ad ad

कारोबार


उखुको उचित मूल्य माग गर्दै सर्लाहीका किसान सडकमै सुते

उखुको उचित मूल्य माग गर्दै सर्लाहीका किसान सडकमै सुते

नेपालखबर
पुस २, २०८० सोमबार २०:१५, सर्लाही

उखुको मूल्य वृद्धिसहितका विभिन्न माग राखेर चरणवद्ध सडक संघर्ष गर्दै आएका सर्लाहीका किसानले सोमबार सडकमै सुतेर सरकारको विरोध गरेका छन्।

सोमबार दिउँसो इन्दु शंकर चिनी उद्योग नजिकै हरिवनस्थित पूर्वपश्चिम राजमार्गमा सुतेर किसानले उद्योगी र सरकारविरुद्ध नाराबाजी गरेका हुन्।

चिनीको बिक्री मूल्य र उखुको उत्पादन लागतको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गरिनुपर्ने, गत वर्ष बेचेको उखुको सरकारले दिन बाँकी अनुदान बापतको रकम तुरुन्त भुक्तानी दिनुपर्नेसहितका माग राखेर सर्लाहीका किसान दुई सातादेखि आन्दोलनमा छन्। 

गएको शुक्रबार हरिवनमा वृहत प्रदर्शन गरेका उखु किसानले आइतबार हरिवनमा प्रतिकात्मक रुपमा कृषिमन्त्री र अर्थमन्त्रीको कुर्सी जलाएर विरोध गरेका थिए। 

आज किसानले पूर्वपश्चिम राजमार्गमा सुतेर सरकार र उद्योगीलाई खबरदारी गरेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए।

उखु किसानको आन्दोलनलाई समर्थन गर्दै मधेस प्रदेशका सांसद जवाहरलाल कुशवाह, पूर्वसांसद डिल्लिप्रसाद उप्रेतीसहितका नेताले पनि सडकमै सुतेर सरकारको विरोध गरेका छन्।

नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिति लगायतका संगठनले उखुको मूल्यवृद्धिको माग गर्दै संयुक्त रुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्दै आएका छन्। 

किसान आन्दोलनको कारण हरिवनस्थित इन्दु शंकर चिनी उद्योग सञ्चालनमा आउन सकेको छैन।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ कायम गरेको थियो। जसमा सरकारले किसानलाई अनुदान बापत दिने भनिएको प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको छ। 

तर, सरकारले दिने भनेको अनुदानको ७० रुपैयाँ देशका अधिकांश किसानले अझै पाएका छैनन्। सर्लाहीका किसानको झण्डै २९ करोड रुपैयाँ अनुदानको रकम बाँकी छ। जुन रकम अर्थ मन्त्रालयले अझै पठाएको छैन। 

गएको मंसिर १७ गते कृषि मन्त्रालयमा उखुको मूल्य निर्धारणको लागि उद्योगी र किसानबीच वार्ता भएको थियो।  

उक्त वार्तामा सरकारको तर्फबाट यस वर्षको लागि उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल ११ रुपैयाँ बढाउन प्रस्ताव भएको थियो। तर, किसान प्रतिनिधिले सरकारले प्रस्ताव गरेको मूल्य अस्वीकार गरेर आन्दोलन अघि बढाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .