ad ad

कारोबार


मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग पूर्वअर्थमन्त्री पुनको माग

मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग पूर्वअर्थमन्त्री पुनको माग

फाइल फाेटाे


नेपालखबर
असोज २५, २०८० बिहिबार १९:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिनिसभामा बिहीबार विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अनत्यका लागि विज्ञसहित सम्बद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। व्यवसायीहरुमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरुमा रकम थुप्रिएर बसेको उनले बताए।

पूर्वअर्थमन्त्रीसेमत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए।

‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ।  मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ। बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रुपमा अर्थतन्त्र चलायनमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ। निजी क्षेत्रसहित सरोकारवाला सबैको सुभाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ।’

उनले दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिए पनि विगतका वर्षहरुमा जस्तो आयात नहुनुको कारण खोज्न सरकारलाई आग्रह गरे। सेयर बजार र घरजग्गाको कारोबारमा सुस्तता आएको, साना लगानीकर्ता टाट पल्टिएको र ठूला लगानीकर्ता पनि समस्यामा परेको उनले बताए।

चाडपर्वमा कालोबजारी र अभाव रोक्न र सहज रुपमा उपभोग्य सामान पाउने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराए। 
उनले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका सीप र धन नेपालको विकासमा लगाउन नीतिहरुमा आवश्यक लचकता अपनाउन जरुरी रहेकामा जोड दिए।

संविधानको व्यवस्थाअनुसार हालै जारी भएको नागरिकता विधेयकले गैरआवासीय नागरिकताको व्यवस्था गरेको भए पनि व्यावहारिक जटिलता देखिएकाले त्यसमा सरकारको ध्यान जर्नुपर्ने उल्लेख गरे।

‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यताअन्तर्गत राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्थाले संसारभर छरिएका नेपालीलाई नेपालका लगानीको वातावरण बनाएको बताए।

‘गैरआवासीय  नेपालीले नेपालमा लगानी गरिहेका छन्। थप लगानी गर्न चाहेका छन्’, उनले भने, ‘अमेरिकासहित केही देश र नेपालको करसम्बन्धी व्यवस्थामा मेल नखाएका कारण दोहोरो कर तिर्नुपर्ने अवस्था छ।’

पुनले अगाडि भने, ‘ती देशसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएकामा आफू र आफ्नो दलका तर्फबाट उनले दुःख व्यक्त गरे। सरकारले घटनालगत्तै राष्ट्रिय शोक घोषणा गरेको, सर्वदलीय बैठक बोलाएर संकटको घडीमा सबै रानजीतिक दल र सिंगो मुलुक एक ढिक्का रहेको सन्देश दिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए।

सरकारले युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराइसकेको र नेपाल ल्याउन परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाएको भन्दै सरकारले प्रशंसा गरे।

‘सम्मानीय प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुभयो। दुःखको यो अवस्थामा सरकारलाई सहयोग गर्ने र सरकासँग सबै दल र राष्ट्र नै सँगै उभिएको अवस्था छ। यो सकारात्मक पक्ष हो’, उनले भने।

इजरायलमा रहेका थप नेपालीको सुरक्षा र इच्छुकहरुको नेपाल फिर्ती सहज बनाउन पुनले माग गरे। संसारकै सबैभन्दा बलियो हवाई सुरक्षा तथा बलियो सेना र प्रभावकारी गुप्तचर भएको इजरायलमा भएको आक्रमणलाई सामान्य रुपमा लिन नहुने पुनले बताए।

युद्धको अवस्थामा रहेको देशमा भएका नागरिकको सुरक्षा गर्नु र सुरक्षित देश फिर्तीको वातावरण बनाउनु चुनौतीपूर्ण भए पनि सरकारले आफ्नो दक्षता प्रदर्शन गरेकामा धन्यवाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .