त पुराना जसरी अहिलेका दसैँ गीत चर्चामा नआउनुका दुइटा कारण देख्छन्।

‘राम्रा सिर्जना आउन नसकेका हुन्। राम्रो सिर्जना सधैँ आउँदैनन् पनि। त्यतिबेला थुप्रै सामान्य सिर्जना आएका थिए। केही असाधारण भएर हामीले सम्झिन्छौँ,’ उनले सुनाए, ‘अर्कोतिर आफ्नो फुर्सद वा बाल्यकालमा जे सुनियो, त्यो मनपर्दो रहेछ। अहिले सबै व्यस्त हुनुहुन्छ। पहिले गीत सुन्ने श्रोताले तपाईंको गीत आएको छैन भन्नुहुन्छ। तर, म बुझ्छु। तपाईंको गीत हिट भएको छैन अथवा म एकदम व्यस्त भएको हुँ भनेको हुनुपर्छ। पहिले पो स्कुल जाँदा, रेडियोमा सुन्नुहुन्थ्यो। अनि हाम्रा गीत आउँथे, अनि याद हुन्थ्यो।’

केटाकेटी छँदाको दसैँ प्यारो
पढ्न भनेपछि हेमन्तलाई खासै जागर नलाग्ने। त्यसैले दसैँतिहारमा बिदा हुने हुनाले निकै खुसी हुन्थे।  

‘दसैँतिहार भनेपछि सबैभन्दा मनपर्ने बिदा नै हो। पढ्न खासै जागर नचल्दा बिदा हुँदा आनन्द हुन्थ्यो। त्यतिबेला बढी स्वतन्त्र पनि भइन्थ्यो। चाडपर्वमा अभिभावक पनि काममा व्यस्त हुन्छन्। बच्चालाई रेखदेख गर्न भ्याउँदैनन्,’ शर्माले भने, ‘आशीर्वादमा त ध्यानै हुँदैन्थ्यो। ध्यान दक्षिणामा हुन्थ्यो। त्यो पनि २५ पैसा दिनेतर्फ होइन, जसले १ को नोट दिनुहुन्थ्यो, त्यहाँ ध्यान हुन्थ्यो।’

पहिलेभन्दा जमना धेरै फरक भए पनि आफूलाई भने केटाकेटी छँदाको दसैँ मनपर्ने बताउँछन्।

‘जमाना फेरियो। तर, केटाकेटीको दसैँ प्यारो लाग्दोरहेछ। त्यो अभावमै किन नहोस्, बाल्यकालको सम्झना प्यारो हुँदो रहेछ। अहिले त सबको घरघरमा जादैनन्। सब व्यस्त भए। सबै मोबाइल र सामाजिक सञ्जालमा रमाइलो गर्छन्,’ उनी भन्छन्।

दसैँमा घरपरिवारसँग रमाउन मन पराउँछन् हेमन्त। जसकारण दसैँताका कार्यक्रमहरूमा नजाने सुनाए।

‘दसैँमा घर, आफन्त र इष्टमित्रकहाँ जान रुचाउँछु। दसैँको बेला म बाहिरको कार्यक्रम कहिल्यै लिन्नँ। काठमाडौँ बसेको २८ वर्ष भयो। सकेसम्म म गाउँमा जान्छु। दिदीबहिनी इभेन्टले अस्ट्रेलियाका पाँच/सात सहरमा मेरो एकल कार्यक्रम गर्दैछ। दसैँपछि पूर्णिमामा म अस्ट्रेलिया पुग्छु। दसैँलाई भन्नुभएको थियो, मैले दसैँलाई नगरुँ भनेर सारेको हुँ। आखिर अरुबेला मजदुरी गर्नु त छँदैछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .