ad ad

कारोबार


६ महिनामा २२ अर्ब रुपैयाँको एफडीआई प्रतिबद्धता, २२६ विदेशी लगानी स्वीकृत

६ महिनामा २२ अर्ब रुपैयाँको एफडीआई प्रतिबद्धता, २२६ विदेशी लगानी स्वीकृत

क्षेत्रगत रुपमा भित्रिएको लगानी


नेपालखबर
माघ २, २०८० मंगलबार १६:५३, काठमाडौँ

चालू आर्थिक वर्षको छ महिनामा सरकारले २ सय २६ वटा वैदेशिक लगानीलाई स्वीकृत गरेको छ। 

यसअनुसार २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार नेपाली रुपैयाँबराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। 

पुसमा मात्रै २७ वटा नयाँ विदेशी लगानी स्वीकृत गरिएको छ जसबाट १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

त्यसैगरी विभागले उक्त अवधिमा २८ वटा सेयर खरिद सम्झौतालाई पनि स्वीकृति दिएको छ। जसबाट ४ अर्ब १ करोड ३ लाख ९ हजार ९ सय ६९ रुपैयाँ विदेशी लगानी भित्रिने प्रतिबद्धता आएको विभागको भनाइ छ। पुसमा मात्रै यस्तो स्वीकृति सातवटाले पाएका छन् जुन २६ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता हो। 

यता विभागले सोही अवधिमा ३१ वटा प्रविधि हस्तान्तरण सम्झौतालाई स्वीकृति दिएको छ। पुसमा मात्रै चारवटा यस्ता सम्झौताले स्वीकृति पाएका छन्। 

उक्त प्रतिबद्धताअनुसार लगानी भित्रिए १२ हजार १ सय ६७ जनाले रोजगारी पाउने विभागले जनाएको छ। 

पुसमा प्रस्तावित लगानी प्रतिबद्धता साना २२ र मझौला ५ उद्योगका लागि आएको हो भने गत छ महिनाको प्रस्तावित लगानीअनुसार भने साना २११, मझौला १२ र ठूला ३ उद्योगमा भित्रिने विभागले उल्लेख गरेको छ। 

क्षेत्रगत रुपमा छ महिनामा आएको लगानी उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खानीजन्य, सेवा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा भित्रिएको हो। यसअनुसार छ महिनामा पर्यटनमा ४५ प्रतिशत, सेवातर्फ ३७ प्रतिशत, उत्पादनतर्फ १० प्रतिशत, सूचना प्रविधितर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ २ प्रतिशत, ऊर्जामा शून्य, खनिजमा १ र कृषिमा २ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ। 

बिजनेस भिसा लिने बढे 
यसैबीच, गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा व्यावसायिक भिसा लिने संख्या समेत बढेको तथ्यांकले देखाएको छ। 

विभागको तथ्यांकअनुसार गत छ महिनामा १ हजार ३ सय ५६ लगानीकर्ताले बिजनेस भिसा लिएका छन्। गत वर्ष सोही अवधिमा १ हजार ११ लगानीकर्ताले बिजनेस भिसा लिएका थिए।

कति रकम लगे लगानीकर्ताले? 
उक्त अवधिमा विदेशी लगानीकर्ताले १ अर्ब ४ करोड १६ लाख ८६ हजार ६ सय ९८ रुपैयाँ रोयल्टीबापत र बोनसबापत १ अर्ब ५३ करोड ६५ लाख ३० हजार ५ सय ७१ रुपैयाँ लगानी आफ्नो देशमा लगेको विभागले जनाएको छ। 

विदेशी मुद्रातर्फ अमेरिकी डलरमा ८ लाख, भारतीय मुद्रामा झण्डै १४ करोड र युरोतर्फ १३ हजार ६ सय रोयल्टीबापतको रकम आफ्नो देशमा लगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .