नेपाल धितोपत्र बोर्डले सेयरबजारको दोस्रो बजारमा लिलामीमार्फत सेयर किन्न पाइने विधि अर्थात (अक्सन मार्केट) सञ्चालनका लागि अध्ययन गर्ने भएको छ।
धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अक्सन मार्केटका लागि विज्ञहरुमार्फत अध्ययन गरिने उल्लेख जनाएको छ।
डेढ वर्षअघि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अक्सन मार्केट सञ्चालनका लागि कार्यविधि तयार गरी स्वीकृतिका लागि बोर्ड पठाएको थियो। लामो समयसम्म बोर्डले त्यसमा चासो देखाएको थिएन।
कार्यविधि तयार भएको डेढ वर्षपछि बल्ल बोर्डले चालु आर्थिक वर्षमा अक्सन मार्केट सञ्चालनका लागि अध्ययन गर्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले डेढ वर्षअघि अक्सन मार्केट सञ्चालनका लागि कार्यविधि बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाइएको बताए।
कार्यविधि बनाएर स्वीकृतिका लागि बोर्डमा पठाएको डेढ वर्षपछि बल्ल अक्सन मार्केट संचालनका लागि अध्ययन थाल्ने कुरा आएको पराजुलीले बताए।
ढिलै भए पनि बोर्डले अक्सन मार्केट संचालनका लागि अध्ययन थाल्नु राम्रो भएको पराजुलीले बताए।
‘धेरै मुलुकमा सञ्चालनमा आइसकेको अक्सन मार्केट ढिलै भए पनि ल्याउन अध्ययन गर्ने कुरा राम्रो हो’, उनले भने।
अक्सन मार्केट सञ्चालनमा ल्याएपछि लगानीकर्ताले समयमा सेयर पाउने वातावरण बन्नेछ।
‘कुनै सेयर बिक्रेताले समयमा सेयर ट्रान्सफर (ईडीआईएस) गर्दैनन्’, उनले भने, ‘समयमा बिक्री गरेको सेयर ट्रान्सफर नगर्दा (क्लोज आउट)मा पर्छ।’
क्लोज आउटको व्यवस्था भए पनि लगानीकर्ताले खरिद गरेको सेयर समयमा नपाउने समस्या छ।
उनका अनुसार अक्सन मार्केट सञ्चालनमा आएपछि लगानीकर्ताले समयमा सेयर पाउन सक्छन्।
‘कुनै सेयरधनीसँग १००० कित्ता छ, उसले १५ सय कित्ता बिक्री गर्यो भने उसले १००० कित्ता मात्रै ट्रान्सफर गर्न सक्छ’, उनले भने, ‘सेयर किन्नेले १५ सय किनेको भए उसले १५ सय कित्ता पाउनुपर्छ। यस्तो अवस्थामा कारोबारमा समस्या नआओस भनेर अक्सन मार्केट सञ्चालन ल्याउन लागिएको हो।’
यस्तो अवस्थामा अपुग सेयर ब्रोकरले अक्सन मार्केटबाट खरिद गरी समयमै लगानीकर्ताको डिम्याट खातामा पठाउन सक्छ। जसले गर्दा बजार सञ्चालन भइरहन्छ, यता लगानीकर्तालाई सेयर नपाउने समस्या पनि हुँदैन।
संसारमा धेरै मुलुकमा अक्सन मार्केट छन्। नेपालमा ब्रोकरहरुले क्रेताको डिम्याट खातामा हप्तौँपछि सेयर जम्मा गर्ने गरेका छन्।
‘बिक्रेताले समयमा सेयर ट्रान्सफर नगरेको भन्दै क्रेतालाई ढिलाइ गरी सेयर पठाउँछु भन्न ब्रोकरले पाउँदैन’, उनले भने, ‘लगानीकर्ताले खरिद गरेको सेयर समयमा पाउनुपर्छ।’
अक्सनविनाको बजार अपूरो हुने पराजुलीको भनाइ छ। त्यसो त नेपालमा पछिल्लो समय क्लोजआउट भोलुम समेत बढ्दै गइरहेको छ।
क्लोजआउट भोलुम वृद्धि हुनु भनेको बिक्रेताले नभएको सेयर बिक्री गरेको भन्ने बुझिन्छ।
यता ब्रोकरलेसमेत आफैंले सेयरधनीको सेयर बिक्री गर्ने र उधारोमा सेयर बिक्री गर्ने गरेका उदाहरण पनि छन्।
के हो अक्सन इन्डेक्स?
अक्सन मार्केट त्यस्तो बजार हो, जहाँबाट तुरुन्त सेयर लिलामीमा खरिद गर्न सकिन्छ। यो सञ्चालनमा आउँदा बजारको राफसाफ सहज हुने नेप्सेले जनाएको छ। सेयरको राफसाफमा सहज हुने भएकाले अक्सन मार्केट आवश्यक छ।
सेयरबजारमा सूचीकृत कम्पनी जोड्ने काम ब्रोकर (धितोपत्र दलाल व्यवसायी) ले गर्छ। संसारभर कारोबार भएपछि सेटलमेन्ट गरिने व्यवस्था छ। त्यहीअनुसार नेपालमा पनि सेयरको कारोबार हुन्छ।
कुनै सेयरधनीले सेयर बिक्री गरेर ट्रान्सफर (ईडीआईएस) नगरे पनि ब्रोकर कम्पनीले क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरी क्रेतालाई समयमै सेयर उपलब्ध गराउन सक्छन्।
तर, नेपालमा अक्सन मार्केट सञ्चालनमा नहुँदा ब्रोकर कम्पनीले क्रेताको डिम्याट खातामा सेयर पठाउन हप्तौँ लगाइरहेका हुन्छन्। बिक्रेताले सेयर नदिएपछि ब्रोकरले क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ।
त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरेर क्रेतालाई उपलब्ध गराउनुपर्छ।
कुनै कम्पनीको सेयरधनीले १००० कित्ता सेयर बेचेर ट्रान्सफर गरेन भने ब्रोकरले अक्सन मार्केटबाट सेटलमेन्ट गर्न सक्छ।
Shares
प्रतिक्रिया