ad ad

कारोबार


वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई ठूला जहाज किन्ने

वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई ठूला जहाज किन्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १२:१३, काठमाडौँ

नेपाल वायु सेवा निगमले ठूला शहरमा आन्तरिक उडानका लागि मध्यम खालका जहाज खरिद गर्ने भएको छ।

अन्तराष्ट्रिय र दुर्गम रुपमा मात्रै उडान गरिरहेको निगमले ट्रक रुटमा उडान गर्न ६०–७० सिटे २ वटा जहाज खरिद गर्ने तयारी गरेको हो। 

केही समय अघि निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानकोलागि स्टोल (सर्ट टेक अफ एन्ड लेन्ड) जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ।

३ वटा जहाज खरिदकोलागि उपसमिति बनाएर टेन्डर प्रक्रियाको कागजपत्र मिलाउँदै छ। 

नेपालमा ठूला शहरमा निजी क्षेत्रको एकछत्र रहेकोमा सरकारी संस्थाले जहाज खरिदगरी स्वच्छ प्रतिस्पर्धा बढाउने निगमको दाबी छ।

नेपाल एयरलाइन्सका २ वटा ट्वीनअट्टर जहाज मात्रै रहेका छन्। पाहाडी र हिमाली जिल्लामा मात्रै उडान भर्दै आएका छन्। 

ट्रक रुटमा चल्ने चिनियाँ जहाज चलाउन नसकेको निगमले एटीआर ७२ जहाज खरिद गर्ने योजना बनाएको छ। नेपालमा सबैभन्दा बढी एटीआर ७२ जहाजले उडान भर्दै आएका छन्।

बुद्ध एयर र यति एयरलाइन्सले एटीआरका जहाजबाट ट्रक रुपमा उडान गर्दै आएका छन्। 

काठमाडौंबाट पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगरमा सबैभन्दा बढी यात्रुको आउजाउ हुन्छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुई जहाज खरिद कार्ययोजना अघि बढाएको जानकारी दिए। 

‘जहाज खरिद अघि बढाउन निगम व्यवस्थापनको उप समितिले प्रतिवेदन पेश गरिसकेको छ ,’ पौडेलले भने,‘यथाशक्य छिटो त्यस्ता जहाज खरीद गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २६ गतेको संचालक समितिको बैठकले उपसमिति गठन गरेको छ।’

बैठकले निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।

उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउने गरी कामसमेत सुरु गरिसकेको छ। 

‘शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवम् व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ पौडेलले भने,‘ निगमले दुई जहाज खरिद गरेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत शहरी क्षेत्रबाट प्रादेशिक उडानबाट अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सक्ने छ।’

जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरिद गरिने बताएको छ। 

मन्त्रालयका एक अधिकारीकाअनुसार नेपाल वायुसेवा निगमले एटीआर ७२ का जहाज खरिद गर्ने तयारी गरेको हो। ग्लोबल टेन्डरबाट सम्भव नभएकाले सरकारले कम्पनीसँग सिधै खरिद गर्न खोजेको छ। 

‘जुन पायो त्यही जहाज ल्याएर हुँदैन। नेपालमा सबैभन्दा बढी एटीआर चल्दै आएका छन्,’ मन्त्रालयका ती अधिकारीले भने,‘अरु जहाज ल्याउँदा यहाँ थप पूर्वधार बनाउनु पर्छ। एटीआरका लागि पाइलटदेखि विज्ञ प्राविधिक अहिले नै छन्।’

जहाज खरिदपश्चात् अन्तरदेशीय पर्यटन प्रर्वद्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर घट्ने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने पौडेलले बताए।

ऋण लिएर किन्ने योजना
दुर्गम क्षेत्रकोलागि खरिद गर्ने जहाज आफै व्यवस्थाप गर्न सक्ने बताएको निगम मध्यमखालका जहाज खरिदकालागि सरकारसँग सहयोग माग गर्ने भएको छ।

आन्तरिक उडानका लागि ३ वटा साना जहाजकोलागि २ अर्ब ९० करोड लाग्ने निगमको अनुमान रहेको छ। 

बुद्ध एयरले नेपाल भित्राएको एटीआर ७२ करिब १ अर्ब बराबरको हो।

एटीआर ७२–५०० र एटीआर ७२–६०० को फरक फरक मुल्य रहेको छ। त्यसबाहेक नेपालमा श्री एयरलाइन्स र सौर्यले बोम्बारडियर जहाज सञ्चालन गरिरहेका छन्। 

वायु सेवा निगमले ट्रक रुटकालागि खरिद गर्ने जहाज ऋण लिएरै भएपनि ल्याउने तयारी थालेको हो। 

‘जहाज नै नहुँदा ट्रक रुटमा उडान भर्न नै सकिएन,’ पौडेलले भने,‘मन्त्रालयसँग समन्वय गरी ऋण खोजेरै भएपनि जहाज खरिद गर्नु पर्ने अवस्थामा छौँ।’

ट्रक रुटमा एउटापनि जहाज नभएकाले ऋण लिएर जहाज खरिद गर्न मन्त्रालय सकरात्मक रहेको निगमले जनाएको छ। 

‘मन्त्री र सचिव ट्रक रुटका लागि जहाज खरिद गर्ने विषयमा सकरात्मक हुनुहुन्छ,’ पौडेलले भने,‘मन्त्रालयसँग समन्वय गरेरै उपसमिति गठन गरेका हो। मन्त्रालयले यसमा सहयोग गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .