चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्म शोधनान्तर स्थिति (बीओपी) १ खर्ब ८० अर्ब रुपैयाँ बचतमा पुगेको छ। १४ महिना घाटामा देखिएको शोधनान्तर स्थिति गत असोजबाट बचतमा देखिएको हो।
देशबाट बाहिरिने रकम र देशभित्र आउने रकमको अन्तर्भुक्तानी सन्तुलन थप सकारात्मक हुँदै १८० अर्ब रुपैयाँ बचतमा छ। चालू आवको भदौमा अन्तर्भुक्तानी २३ अर्ब ६८ करोड नोक्सानीमा देखिएको थियो।
आयात घटेर रेमिट्यान्स बढ्न थालेपछि शोधान्तर स्थिति सुधार हुँदै गएको हो। यसले पनि बाह्य क्षेत्र सुधारोन्मुख देखिएको छ। साथै व्यापार घाटासमेत सुधार हुँदै आएको देखिएको छ।
चैत मसान्तमा चालू खाता घाटा ५१ अर्ब ८२ करोड रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चालू खाता घाटा ५ खर्ब १० अर्ब थियो।
यता विदेशी विनिमय सञ्चितिमा बढ्दै गइरहेको छ। गत असारमा १२१५ अर्ब रहेको सञ्चिति १७.९ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ।
आर्थिक वर्षको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिना र ९.४ महिनाको तथा सेवा आयात धान्ने देखिएको राष्ट्र बैंकले जनाएको छ।
वस्तु आयातमा नगद मार्जिनको व्यवस्था हटाए पनि कर्जाको ब्याजदर उच्च हुँदा माग बढ्न सकेको छैन। कर्जाको ब्याजदर उच्च हुँदा कर्जाको डिमान्ड कम हुँदा आयात समेत नबढेको आकलन समेत गरिएको छ ।
पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम (तरलता) सहज बढ्दै गएको र बैंकहरु पछिल्लो तीन महिनाको आधारदरमा भएको थपघट अनुसार महिनैपिच्छे कर्जा ब्याजदर कायम गर्न पाउने व्यवस्था भएको छ। यसले गर्दा आगामी दिनमा कर्जा बढ्न गई आयात वृद्धि हुने देखिएको छ।
यता चैतसम्म रेमिट्यान्समा निरन्तर वृद्धि भएको छ। आयात गिरावटका कारण विदेशी विनिमय सञ्चितिमा सुधार आएको हो।
पछिल्लो समय आयातमा आएको गिरावटले अर्थतन्त्रको बाह्य क्षेत्रमा निरन्तर सुधार हुँदै आएको गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएको छन्। साथै, निरन्तर विद्युतीय कारोबारमा समेत उल्लेख वृद्धि भइरहेको देखिएको छ।
चैत मसान्तसम्ममा रेमिट्यान्स २५.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब पुगेको छ। गतवर्ष यसै अवधिमा रेमिट्यान्स ७ खर्ब २४ अर्ब भित्रिएको थियो। यता, ब्याजदर उच्च हुँदा कर्जा डिमान्ड समेत न्यून रहेको देखिन्छ।
पछिल्लो समय बैंकहरूको कर्जाको ब्याजदरसमेत घट्न थालेपछि आगामी दिनमा कर्जा डिमान्ड बढ्न सक्छ। बैंकले प्रवाह गर्ने कर्जा कुन क्षेत्रमा जान्छ त्यसले आगामी दिन पुनः अर्थतन्त्रलाई असर गर्ला। उत्पादनमा क्षेत्रमा गएको कर्जाले नेपालमा उत्पादन बढाउन र स्वदेशभित्र रोजगारी बढाउन मद्दत गर्छ भने कर्जा पुनः आयातमा केन्द्रित भए अर्थतन्त्र फेरि समस्यामा पर्ने देखिन्छ।
यता, भुक्तानी सन्तुलनमा हुँदा बैंकहरु समेत कर्जा विस्तार गर्न सक्छन्। जसले गर्दा उद्योगी तथा व्यवसायीले सहज अनुभव गर्छन्। ब्याजदर घटेपछि सरकारले उठाउने आन्तरिक ऋणको ब्याजदर पनि घट्छ र यसले सरकारलाई नै सजिलो बनाउँछ।
गत वर्षदेखि विस्तारै नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको र चालू वर्षसँगै पर्यटक आगमनमा पनि सुधार देखिएकाले त्यसको सकारात्मक प्रभाव सेवा क्षेत्रमा परेको छ।
गत वर्ष सेवा क्षेत्रको खुद आय ७९ अर्ब २८ करोडले घाटामा रहेको स्थितिमा सुधार आउँदै चालू वर्ष चैतमा यस्तो घाटा ५६ अर्ब २६ करोडमा खुम्चिएको छ।
त्यसअन्तर्गत भ्रमण आय गत वर्षको ९ महिनाको तुलनामा ९४.३ प्रतिशतले सुधार आएको छ। तैपनि भ्रमण व्यय पनि ३९.८ प्रतिशत बढेको छ।
जसको समग्र असर नेपालसँग चैतमा रहेको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। जुन अर्थतन्त्रका लागि राम्रो मानिन्छ।
Shares
प्रतिक्रिया