सरकारले टिकटक प्रतिबन्ध गरेसँगै अरू सामाजिक सञ्जालको पनि नियमन गर्न अध्ययन गर्दैछ। सामाजिक विकृति निम्त्याएको भन्दै टिकटकमा प्रतिबन्ध गरेपछि सरकारले अन्य एपको विषयमा पनि अध्ययन गरिरहेको हो।
प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले टिकटकमा प्रतिबन्ध प्राविधिक कारणले भन्दा सामाजिक विकृतिको कारणले गरिएको बताए।
‘आईटी प्रोफेसनलले त नयाँ प्रविधिलाई प्रवर्धन गर्नुपर्छ भन्ने नै हो तर प्रविधिको आँखाले हेरेर मात्रै भएन, सामाजिक रूपमा हेर्दा नियन्त्रण गर्नैपर्ने देखियो,’ रायमाझीले भने।
नेपालमा १४ वर्षसम्मका बालबालिका करिब २९ प्रतिशत रहेका छन्। टिकटकमा आएका सामग्री बालबालिकालाई अप्ठेरो पर्ने खालका भए पनि नियन्त्रण गर्न नसकिएको उनले बताए।
‘टिकटकका सामग्रीले बालबालिकालाई धेरै असर गरेको सरकारी अध्ययनले देखायो,’ उनले भने, ‘सामाजिक सञ्जालमा सामग्री राख्नेले जे पायो त्यही राख्दा नियमन गर्न सकिएन।’
टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई अश्लील सामग्री हटाउने पहुँच दिए पनि प्राधिकरणले सकेन। अंग्रेजी भाषाका त्यस्ता सामग्री हटाए पनि नेपाली भाषाका सामग्री स्वचालित रूपमा हटाउन सक्ने प्रणाली नहुँदा समस्या रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
टिकटक प्रतिबन्ध सधैंका लागि भन्दा पनि नियन्त्रण गर्न सक्ने क्षमता नहुँदासम्म बन्द हुने आईटी विज्ञ रायमाझीले बताए।
प्रधानमन्त्री कार्यालयले समाज र बालबालिकामा नकारात्मक प्रभाव पारिरहेका एपको विषयमा समेत अध्ययन गरिरहेको छ।
‘हामीले कुन–कुन एप्लिकेसन रहेछन्, कस्तो वर्गले यसको प्रयोग गरिरहेका छन्, रिसर्च गर्न थालेको हो,’ उनले भने, ‘सरकार अभिभावकीय सोचले काम गरिरहेको छ।’
सरकारले बिगोलाइभ, लाइकी, टिन्डर, टेलिग्राम, स्नापच्याटको विषयमा अध्ययन गरिरहेको छ। यी एपलाई अहिले नै प्रतिबन्ध लगाउन थालेको नभई, प्रयोगका विषय हेर्न थालेको प्रधानमन्त्री कार्यालयले बताए।
यी एपबाट आर्थिक अपराध हुने, कतिपयको घरबार बिग्रने भइरहेकाले सरकार अग्रसर भएको हो। विषयविज्ञबाट डेटा केलाएर कस्तो सन्देश दिइएको छ प्रधानमन्त्रीलाई नै रिपोर्ट बुझाउने रायमाझीले बताए।
‘सरकारले नयाँ प्रविधिलाई प्रोत्साहन गर्नुपर्छ। आईटी क्षेत्रबाट सरकारले राम्रै आम्दानी गरिरहेको पनि छ,’ रायमाझीले भने, ‘तर आईटीकै प्रयोगबाट समाज छाडा हुँदा अभिभावकको रूपमा सरकार चुप लागेर बस्न मिलेन नि!’
भिडिओ
प्रतिक्रिया