पछिल्लो केही दिनयता मौसम बिग्रिँदा भारतमा हवाई उडान गम्भीर रुपमा प्रभावित बनेको छ। मौसमको खराबीका कारण उडान घण्टौँसम्म डिले हुने गरेका छन्।
उडान समयमा हुन नसक्दाको एउटा दृश्य मुम्बई एयरपोर्टमा देखिएको छ। जहाँ एउटा जहाजका यात्रु एयरपोर्टको रनवेमै बसेर खाना खाइरहेका छन्।
रनवेमा बसेर यात्रुले खाना खाइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भिडिओ भाइरल भएपछि सरकारले इन्डिगो एयरलाइन्स र मुम्बई विमानस्थल व्यवस्थापनसँग जवाफ मागेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार भिडिओ भाइरल भएपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले सोमबार मध्यराति मन्त्रालयका सबै अधिकारीसँग बैठक राखेका छन्।
अर्कातिर मंगलबार बिहान नियामक निकाय 'ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटी' (बीसीएएस) ले इन्डिगो र मुम्बई विमानस्थलका नाममा पत्र लेखेको हो।
यी दुवै पक्षलाई जवाफ दिनका लागि मंगलबारसम्मको समय दिइएको छ। यदि समयमा जवाफ नआएमा दुवै पक्षलाई वित्तीय जरिवाना पनि गराइने पत्रमा भनिएको छ।
एयरलाइन्स कम्पनीले यसअघि नै रनवेमा खाना प्रकरणबारे आन्तरिक छानबिन थालिएको जनाएको छ। इन्डिगोले हवाई सुरक्षा नियमअनुसार पत्रको जवाफ दिने जनाएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार गोवा-दिल्ली उडानमा ढिला हुँदा डाइभर्ट गरेर मुम्बई एयरपोर्ट लगिएको थियो। तर मुम्बई पुगेपछि अधिकांश यात्रु रनवेमा निस्किएर बसेका थिए। तीमध्ये केही यात्रुले रनवेमै खाना पनि खाए।
यस मामिलाको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। रनवेमा यात्रु झरेपछि मुम्बई एयरपोर्ट व्यवस्थापनले क्विक रेस्पोन्स टिम खटाएर सुरक्षित ठाउँमा लगेको थियो।
पीटीआईका अनुसार इन्डिगोका प्रवक्ताले यस मामिलाबारे जाँच हुने बताएका छन्। उनले यात्रुलाई गन्तव्यभन्दा अन्तै लानुपरेकोमा यात्रुसँग माफी पनि मागेका छन्।
आइतबार यो जहाज गोवाबाट दिल्लीका लागि उडेको थियो। तर बाक्लो हुस्सुका कारण यो जहाजलाई डाइभर्ट गरेर मुम्बईमा उतारिएको थियो।
Shares
प्रतिक्रिया