ad ad

कारोबार


ओलीको आरोप : सरकार तस्करीको लाइन चलाएर बसेको छ, अर्थतन्त्र उठ्नै नसक्ने भइसक्यो

ओलीको आरोप : सरकार तस्करीको लाइन चलाएर बसेको छ, अर्थतन्त्र उठ्नै नसक्ने भइसक्यो

उद्योगीहरुसँग एमाले अध्यक्ष केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असोज ९, २०८० मंगलबार १८:५०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन्। 

नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कदम चाल्ने भन्दा सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो। 

मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउनेबाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताए। 

नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकार कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्नेतर्फ नै नरहेको ओलीले बताए। 

उनले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ को निर्वाचनसम्म पर्खिँदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने चिन्ता लागेको बताए। 

मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी गरे। 

‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन। सिटामोल खाएर काम लाग्ने स्थिति छैन। यो रोग हट्दैन। एकछिनको ज्वरो पनि हटने स्थिति छैन। यसको खास उपचार नगर्ने हो भने अब जरैदेखि रोग लागेको छ’, उनले भने, ‘जरादेखि रोग लागेको छ भने त्यसको उपचार त्यसैगरी हुनुपर्छ। कतिपयलाई लाग्छ सक्छ यो अभिव्यक्तिले एमालेलाई सरकार जान हतार भएछ? हतार होइन। एमालेलाई सरकारतर्फ वास्ता छैन, चिन्ता पनि छैन। हामी मिशन २०८४ मा लागेका छौँ। चुनावकै हिसावले, सरकारकै हिसावले भन्नुहुन्छ भने मिशन २०८४ मा  छौँ। तर हामी के देखिरहेका छौँ भने २०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग भन्ने चिज रहन्छ? रहँदैन। सेयर बजारको पनि रहन्छ कि रहँदैन? यहाँ बाहिरका प्लेन आउँछन कि आउँदैनन? हाम्रा प्लेन बाहिर जान्छन् कि जाँदैनन्? पर्यटनको अवस्था त्यस्तै छ।’ 

उनले आधुनिकीकरणतर्फ जान, मुद्रा सबल हुन अर्थतन्त्र बलियो हुनुपर्ने बताए।

‘निर्यातका लागि उत्पादन बढनुपर्ने, हरेक परिवारको घाटा बजेट नहोस्। त्यसका निम्ति उत्पादन बढनुपर्ने। उत्पादन बढाउनेबाहेक अर्को कुनै उपाय छैन। अहिलेको अवस्थामा सरकार कसरी टिकाउने? यसैमा ध्यान छ। त्यसकारण हामी यो छलफल आयोजना गरिरहेका छौँ’, उनले भने, ‘म प्रधानमन्त्री हुँदा यस्ता कार्यक्रम उद्यमी, व्यवसायीका संघ, संस्थादेखि लिएर उद्योगी, व्यवसायीहरुसँग पटकपटक गरेको छु। उद्यमी, व्यवसायीले आफ्ना क्षेत्रका कस्ता काम, कस्ता नियम बनाउनु पर्छ, मस्यौदा गरेर ल्याउनुस्, त्यो कुनै संविधानविपरीत छैन भने। त्यस्तो कुरालाई बाहेक राखेर अरु कुरामा तपाईंका ड्राफ्टहरु संसदमा लगेर पारित गराएर अघि बढाउँछु। मैले तपाईहरुसँग भनेको छु।’ 

उनले २०७६ सालमा अर्थतन्त्र ७ दशमलव १ प्रतिशतमा पुगेको पनि स्मरण गराए।

‘म प्रधानमन्त्री हुँदा नौ लाख मानिसहरुको जीवनमा परिवर्तन आएको थियो। निरपेक्ष गरिवीको रेखामुनिबाट माथि उठेका थिए। बाहिर जाने श्रमशक्ति १८ प्रतिशत घटेको थियो। यही मान्छेहरु आफ्नो व्यवसाय गर्न थालेका थिए। रेमिट्यान्स बढेको थियो। यस्ता थुप्रै काम हामीले गरेका थियौँ’, उनले भने, ‘अब म साथीहरुलाई के भन्न चाहन्छु भने हामी सरकारसँग पनि छलफल गर्छौं। राष्ट्र बैंकसँग पनि कुरा गर्छौं। राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी बनाउने होइन। उद्यमका, विकासका सहयोगी संस्थाका रुपमा विकास गरेर परिचालन गर्नु पर्छ।’ 

बैंकहरुले उचित व्याजदरमा लगानी गर्नुपर्ने उनको तर्क थियो।  

‘उचित ब्याजदरमा घटाउनु पर्छ। १५ प्रतिशत ब्याजमा ऋण लिएर तीन तीन महिनामा मिटरब्याजी, त्यति चर्को ब्याजमा पैसा लिएर कुनै काम कसैले सुरु गर्‍यो भने के प्रतिफल आउँछ?’, उनले सोधे, ‘पाँच वर्षसम्म काम गर्नु पर्छ। त्यतिबेलासम्म तिर्नै नसक्ने गरी ढाड सेकाइएको हुन्छ। उत्पादन सुरु नै भएको हुँदैन। उत्पादन नभई रिटर्न कहाँबाट गर्छ? त्यस्ता कुरा व्यवहारिक ढंगले लैजानु पर्दछ। सरकारमा जनतालाई बुझ्ने प्रतिवद्धता छैन। चिल चिल भन्दै गर्ने, यतापट्टै कुखुरा चोर्दै गर्ने प्रवृत्तिबाट, भ्रष्टाचार कसैको पनि भए सहन्न भनेर यतातिर उफ्रियो, यतातिर तस्करीको लाइन चलाएर बस्यो। यो तरिकाबाट अर्थतन्त्र कसरी सवल हुनसक्छ देश?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .