गत फागुनसम्म ९५ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ।
२०७९ असारसम्म ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको थियो। यसैगरी, प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घण्टाबाट ३५१ किलोवाट घण्टा पुगेको छ।
हालसम्म कुल जडित विद्युत क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशतले वृद्धि भई २,६६६ मेगावाट पुगेको छ। २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१९० मेगावाट रहेको थियो।
जलविद्युतबाट २ हजार ४४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.०४ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट र चिनी मिलबाट सह-उत्पादन प्रविधिमार्फत् ६ मेगावाट विद्युत उत्पादन भएको छ।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ६६१ मेगावाट, विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४७८ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १५२७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ।
सामुदायिक संस्थाबाहेक विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या २०७९ फागुनसम्म ५२ लाख पुगेको छ।
२०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन ६६ के.भी र त्यसभन्दा माथि ५,६६९ सर्किट किलोमिटर पुगेको छ।
फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ५३ गिगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा विद्युतको माग पूर्तिको लागि भारतबाट कुल १ हजार ५४३ गिगावाटघण्टा विद्युत आयात र ४९३ गिगावाटघण्टा विद्युत निर्यात भएको थियो।
आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाहरू सम्पन्न भई कुल ८११ मेगावाट थप जलविद्युत उत्पादन हुनेछ।
आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ।
फागुनसम्म निजी क्षेत्रका जलविद्युत कम्पनीलाई थप ९८८ मेगावाट जडित क्षमता बराबरको जम्मा १७ जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्र जारी भएको छ।
हालसम्म २३५ आयोजनाको ८,६६७ मेगावाट जडित क्षमता बराबर विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्र जारी भएको छ।
Shares
प्रतिक्रिया