ad ad

कारोबार


दक्षिण-पूर्वी एसियामा एप्पलको कस्तो भविष्य खोज्दै छन् टिम कुक?

चीनले धनी बनायो, थप अवसरको अफर गर्दै छन् अन्य बजार
दक्षिण-पूर्वी एसियामा एप्पलको कस्तो भविष्य खोज्दै छन् टिम कुक?

भारतमा केही समयअघि एप्पल स्टोर उद्घाटन गर्ने क्रममा सीईओ टिम कुक


मिसेल टो
जेठ १२, २०८० शुक्रबार १७:१७, काठमाडौँ

गत हप्ता एप्पलले भियतनाममा आफ्नो अनलाइन स्टोर खोल्यो। जुन आईफोन निर्माताका लागि उदाउँदो बजारहरु कति महत्वपूर्ण छ भन्ने एउटा उदाहरण थियो।

गत बिहीबारको स्टोर ओपनिङले केहीअघि भारतमा खुलेको पहिलो उच्चस्तरीय लन्चलाई पछ्याएको थियो। जसको अर्थ अब पहिलो पटक द्रुत गतिमा उदाइरहेको दक्षिणपूर्वी एसियाली अर्थतन्त्रका उपभोक्ताले एप्पलका कुनै पनि उत्पादन सिधै किन्न पाउनेछन्। 

चीनलगायत विकसित बजारमा आफ्नो वृद्धि सुस्त हुँदै गर्दा भियतनाम, भारत र इन्डोनेसियाजस्ता बजारहरु एप्पलका लागि झनै महत्वपूर्ण बनिरहेका छन्। विकसित बजारको सुस्त वृद्धिसँगै कम्पनीलाई पछिल्लो समय पहिले कम सक्रिय हुने ठाउँहरुमा केन्द्रित गराइरहेको छ। 

धरतीकै सबैभन्दा मूल्यवान् कम्पनी बन्ने असाधारण सफलताको यात्रामा चीनले मुख्य केन्द्रमा रहेर एप्पललाई उत्पादन र उपभोग दुवैका लागि मेरुदण्डकै काम गरेको थियो। अझै पनि कम्पनीको व्यवसायका लागि उक्त देश महत्वपूर्ण त छँदै छ, एप्पल भने अब सुरक्षित हुन चाहिरहेको छ। 

एप्पलका प्रमुख कार्यकारी टिम कुकले उदाउँदा अर्थतन्त्रहरुमा कम्पनीको सम्भावना देखेका छन्। उनले तिनलाई कम्पनीको वित्तीय नतिजाको उज्यालो पक्ष भनेका छन्। कुकले यो वर्षको पहिलो तीन महिनामा यी बजारमा कम्पनीको व्यावसायिक प्रस्तुतिसँग खुसी रहेको बताइसकेका छन्। 

विश्लेषकहरुसँग कुकले मेक्सिको, इन्डोनेसिया, फिलिपिन्स, साउदी अरेबिया, टर्की र यूएईमा एप्पलले हालसम्मकै धेरै उपलब्धि हासिल गरेको र ब्राजिल, मलेसिया र भारतलगायतमा त्रैमासिक कीर्तिमानी आम्दानी गरेको बताएका थिए। 

क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको कम्पनीले त्रैमासिक कुल राजस्व लगातार दोस्रोपटक घटेको विवरण सार्वजनिक गरेको थियो जसले आर्थिक अनिश्चितताका दौडान मागमा कमी आएको भन्दै ध्यान खिचेको छ। 

वेडबस सेक्युरिटिजका प्रबन्धनिर्देशक ड्यानियल इभ्स स्पष्ट रुपमा आम्दानी वृद्धिदर विश्वव्यापी रुपमा घटेको र यसले कम्पनीमाथि उदाउँदा अर्थतन्त्रमा जान दबाब सिर्जना गरेको बताउँछन्। 

एउटा विशाल बजार
इभ्स आगामी केही वर्षमै इन्डोनेसिया, मलेसिया र भारत एप्पलको कुल आम्दानीमा ठूलो हिस्सा हुने अड्कल गर्छन्।

किनकि यी देशमा एप्पलले ठूलो मिहिनेत गरेको छ। उनी भन्छन्, एउटा देशमा अनलाइन बिक्रीको सुरुवात हुनुले एप्पलका लागि इँट र मोर्टार स्टोरको लन्चलाई इंगित गर्छ। यो कुरा भारतको हकमा सत्य थियो। उदाहरणका लागि गत महिना मात्रै भारतमा कम्पनीको पहिलो भौतिक आउटलेट खुलेको छ र देशमा थप लगानी गर्ने प्रतिबद्धता कुकबाटै आइसकेको छ। 

गत बिहीबारको लन्चसँगै एप्पलले उदाउँदा बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको देखिएको क्यानालिजका लागि दक्षिण पूर्वी एसियामा स्मार्टफोनकेन्द्रित अनुसन्धाता एवं विश्लेषक च्यु लि सुआन बताउँछन्।  

उनले पछिल्ला महिनामा प्रविधि कम्पनीले सक्रिय रुपमा उक्त क्षेत्रमा उपस्थिति बढाइरहेको बताए। योसँगै कम्पनीले विशेषगरी मलेििसयामा आधिकारिक बिक्रेताको सञ्जाल र वितरणलाई बढावा दिइरहेको उनको भनाइ छ। 

यी बजारमा व्यवसाय गर्न एप्पलसँग पर्याप्त ठाउँ छ। 

अहिले, कम्पनीले थाइल्यान्ड र सिंगापुरजस्ता धेरै विकसित क्षेत्रीय अर्थतन्त्रहरुमा आफ्नो स्टोर चलाइरहेको छ। 

विश्वकै छैठौँ ठूलो स्मार्टफोन बजार मानिने इन्डोनेसियामा समेत एप्पलको आफ्नै भौतिक स्टोर नभएको च्यु बताउँछन्। क्यानालिसिसको तथ्यांकअनुसार सन् २०२२ मा एप्पलको बजार हिस्सा १ प्रतिशत छ। 

एप्पलको वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा कुकले यी बजारहरुमा कम्पनीले ठूलो जोडबल गरिरहेको बताएका थिए। यी बजारमा कम्पनीले ठूलो अवसर देखेको उनको भनाइ थियो। 

दक्षिणपूर्वी एसियामा फस्टाइरहेको विश्व व्यवसायहरुमध्ये एप्पल पनि पर्छ जहाँ पछिल्लो समय उत्पादनमा बढी लगानी भइरहेको छ। बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार सन् २०३० सम्ममा वार्षिक रुपमा भियतनाम, इन्डोनेसिया र फिलिपिन्सजस्ता देशको अर्थतन्त्रमा मध्यम आय र सम्पन्न परिवारको संख्या ५ प्रतिशतले वृद्धि हुनेछ। 

उक्त कन्सल्टेन्सीले उपभोक्ताको यो समूहलाई अर्को विशाल बजार भनेको छ। 

दक्षिण पूर्वी एसियाको उदाउँदो मध्यम वर्गले यी देशहरुमा चलायमान बदलाव ल्याएको छ जसलाई यसअघि एप्पलले ख्याल नगरेको इभ्स बताउँछन्। 

‘एप्पलका लागि यो आफैँमा एउटा सुवर्ण अवसर हो’, उनले भने। 

टरिसकेको छैन चुनौती 
वर्षौँसम्म एप्पलजस्ता थुप्रै प्रिमियम ब्रान्डहरुले स्थानीय रिसेलरसँग भर पर्नुको साटो आफ्ना उत्पादनको मूल्यको कारण उदाउँदो बजारमा प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन्।

४७० र ११ सय डलरको बीचमा पर्ने आईफोन मूल्य कम विकसित दक्षिण पूर्वी एसियाली अर्थतन्त्रका उपभोक्ताका लागि महँगो छ जहाँ २ सय डलरभन्दा कम मूल्यका स्मार्टफोनको शिपमेन्ट भइरहेको च्यु बताउँछन्। 

उनले क्याम्बोडिया वा भियतनामजस्ता स्थानहरुबाट एप्पलको अभाव नयाँ आईफोन सार्वजनिक हुँदा स्पष्ट देखिएको बताए। यहाँका उपभोक्ता ती डिभाइस लिन सिंगापुर वा मलेसिया जाने गरेको र त्यहाँबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ।   

आगामी वर्षहरुमा यसमा परिवर्तन आउनेछ। किनभने एप्पलले यस क्षेत्रमा आफ्नो शक्तिवृद्धिलाई निरन्तरता दिइरहेको छ। 

एप्पलले उदाउँदो बजारमा आफ्नो चाइना प्लेबुक प्रयोग गरी कम्पनीको व्यावसायिक माहोल विस्तार गर्ने इभ्सको प्रक्षेपण छ। यसको अर्थ ग्राहकलाई विविध मूल्य रणनीति र उत्पादनका माध्यमबाट आफूतिर तानिरहने प्रयासमा कम्पनी लाग्नेछ। 

एकपटक ती ग्राहक एप्पलको अपरेटिङ सिस्टममा आएपछि बाहिर नजाने उनको प्रक्षेपण छ। चीनमा यो नै कम्पनीको सफलताको एउटा महत्वपूर्ण भाग भएको र यही कुरा भारत, इन्डोनेसिया र भियतनाम तथा अन्य देशहरुमा हुने इभ्स बताउँछन्। 

तर एप्पलले दक्षिणपूर्वी एसियामा धेरै चुनौती सामना गर्नुपर्ने हुनसक्छ, जहाँ देशहरुले विदेशी व्यवसायलाई कडा मापदण्ड बनाएका छन्। 

उदाहरणका लागि इन्डोनेसियामा बेचिने कुल विद्युतीय सामानका पुर्जाहरुको कम्तीमा ३५ प्रतिशतजति स्थानीय रुपमै बनाएको हुनुपर्ने नियम छ। यो एउटा त्यस्तो सीमा हो जसलाई भेट्न एप्पलले साझेदारसँग मिलेर काम गर्नुपरेको छ। 

यस्तैखाले नियमहरुले वर्षौँसम्म भारतमा पसल स्थापना गर्न एप्पललाई रोकेको थियो। जुन नियम सन् २०१९ मा खुकुलो बनाइयो। 

र, अर्को कुरा उदाउँदो बजारमा उपभोक्ता धनी हुँदै गरे पनि कम्पनीका उत्पादनको मूल्यविन्दुलाई अझै उच्च नै मानिएको इभ्स बताउँछन्। सीएनएनबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .