ad ad

कारोबार


व्यवसायी भन्छन् : घरजग्गाको मूल्य घट्दैन, अब बढ्दै जान्छ

व्यवसायी भन्छन् : घरजग्गाको मूल्य घट्दैन, अब बढ्दै जान्छ

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १४:३७, काठमाडौँ

रियल स्टेट व्यवसायीले घरजग्गाको मूल्य अब नघट्ने बताएका छन्। पछिल्लो वर्ष कारोबार ठप्प हुँदा केही व्यवसायीले मूल्य घटाएर बेचेपनि अब मूल्य बढ्ने बताएका हुन्।

सरकारले कित्ताकाटमा खुकुलो गरेसँगै घरजग्गा कारोबार बढेको व्यवसायीले बताएका छन्।

सरकारले भू–उपयोग नियमावली जारी गरी वर्गीकरण नगरिएको जग्गा कित्ताकाट रोक्का गरेको थियो। नियमावली संशोधन गर्दै कित्ताकाटलाई खुकुलो गरेसँगै कारोबारको संख्या बढेको छ। असोजमा करिब ४० हजार लिखित पारित भएका छन्।

‘घरजग्गा कारोबार बढी सकेको छ। मन्दीको अवस्थामा छैन,’ आईएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्राले भने,‘केही ग्राहाक मूल्य घट्छ भनी कुरेर बसेका छन्। तर बजार चलायमान हुन थालेकाले अब मूल्य बढ्दै जान्छ।’

नेपाल जग्गा तथा आवास विकास संघले पुसमा घरजग्गा एक्स्पो सञ्चालन गर्दै छ। संघले कारोबार बढेको भन्दै ३ वर्षपछि एक्स्पो सञ्चालन गरेको हो।  २०७७ मा कोभिड महामारीको कारण एक्स्पो हुन सकेको थिएन भने २०७८ र ०७९ मा घरजग्गा व्यापारमा मन्दीको कारण एक्स्पो हुन नसकेको बताएका छन्।

गाडी व्यवसायीले अटो एक्स्पो गरेसँगै कारोबार बढेपछि अन्य व्यवसायी पनि एक्स्पो गर्न अघि बढेका छन्। कोभिड महामारी लगत्तै बढेको अटो बजार पछिल्लो २ वर्ष खस्किएको थियो। तर अहिले चाडपर्व सुरु भएसँगै कारोबार बढेको छ।

घरजग्गा व्यवसायीले रियल स्टेट क्षेत्रलाई थप चलायमान बनाउन एक्स्पोले सहयोग पुग्ने बताएका छन्। जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले एक्स्पोमा नयाँ प्रोडक्ट राखिने भएकाले घरजग्गा कारोबार बढ्ने बताएका छन्।

‘एक्स्पोमा राख्नका लागि पुराना प्रोडक्ट अब व्यवसायीसँग छैनन्,’ श्रेष्ठले भने, ‘अब नयाँ प्रोडक्ट ल्याएरै एक्स्पोमा उपस्थित हुन्छन्।’

उनका अनुसार व्यवसायीहरु नयाँ हाउजिङ र अपार्टमेन्ट ल्याउने तयारीमा रहेका छन्। आठौं रियल इस्टेट एक्स्पो पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए तापनि यसले रियल इस्टेट क्षेत्रका व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुनेछ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन्।

‘घरजग्गा व्यवसाय चलायमान नहुँदा सबै उद्योग प्रवावित भएका छन्,’ जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले भने,‘एक्स्पोले घरजग्गाको कारोबारसँगै समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउन सहयोग पुग्छ।’

राष्ट्र बैंकले रियल स्टेट क्षेत्रमा जाने कर्जाको जोखिम भारलाई केही सहज बनाएसँगै कर्जा प्रवाह समेत बढ्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .