आर्थिक वर्ष २०७९/०८०लाई राष्ट्र बैंकले विद्युतीय भुक्तानी वर्षको रुपमा मनाइरहेको छ। तर, विद्युतीय कारोबारमा उल्लेख्य प्रगति देखिएको छैन।
चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतसम्ममा ६५ करोड ९० लाख १७ हजार ६६२ पटकको विद्युतीय कारोबार हुँदा ३८३ खर्ब ४४ अर्ब ४५ करोड ९ लाखको कारोबार भएको छ।
गत वर्ष सोही अवधिमा ४७ करोड ६९ लाख ७१ हजार ६३७ पटकको विद्युतीय कारोबार हुँदा ४२५ खर्ब ५५ अर्ब २७ करोड ७ लाख रुपैयाँको कारोबार भएको थियो।
गत वर्षको तुलनामा विद्युतीय कारोबारको संख्या बढेको छ भने कारोबार रकम घटेको छ।
आर्थिक वर्षको चैतसम्ममा (९ महिनामा) कुल ६५ करोड ९० लाख १७ हजार ६६२ पटक विद्युतीय कारोबार भएकोमा गत वर्ष यसै अवधिमा ४७ करोड ६९ लाख ७१ हजार ६३७ पटक विद्युतीय कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
गत वर्षको सोही अवधिको तुलनामा विद्युतीय कारोबार संख्या १८ करोड २१ लाख पटक बढी भएको छ। विद्युतीय कारोबार संख्या बढेपनि कारोबार रकम भने उल्लेख्य मात्रामा घटेको देखिन्छ।
चालु आर्थिक वर्षको चैतसम्ममा ३८३ खर्ब ४४ अर्ब ४५ करोड ९ लाख विद्युतीय कारोबार भएकोमा गत वर्ष यसै अवधिमा ४२५ खर्ब ५५ अर्ब २७ करोड ७ लाख रुपैयाँको कारोबार भएको थियो।
गत वर्षको सोही अवधिको तुलनामा विद्युतीय कारोबार रकम भने ४२ खर्बले घटेको हो। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० लाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षको रुपमा प्रोत्साहन नीतिले अपेक्षाजनक प्रगति हुन सकको छैन्।
लार्ज पेमेन्ट भ्यालु सिस्टम (आरटिजीएस) मार्फत हुँदै आएको कारोबार घटेको छ। गत वर्ष मासिक रुपमा ३५/३६ खर्ब आरटिजीएसमार्फत हुने कारोबार यो वर्ष घटेको छ।
यता रिटेल पेमेन्ट सिस्टमबाट हुने कारोबार सामान्य बढ्दै गइरहेको जानकारहरू बताउँछन्। लार्ज पेमेन्ट भ्यालु सिस्टममा ठूलो कारोबार पर्दछन्। यस्तो कारोबारको माथिल्लो सीमा नै हुँदैन। जस्तै, ठूला उद्यमी व्यापारीले राज्यलाई १ अर्ब राजस्व आरटिजिएसबाट तिर्न सक्छन्। यस्तो किसिमको पेमेन्टबाट मात्रै मासिक २४ खर्बको कारोबार हुने गरेको छ।
यता रिटेल पेमेन्ट सिस्टम मार्फत हुने कारोबारमा प्रगति भइरहेको छ। यस सिस्टमभित्र वालेट, मोबाइल बैंकिङ, क्यु आर, इन्टरनेट बैंकिङ, कार्ड लगायतका इन्स्टुमेन्ट पर्दछन्। यस्तो कारोबारको माथिल्लो सीमा तोकिएको हुन्छ।
कुन महिना कति कारोबार?
चालु आर्थिक वर्षको साउनमा ७ करोड ३ लाख ९६ हजार ४१८ पटकको विद्युतीय कारोबार हुँदा ५६ खर्ब ८८ अर्बको कारोबार भएको थियो।
त्यसैगरी भदौमा ७ करोड ९ लाख ५० हजार ५४९ पटकको कारोबार हुँदा ४९ खर्ब २६ अर्ब, असोजमा ७ करोड ३ लाख ७४ हजार १४८ पटकको कारोबारमा ४६ खर्ब ५ अर्ब ३१ करोड, कार्तिकमा ६ करोड ७१ लाख ९० हजार ६५४ पटकको कारोबारमा ३९ खर्ब ४६ अर्ब १९ करोड ४ लाख, मंसिरमा ७ करोड ७ लाख ३७ हजार ३१४ पटकको कारोबारमा ३६ खर्ब ९७ अर्ब ६५ करोड ८ लाख, पुसमा ७ करोड ४१ लाख २२ हजार ६५२ पटकको कारोबारमा हुँदा ४१ खर्ब ४५ अर्ब ९० करोड ४ लाख रुपैयाँ, माघमा ७ करोड ३२ लाख ६८ हजार १९ पटकको कारोबार हुँदा ३६ खर्ब ५३ अर्ब ८७ करोड कारोबार भएको थियो।
साथै, फागुनमा ७ करोड ९९ लाख ८६ हजार ८४ पटकको कारोबार हुँदा ३६ खर्ब ६५ अर्ब ५ करोड ६ लाख रुपैयाँ र चैतमा ८ करोड १९ लाख ९१ हजार ७२४ पटकको कारोबार हुँदा ४० खर्ब १५ अर्ब ११ करोड ९ लाख रुपैयाँको डिजिटल कारोबार भएको छ।
सर्वाधिक कारोबार मोबाइल बैंकिङबाट
मोबाइल बैंकिङबाट सर्वाधिक विद्युतीय कारोबार भएको छ। मोबाइल बैंकिङबाट चैतमा मात्रै २ करोड ५७ लाख ३५ हजार ७५ हजार पटक कारोबार भएको छ।
एक महिनमै साढे २ करोड बढी पटक मोबाइल बैंकिङमार्फत विद्युतीय कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय मोबाइल बैंकिङमार्फत हुने कारोबार संख्या निरन्तर बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ।
साथै मोबाइल बैंकिङमार्फत हुने कारोबार समेत निरन्तर बढ्दै गइरहेको छ। चैत एक महिनामा मात्रै २ खर्ब ७ अर्ब रुपैयाँको कारोबार भएको छ।
कारोबारको आधारमा आरटिजिएस
कारोबार रकमको आधारमा आरटिजिएस अग्रस्थानमा रहेको छ। चैत एक महिनामा आरटिजिएसबाट मात्र २४ खर्ब ३७ अर्ब रुपैयाँको कारोबार भएको छ। कारोबार संख्याको आधारमा आरटिजिएस अन्तिममा देखिएको छ।
एटीएम कारोबार बढ्यो
एटिएमबाट हुने विद्युतिय कारोबार संख्यामा उलेख्य वृद्धि देखिएको छ। गत वर्ष मासिक ७३ हजारसम्मको कारोबार संख्या बढेर १ करोड माथि पुगेको छ। त्यसैगरी एटिएमबाट मासिक ८० अर्बको काराबार भइरहेको छ।
क्यूआर कारोबारमा उलेख्य प्रगति
क्यूआर कोडबाट भुक्तानी कारोबार र कारोबार रमकमा उलेख्य प्रगति भएको छ। गत आर्थिक वर्षको चैतमा क्यूआर कोड मार्फत २७ लाख २३ हजार पटक कारोबार भएको थियो। चालु आवको चैतमा ७६ लाख ४४ हजार पटक कारोबार भएको छ।
त्यसैगरी गत वर्ष क्यू आर कोडमार्फत मासिक ७/८ अर्बको कारोबार भएको थियो। चालु आवको चैत एक महिनामा क्यूआर कोडबाट २२ अर्ब बढीको कारोबार भएको छ।
विद्युतीय कारोबार बढ्दै छ : गुरुप्रसाद पौडेल
कोभिडपछि विद्युतीय कारोबारको उल्लेख्य प्रगति भइरहेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय विद्युतीय कारोबार संख्यामा उल्लेख्य प्रगति भएको छ।
‘गत वर्षको तुलनामा यो वर्षको चैतसम्ममा विद्युतीय रकम घटे पनि कारोबार संख्या उल्लेख्य मात्रामा बढेको हो,’ उनले भने। यो वर्ष लार्ज पेमेन्ट भ्यालु सिस्टमको कारोबार रकम घटेको उनी बताउँछन्।
‘गत वर्षको मासिक ३६ खर्बसम्म आरटीजिएसमार्फत भइरहेको कारोबार अहिले घटेर २२/२४ खर्बमा सीमित भएको छ। जसले गर्दा डिजिटल कारोबार घटेको हो’, उनले भने।
‘तर, कारोबार रकम घट्दा डिजिटल भुक्तानी नै घटेको होइन्,’ उनले भने। डिजिटल कारोबारको संख्यामा भने उल्लेख्य मात्रामा प्रगति भइरहेको छ।
डिजिटल भुक्तानी बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकले डिजिटल नेपाल फ्रेर्मवर्क २०१९ कार्यान्वयनमा ल्याएको पौडेलले बताए।
‘नेपाललाई डिजिटलमय बनाउन ८ सेक्टरमा ८० पहलमार्फत काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि इन्फ्रास्ट्रक्चर (उच्चस्तरको इन्टरनेटको पहुँच), नेशनल पेमेन्ट स्वीचको स्थापना, नेपालको आफ्नै कार्ड स्किम ल्याएर भुक्तानी गर्ने, विद्युत आपूर्तिमा व्यापकता र वित्तीय साक्षरता बढाउने काम भइरहेको छ।’
Shares
प्रतिक्रिया