ad ad

कारोबार


न्युरोडका व्यवसायी भन्छन् : बालेनले अनावश्यक ठाउँमा हात हालेर तनाव दिए

न्युरोडका व्यवसायी भन्छन् : बालेनले अनावश्यक ठाउँमा हात हालेर तनाव दिए

नेपालखबर
माघ १०, २०८० बुधबार १४:५०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन्।

महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो। उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन्।

व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन सुरु गरेका छन्।

महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने दाबी गरे।

संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप लगाए। उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने बताए। उनले महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत भएको बताए।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनावश्यक रुपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको बताए। उनले विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने बताए।

मेयरले हात हाल्न नहुने क्षेत्रमा हात हालेको अध्यक्ष कटुवालको भनाई छ। उनले महानगरले निःशुल्क पार्किङ सहितको व्यवस्थाको योजना बनाएर आउनुपर्ने बताए। उनले महानगरले विकल्प नदिए न्युरोडका व्यवसायीहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिए। व्यवसायीहरुले संघर्ष समिति बनाएर अगाडि बढेकाले अझ आन्दोलनलाई सशक्त बनाउने योजना रहेको उनको भनाई छ।

आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए। उनले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको बताए। महानगरले सवारी साधन आउने संख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताए।

व्यवसायीहरुले सडक आन्दोेलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्, महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले–दुःख पाए साराले, व्यापारीलाई गरिखान दे, महानगरको पाराले दुःख पाए साराले, एकल निर्णय खारेज गर, स्टन्टबाजी बन्द गर्, व्यवसायीहरु एक हौं लगायतका नारा लगाएर महानगरपालिकाको विरोध गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .