ad ad

कारोबार


अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस जारी छ : अर्थमन्त्री

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस जारी छ : अर्थमन्त्री

सेजनको अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महत। तस्बिर : रासस


रासस
भदौ १६, २०८० शनिबार १३:५९, काठमाडौँ

अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताएका हुन्। 

उनले केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे। 

‘अर्थतन्त्रमा केही समस्या आएका छन्। विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ’, अर्थमन्त्री डा महतले भने, ‘राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ, त्यहाँ सुधारका लागि निरन्तर रुपमा लागिपरेका छाैँ। केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ।’

पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उहाँले जानकारी दिए। राजस्व सङ्कलन अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा महतको भनाइ छ। 

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए। अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनले बताए। 

‘राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर नजानेर गर्न नसक्दा पनि समस्या आएका छन्’, अर्थमन्त्री डा महतले भने, ‘निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्याङ्कन गर्न आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .