ad ad

कारोबार


पर्यटक नहुँदा सौराहामा हात्ती सफारी संकटमा, कति छन् नेपालमा हात्ती?

पर्यटक नहुँदा सौराहामा हात्ती सफारी संकटमा, कति छन् नेपालमा हात्ती?

नेपालखबर
भदौ ८, २०८० शुक्रबार ८:११, चितवन

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा। यहाँको चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन्। 

दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्नको लागि पर्यटक यहाँ आउन लालायित हुन्छन्। 

निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि वि.सं. २०४१ बाट हात्ती सफारी गर्न थालिएको हो। यहाँ हात्ती चढ्नकै लागि पनि पर्यटक आउने गर्दथे। तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए। 

कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकले मात्रै हात्ती सफारी गर्ने गरेको उनको भनाई छ। 

हात्ती सफारी गर्ने पर्यटक नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए। ‘विगतमा अधिकांश पर्यटक हात्तीको गतिविधि अवलोकन गर्न आउँथे। कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे,’ उनले भने, ‘तर हात्ती सफारी घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’

हात्ती सफारी घटेपछि यहाँका व्यवसायीले हात्ती थपेका छैनन्।  स्वदेशी पर्यटक पनि घट्दै छन्। अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि व्यवसायीले घटाएका हुन्। आफूले दुईवटा हात्ती घटाएर एउटा मात्र पाल्न थालेको गिरीले बताए।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो। तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन्। 

चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन्। कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो। 

कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउछन्। 

पाल्न नसकेपछि आफूले पनि दुईवटा हात्ती बेचेको उनले बताए। एउटा हात्ती पाल्न मासिक डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ। एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्छ। तर आम्दानी भने एक लाख पनि नहुने चापागाईंको भनाई छ।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे। तर पछिल्लो समय सौराहामा विगतजस्तो हात्तीको चाप छैन। 

विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन्। 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताए।

चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन्। त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन्। युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेका छन्। 

‘राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ,’ खतिवडाले भने।
 
चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको बताए। निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनको भनाई छ।
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताए। उनले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिए। 

निजीस्तरमा पालिएका हात्तीको संख्या एक सय ५० को हाराहारीमा रहेको उनले बताए। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको व्यवसायी बताउँछन्। 

विगतमा हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए। तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ।
 
हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ। यद्यपि व्यवसायीले ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्छन्। 

यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन्। नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .