ad ad

कारोबार


नेपाली वायुसेवाका लागि चिनियाँ आकाश खुला हुँदै

नेपाली वायुसेवाका लागि चिनियाँ आकाश खुला हुँदै

रमेश पोख्रेल
असार १३, २०७६ शुक्रबार १२:५६,

नेपाली वायु सेवा कम्पनीका जहाज चीनका सहरमा छिटै उड्ने भएका छन्। नेपाल र चीनका अधिकारीबीच यो विषयलाई अन्तिम रूप दिन श्रृंखलाबद्ध बैठकहरू सकारात्मक भएसँगै छिटै उडान अनुमतिको टुंगो लाग्ने भएको हो।

पर्यटन मन्त्रालय एवं नेपाल वायु सेवा निगम अधिकारीहरूका अनुसार एक महिनापछि नेपाल वायुसेवा निगमको जहाज चीनको ग्वान्झाउ उड्नेछ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने एवं निगमका सहायक प्रवक्ता नवराज कोइराला दुवै भन्छन्, 'सन् २००४ को दुई पक्षीय सम्झौताअनुसार नेपाली वायु सेवाका लागि चीनका सहरहरुमा व्यवसायिक उडान खुला हुँदैछ। पहिला चरणमा नेपाल वायु सेवा निगमले एक महिनाभित्रै उडान थाल्दैछ।'

नेपाल र चीनबीच सन् २००४ मा भएको दशबुँदे दुईपक्षीय हवाइ सेवा सम्झौता भएको थियो। १५ वर्षअघि भएको सम्झौतामा नेपालले चीनका बेइजिङ, छेन्दु, ग्वान्झाउ, सांघाई, ल्हासा, कुन्मिङ र सियानमा उडान भर्न पाउने उल्लेख छ।

सम्झौता भएको लामो अवधिसम्म पनि चीनले नेपाली हवाइ सेवा प्रदायकलाई अनुमति नदिँदा विभिन्न टिका टिप्पणी भइरहेका छन्। सन् २०१४ मा निगमले चीनसँग ग्वान्झाउका लागि उडान अनुमति मागेको थियो। त्यसपछि नेपाली पक्षले नै सो विषय अघि बढाएन। 

सहप्रवक्ता कोइरालाका अनुसार एक महिनाभित्र उडान भर्ने गरी हाल ‘एरोनटिकल अथोरिटी’को काम अन्तिम चरणमा पुगेको छ। नेपाली जहाजका लागि विमानस्थलमा एरोनटिकल अथोरिटी, स्लट र सुरक्षाका सबै प्रक्रिया सकिएपछि निगमका जहाजले चीनमा व्यावसायिक उडान भर्न पाउनेछन्। ग्वान्झाउमा उडान सुरु भएसँगै अन्य ६ वटा सहरमा पनि उडान अनुमति माग्ने निगमको तयारी छ।

व्यापारिक र पर्यटकीय महत्वका चिनियाँ सहरहरू बेइजिङ, सांघाई, ग्वान्झाउ र ल्हासालाई नेपालले उडानको पहिलो प्राथमिकतामा राखेको छ।

सहप्रवक्ता कोइरालाले नेपालखबरसँग भने, ‘आगामी सेक्टेम्बरदेखि व्यावसायिक रुपमा अन्य सहरमा समेत उडान गर्न पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’ यसका लागि नेपाल एयरलान्सले चिनियाँ पक्षलाइ आवश्यक काजगपत्र बुझाइ सकेको छ। चीनमा उडान ढिलाइ हुनुमा प्राविधिक कठिनाइ मुख्य कारण रहेको उनी बताउँछन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलेपनि निगमले एक महिनाभित्रै चीनको ग्वान्झाउ उडान सुरु गर्ने दाबी गर्छन्। नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले चीनमा उडान गर्न चाहेका छन् ।

सहसचिव लामिछानेका अनुसार ग्वान्झाउपछि सांघाईमा उडान गर्न नेपालले औपचारिक प्रस्ताव गरेको छ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा भारतीय छन्। दोस्रो स्थानमा चिनियाँ पर्यटक छन्। नेपाल आउने कुल पर्यटक संख्याको १४.४ प्रतिशत चिनियाँ पर्यटक नेपाल आउने गरेको पर्यटन विभागले जनाएको छ।

नेपाली वायुसेवाले चीनका सहरमा उडान नगरे पनि चिनियाँ वायुसेवाका उडान काठमाडाैंमा बाक्लै भइरहेका छन्। नेपालमा हाल चिनियाँ वायुसेवाले सातामा ७० वटा उडानसम्म गरिरहेका छन्। सम्झौतामा दुई देशले बराबर उडान गर्न पाउने उल्लेख भए पनि चिनियाँ कम्पनीले एकतर्फी उडान गरिरहेका छन् भने नेपाली कम्पनीलाई चीनमा उडान भर्न अनुमति दिइएको छैन।

१५ वर्षअघिको सम्झौताअनुसार नेपालले चिनियाँ सहरमा सातामा १४ उडान गर्न पाउँछ।

चीनका पाँचवटा एयरलाइन्सहरु चाइना साउदर्न, एयर चाइना, चाइना इस्टर्न, तिब्बत एयरलाइन्स, ड्रागन एयर (हङकङ) र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्दै आएका छन्। एयर चाइनाले सातामा तीनवटा काठमाडौँ– छेदुङ, दुईवटा काठमाडौँ–ल्हासामा उडान गरिरहेको छ। चाइना साउदर्नले क्वाङ्ची–काठमाडौँ सातामा नौवटा उडान गरिरहेको छ। चाइना इस्टर्नले कुन्मिङ–काठमाडौँ सातामा १४ वटा, सिचुवान एयरलाइन्सले छुदुङ–काठमाडौँ सातामा सात वटा उडान गरिरहेको छ।

चीनबाट एयर चाइनाले सातामा १ सय २७ र २ सय ८१ सिट क्षमताका जहाजबाट १० वटा, चाइना इस्टर्नले १ सय ३२ सिट क्षमताको जहाजबाट १४ वटा, चाइना साउदर्नले १ सय २० सिटदेखि २ सय ८६ सिट क्षमताका जहाजबाट उडान भर्दै आएको छ। त्यस्तै सिचुवान एयरलाइन्सले १ सय ३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा उडान भर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .