ad ad

कारोबार


अब ढिक्के सुन निक्षेपमा बैंकबाट ब्याज पाइने, गहनामा नपाइने

अब ढिक्के सुन निक्षेपमा बैंकबाट ब्याज पाइने, गहनामा नपाइने

दीपक भट्ट
माघ २२, २०७६ बुधबार ६:१२,

सुनलाई निक्षेपको रुपमा बैंकमा राख्ने गरी सरकारले अपनाएको नीतिअनुसार नेपाल राष्ट्र बैंक अघि बढेको छ। राष्ट्र बैंकले कार्यदल नै गठन गरेर सुन निक्षेपको निर्देशिका तयार पारेको हो।

आगामी हप्ता राष्ट्र बैंकले उक्त निर्देशिका सार्वजनिक गर्ने तयारी गरेको छ। निर्देशिकाअनुसार गहनालाई निक्षेपको रुपमा राख्न नसकिने देखिएको छ। हाललाई ढिक्के सुनलाई मात्रै बैंकमा निक्षेपको रुपमा राखेर ब्याज लिनसक्ने गरी राष्ट्र बैंकले निर्देशिका निर्माण गरेको हो। बैंकमा राखिएकै सुन पछि पाइँदैन तर उक्त सुनबराबरको अर्को सुन ग्राहकले पाउनेछन्। त्यसकारण गहनालाई निक्षेपको रुपमा राख्न नसकिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन्।

निक्षेपको रुपमा राखिने सुनको शुद्धता मापन भने हुने भएको छ। शुद्ध सुनलाई मात्रै निक्षेपको रुपमा बैंकमा राख्न सकिने निर्देशिकामा उल्लेख छ। निक्षेप राख्नुअघि त्यसको मापन अनिवार्य गरिने गरी निर्देशिका निर्माण भएको छ। त्यसको मापन गर्ने मेसिन भने नेपालमा नै छैन। सुन निक्षेपको प्रक्रिया सुरु गर्नुअघि यस्तो प्रकारको मेसिन भने खरिद गरिनुपर्ने हुन्छ। निजी बैंकहरुले पनि सुन निक्षेपको योजनामा सहभागी जनाउन चाहेमा उनीहरुलाई पनि शुद्धता मापन गर्ने मेसिन अनिवार्य गरिनेछ।

सुनको ब्याज भने बैंकहरुले दिने ब्याज योजनाअनुसार नै हुनेछ। सुन निक्षेपको योजना सरकारले ल्याउने भन्दै चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएको थियो। दुई महिना बसेको उच्चस्तरीय व्यवस्थापन समूह बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेटमा उल्लेख भएको सुन निक्षेपको विषयमा ताकेता गरेका थिए। उनले नेपालमा मेसिन खरिद गरिनुपर्ने प्रक्रिया अघि बढाउन र त्यसको प्रक्रिया मिलाउन राष्ट्र बैंकले निर्देशन समेत दिएको थियो। सोहीअनुसार राष्ट्र बैंक अघि बढेको हो।

भारतमा अप्रभावकारी : कार्यकारी निर्देशक
सुन निक्षेपको योजना अभ्यास भारतमा पनि भइसकेको छ तर त्यो प्रभावकारी भने हुन नसकेको देखिएको कार्यकारी निर्देशक ढकाल बताउँछन्।

सुन साटिने भएकोले गहना राख्न नसकिने ढिक्के सुन सर्वसाधारणसँग कम हुने भएकोले त्यसको प्रभावकारिता कम हुनसक्ने आँकलन गर्न सकिन्छ। तर पनि नेपालमा प्रयोग आइसकेपछि मात्रै त्यसको समीक्षा गर्नसक्ने उनी बताउँछन्।

नेपालमा हुने लगानीयोग्य रकमको अभावलाई केही सहज पार्न सरकारले यो योजना ल्याएको थियो। चालू आर्थिक वर्षमा भने तरलताको अभाव जटिल रुपमा देखा परेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .