त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा सहभागी हुन नेपाल आएकी बलिउड अभिनेत्री तथा लेखक दिव्या दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’मा पनि काम गरेकी छन्।
बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिइन्।
उनले भनिन्, ‘यहाँको भाषा एकदमै सुन्दर ढंगले बुझिरहेकी छु, घरमा आएको जस्तो लागिरहेको छ।’
यस्तो छ उनको भनाइ-
सबैभन्दा पहिले यो महोत्सवले मलाई यति धेरै माया दिएकोमा धेरै धन्यवाद! यहाँको भाषा एकदमै सुन्दर ढंगले बुझिरहेकी छु, घरमा आएको जस्तो लागिरहेको छ।
हामी सबैले बाल्यकादेखि नै सीतालाई सुन्दै आएका हौं। हाम्रो दिमागको कुनै कुनामा कुनै न कुनै रुपमा सीता गढेर बसेकी छन्। त्यो चाहे फिल्ममा होस् या साहित्यमा, या अन्य क्षेत्रमा।
म कलाकार भएकाले फिल्मको कुरा गर्छु। हरेक फिल्ममा सीताका सुन्दर पक्षका बारेमा लेखिएको, बोलिएको छ, देखाइएको छ। हाम्रो व्यक्तिगत जिन्दगीमा पनि यही पात्रहरु आइपुगेका छन्। त्यसैले सीता हामी नै हाैँ भन्दा फरक नपर्ला।
आशीर्वादमा समेत राम र सीताको जोडी आउँछन्। विवाहदेखि वनवाससम्म सीताले श्रीमान्लाई दिएको साथ र एक्लै बच्चालाई हुर्काउँदाको कथालाई हामीले आफूमा देख्छौं। तर यो यात्रा सजिलो भने छैन।
त्यो समय थियो, जहाँ हरेक सम्बन्धमा धीरता हुन्थ्यो। जेजस्ता समस्या आए पनि आफ्नो श्रीमान्को साथ छाड्न हुँदैन भन्ने थियो। तर अहिले पहिलेका जस्ता कुरा नभए पनि हामी त्यो सम्बन्धका बारेमा कुरा गर्छौं। राम, लक्ष्मण र हनुमानसँग सीताको सम्बन्ध अहिलेसम्म पनि चर्चामा हुनु सामान्य कुरा हैन।
अहिले कोही मानिस रामको चरित्रजस्तो देखिन्छ भने हाम्रा लागि ऊ हिरो हो। कोही मानिस सीताको चरित्रजस्तो देखिन्छ भने उनी हाम्रा लागि हिरोइन हुन्। जो महिलाको चरित्र बलियो छ, जतिधेरै समस्या आए पनि ऊ बलियोसँग उभिएको छ, मेरा लागि सीता उनै हुन्।
सीता मेरो बाल्यकालको यादमा पनि छिन्। म सानो छँदा स्कुलमा हुने नाटकका लागि सीता छनोट गरिन्थ्यो। कक्षाभरबाट एकजना केटी सीता बन्थिन्। सबै केटी साथीहरु उत्साहित हुन्थे। उनीहरु आफ्नो बेस्ट पर्फर्मेन्स दिन्थे।
मैले पनि सीता बन्ने राम्रो कोसिस गरें त्यो समयमा। तर त्यो भूमिका मिलेन। मनमा भने सधैं यो चरित्र गढेर बसिरहेको छ। कोभिड १९ पछि मानिसहरु आफ्नो मिथोलोजीमा जान थालेका छन्। अहिले मैले चारवटा फिल्म साइन गरेकी छु, जसमा तीनवटा त पिरियोडिक मात्रै छन्। मानिसहरु प्रविधि छाडेर पुराना कुराहरुमा रमाउन थालेका छन्।
अब मलाई कसैले सीताको भूमिका दिन्छ भने म बच्चा बेलादेखि सुन्दै आएको सीतालाई नै ध्यानमा राख्छु होला।
महिलाहरुमा एउटा सुन्दर क्षमता हुन्छ। जस्तोसुकै चुनौती स्वीकार गरेर त्यसैसँग लड्ने जित्ने। हाम्रा हजुरआमाहरुको कथामा सुनेका उनै बहादुर सीता नै मेरो पात्र बन्न सक्लिन्।
महिला सशक्तीकरणका बारेमा भारतमा धेरै फिल्म बन्न थालेका छन्। ओटीटी प्ल्याटफर्मलाई म धन्यवाद दिन चाहन्छु। पहिले महिला- कि हिरोइन थिइन् कि आमा। तर ओटीटीका कारण अहिले महिलाले थरीथरीका प्रयोग गर्न पाएका छन्। दर्शक पनि यसका लागि तयार छन्। समाज कहीँ न कहीँ परिवर्तन भइरहेको छ।
त्यस्तै किताब लेख्ने महिला लेखकहरु पनि आइरहेका छन्। मेरो सधैंको प्रिय लेखक अमृता प्रितम हो। उनको कविता होस्, या अन्य साहित्य पढ्दा सबै पुरुषहरुलाई काउन्टर दिइरहेको जस्तो लाग्छ।
जब मैले ९० को दशकतिर फिल्म सुरु गरेकी थिएँ जता, जुनसुकै क्षेत्रमा पनि घरबाट निस्केर काम गर्नेमा पुरुष मात्रै हुन्थे। पुरुष क्यामरामेन, पुरुष निर्देशक, नायक, खलनायकदेखि पर्दा पछाडि प्राविधिकहरु सबै पुरुषहरु मात्रै। तर खै कसरी, मैले यादै नगरेर अहिले सेटमा महिलाहरु देखिन्छन्। डीओपी पनि महिला, ड्रेस डिजाइनर महिला, मेकअप आर्टिस्ट महिला, सेट डिजाइनर महिला, एसिस्टेन्ट डिरेक्टर, डिरेक्टर महिला। एक/दुईजना केटा उभिइरहेका हुन्छन्। हामीले खोजेको समानता हो। जय सिया राम हो। सिया मात्रै हैन। यहाँ पनि केही गडबड भइरहेको हो कि भन्ने लाग्छ।
केही समय लाग्न सक्छ, बिस्तारै सबै ठीक हुन्छ।
Shares
प्रतिक्रिया