ad ad

कारोबार


नाडा अटो शो : पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन (भिडिओ)

नाडा अटो शो : पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन (भिडिओ)

नेपालखबर
भदौ ३०, २०८० शनिबार १८:३४, काठमाडौँ

मंगलबारदेखि काठमाडौंमा जारी नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ।

आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको भीडभाड उत्साहप्रद रूपमा बढेको छ। अटो शोको पाँचांै दिन आज शनिवार सम्ममा ५० हजार हजार भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले जानकारी दिए। 

उनले तीनवर्ष पछि अटो शो भएपनि अवलोकन र खरिद कर्ताहरुको उपस्थिति उत्साहजनक रहेको बताए। उनले सवारी साधनहरूमा पनि पछिल्लो समय विद्युतीय गाडीमा मानिसहरुको आकर्षण देखिएको बताए। 

उनले विशेष गरी नयाँ  र पुराना विद्युतीय सवारी साधनहरुमा मानिसहरुको बढी माग र आकर्षण साथै कारोबार पनि राम्रो रहेको दाबी गरे। उनले विद्युतीय सवारी साधनमा देखिएको मानिसहरूको भिडले विद्युतीय सवारी साधनमा विश्वास बढेको देखिएको उल्लेख गरे। संयोजक बरालले अटो शोमा दुई र चारपाङग्रे सवारी साधनहरुको बुकिङ र भएको चहलपहलले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने बताए। 

उनले अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको आकर्षण हेर्दा अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने देखिएको उल्लेख गरे। उनले दुई दिनमा २० हजारसम्म अवलोकनकर्ता आएमा ७० हजार अवलोकन गराउने उद्देश्य पूरा हुने भन्दै कारोबार पनि अपेक्षा अनुसार हुने विश्वास रहेको बताए। उनले अटो शोले अर्थतन्त्र र अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने काम गरेको बताए।

सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले तीन वर्षपछि अटो शो भएकाले अवलोकन कर्ताहरुको भीडभाड धेरै रहेको बताए। उनले अटो शोमा सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेर्न पाउने भएकाले पनि मानिसहरुको भीड लाग्ने गरेको पनि बताए। उनले सवारी साधन खरिद गर्ने र बेच्ने दुवैको लागि अटो शो राम्रो प्लेटर्फम भएको बताए। 

निर्देशक गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा मन्दीको अवस्था भएकाले बिक्रि राम्रो भएपनि विद्युतीय सवारी साधनमा आकर्षण देखिएको बताए। उनले विद्युतीय सवारी साधनमा आकर्षण देखिएकाले माग र बुकिङ राम्रो रहेको उल्लेख गरे।

त्यस्तै, बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कका मार्केटिङ प्रमुख आशुतोष गौतमले विद्युतीय गाडीको माग राम्रो रहेको बताए। उनले बीवाईडी विद्युतीय सवारी साधन उत्पादन कम्पनी भएकाले पनि प्रदर्शनीमा राखिएको न्यून बीवाईडी सेल र डल्फिनको माग उच्च रुपमा आएको बताए। 

उनले बीवाईडी कम्पनीको विद्युतीय गाडी अटो शो भन्दा अगाडि ५०० बुकिङ भएकोमा अटो शो शुरु भएपश्चात पाँच दिनमा ३०० बढी बुकिङ भएको बताए। 

त्यस्तै ,अटो शो अवलोकनकर्ता डा.भोजराज घिमिरेले अटो प्रदर्शनीमा भिडभाड भए रहेको तर स्टल राख्ने कम्पनीहरुले अनुभवी र कम्पनीको गाडीको विशेषताको विषयमा ज्ञान नभएको पाएको बताए। उनले अनुभवी एक दुई जना भएपनि ग्राहकहरुलाई डिल गर्न व्यस्त रहने देखिएकाले राम्रो ब्राण्डको कम्पनीको फिचर्सको विषयमा सही जानकारी लिन समस्या रहेको पनि बताए। 

उनले सवारी साधन हेर्न आउने ग्राहकलाई गाडीको विशेषता भन्ने भन्दा पनि नम्बर टिप्नेमा बढी प्राथमिकता दिएको पाएको बताए। नेपालको अर्थतन्त्रमा समस्या भएपनि मानिसहरुको व्यवहारमा परिर्वतन भएको भन्दै दुई पाङ्ग्रे बाट चार पाङ्ग्रे परिवर्तन गर्ने अवस्थामा रहेको उनको भनाइ छ। 

पेट्रोलको मूल्य उच्च हुँदै गएकाले पछिल्लो समय मानिसहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको देखिएको छ।

अटो शोसँगै अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको बैंकहरुले बताएका छन्। बैंकहरूले अवलोकनकर्ता ग्राहकहरूको रुचि पेट्रोलियम गाडीमा भन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएकाले अटो लोन पनि विद्युतीय सवारी साधनका लागि बढी आइरहेको छ।

नाडा अटो शो भदौ ३१ गतेसम्म जारी रहनेछ।

भिडिओः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .