तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन्। राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन्।
बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका-९, भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमै कुहिन थालेको बताए। दैनिक सात/आठ जनालाई रोजगारी दिएका उनले ६ बिघा जग्गा भाडामा लिएर २० वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। प्रतिकिलो ५० रुपैयाँसम्ममा बेच्दै आएको काँक्रो एक्कासी भाउ घटेर प्रतिकिलो रु.५ पुगेपछि टिप्नै छाडेको उनी बताउँछन्।
‘१५/२० क्विन्टल काँक्रो बारीमै नटिपेर कुहिन सुरु गरेको छ’, मियाँले भने, ‘बजारको कुनै टुङ्गो नै छैन।’ भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ।
‘मान्छेले सबैभन्दा सजिलो तरकारी खेती हो भने पनि खेती गर्दाको लगानी, दुःख, कठिनाइ धेरै हुन्छ। जुन अरु खेतीमा छैन’, मियाँले भन्छन्।
काँक्रो मात्र होइन मियाँको बारीमा काउली पनि कुहिन थालेको छ। काउलीको मूल्य प्रतिकिलो रु.१० पनि नपाएकाले बारीमै कुहिन थालेको उनी बताउँछन्।
‘उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो रु.३० सम्म पर्न गए पनि हामीले बेच्दा घाटा खाएर बेच्नुपरेको छ’, मियाँले भने, ‘किसानले प्रतिकेजी मूल्य रु.२० मात्रै पाउने हो भने पनि लगानी उठ्न सक्छ र बारीमा तरकारी कुहिँदैन।’
सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समय-समयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारणले किसान समस्यामा परेका मियाँ बताउँछन्। उनी भन्छन्, ‘तरकारी खेतीमा निकै समस्या छ। जग्गाको भाडा बुझाउन नसक्दा जग्गासमेत छाड्नुपर्ने बाध्यता छ।’
मियाँ मात्र होइन, यो समस्यामा अरू किसन पनि उसैगरी गुज्रिएका छन्। पश्चिम चितवनस्थित अृमतनगरका हेमराज आचार्यले आफ्नो बारीमा उत्पादन भएका काँक्रा, फर्सी, सिमी र मूला बिक्री नभएको बताए। ‘एक बिघामा काँक्रा र फर्सी उत्पादन गरेको छु। अहिले प्रतिकिलो रु.५ मा पनि बिक्दैन’, आचार्यले भने, ‘उत्पादन गरेर बारीमा नै कुहाएर फाल्नुपर्छ।’ आचार्यले व्यावसायिक रूपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो। जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गरेका उनले यस वर्ष फर्सी नबिकेर लगानी पूरै खेर गएको बताए।
‘दश कट्ठामा लगाएको फर्सी खेतीका लागि रु.६० हजार लगानी भएको थियो। यस वर्ष उत्पादन पनि राम्रो छ। उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्’, आचार्य भन्छन्, ‘फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा, जे लगाए पनि घाटा, अब विदेश जानुपर्ने अवस्था आएको छ।’ फर्सीको प्याकेजिङ गर्दा मात्रै प्रतिकेजी रु.१० लागत लाग्ने गरेको उनले बताए।
दसैमा काँक्रोको मूल्य राम्रै थियो। त्यसपछि ओरालो लागेको काँक्रो अहिले प्रतिकेजी रु.४ मा झरेको भन्दै यसले किसानको लगानी नउठ्ने आचार्यले दु:खेसो पोखे। उनको दश कट्ठाको बारीमा काँक्रा छ।
अमृतनगरकै अमृत रानाभाटले तीन बिघामा तरकारी खेती गरेका छन्। यतिखेर काँक्रो, फर्सी, मुला, क्यापसिकन, सिमी निस्किएका छन्। बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताए।
‘सिमी प्रतिकेजी रु.१० मा पनि लैजान कठिन छ। त्यतिले त टिप्ने बेलाका खेतलाको खर्च पनि उठ्दैन। काँक्रा र फर्सी त अझ ५ मा पनि बिक्री हुँदैन’, रानाभाटले भने, ‘बारीमा उत्पादन भएका वस्तु बारीमै कुहिन नदेऊ, पैसाको हिसाब पछि गरौँला बारीमा नराख्देऊ भनेर जिउजिउ गर्दा पनि व्यापारीले लिँदैनन्।’ बुवाको प्रेरणाले विसं २०६५ देखि व्यावसायिक तरकारी खेतीमा लागेका रानाभाट खेतलाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा छन्।
चितवन तरकारी खेतीका रूपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका बजारमा जाने गर्दछ। यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली र बन्दा उत्पादन गरेका छन्।
काँक्रो, फर्सी, मुला, सिमीलगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भुसालले बताए। ‘पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्रसमेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ’, भुसालले भने, ‘फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गइरहेको छ।’
५ टनको हाराहारीमा प्रतिकेजी रु.५ मा व्यापारीले फर्सी उठाएको भुसालले जानकारी दिए। रु.५ मा बेच्दा किसानलाई प्रतिकेजी तीन रुपैयाँभन्दा बढी घाटा लाग्ने उनको भनाइ छ। रासस
Shares
प्रतिक्रिया