ad ad

कारोबार


विदेश नगए पछि पर्छु भन्ने मानसिकता त्याग्नूस्, बाहिरभन्दा नेपालमै अवसर छ : अर्थमन्त्री

विदेश नगए पछि पर्छु भन्ने मानसिकता त्याग्नूस्, बाहिरभन्दा नेपालमै अवसर छ : अर्थमन्त्री

नेपालखबर
साउन ३१, २०८० बुधबार १५:२०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन्।

बुधवार काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे।

उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए। उनले अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताए।

उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताए। उनले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताए।

अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताए। उनले विकसित मुलुकमा भन्दा नेपालमा धेरै अवसरहरु भएकाले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताए।

उनले भने, ‘अब बिस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ। हिजो कोभिड थियो, वाह्य अरु पनि समस्याहरु थिए। बिस्तारै त्यो हट्यो। लय पक्रिँदै छ। अब एउटा पोजेटिभ डिस्कोर्स शुरु गर्दैछौँ। हामीले नेगेटिभ मात्रै कुरा गर्यौँ भने नेगेटिभ नै परिणाम आउँछ। हामीले अहिलेसम्म नेगेटिभ डिस्कोर्स शुरु गरेका छौँ। नेपालमा केही छैन, सबै बिग्रिएको छ, इकोनोमी पनि ठिक छैन, रोजगारी पनि पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नेगेटिभ कुरा गरे। अहिले सामाजिक सञ्जालमा थाहा छँदैछ नेगेटिभ कुरा चाँडो बिक्छ। नेगेटिभ कुराहरु धेरै सर्कुलेट हुने र पोजेटिभ कुराहरु हुँदैनन्।’

मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको बताए।

अर्थमन्त्री महतले नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताए। नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको दाबी गरे।

उनले भने, ‘त्यसैले नयाँ डिस्कोर्स शुरु गरौँ। हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ। मान्छेहरु आउन थालिरहेका छन्। त्यसले अवसर सिर्जन गर्नेछन्। त्यसको फाइदा धेरै पपुलेशनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ। कोही पनि मानिसहरु नलेज छ, आइडिया छ, यहाँ आएर बिजनेस स्टार्ट गर्न चाहन्छ भने सक्नुहुनेछ।’

उनले उद्यमशीलताप्रति मोटिभेसन गर्ने कुरा एकदमै जटिल बन्दै गएको भन्दै अहिले आफन्त सबै बाहिर जाने क्रम चलेकोले आफू नगए पछि पर्छु भन्ने मानसिकता युवाहरुमा बढेको अर्थमन्त्री महतले बताए। उनले युवा गएको र जान चाहेको देशमा भन्दा यहीँ ठूलो अवसर रहेको महतले बताए।

उनले विकसित भएको देशमा अवसरहरु कम रहेको भन्दै नेपालमा नै केही गर्छु भन्ने युवालाई अवसर रहेको बताए। उनले केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .