नेपाल टेलिकमले ‘एन टी सूचनाको संसार’ सेवा सुरु गरेको छ।
विश्वव्यापी विकास संस्था भियामासँग साझेदारी गरी उक्त सेवा उपलब्ध गराएको टेलिकमले जनाएको छ। टेलिकमका अनुसार यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ।
नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ। यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन्। यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ।
सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो। यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न रहेको टेलिकमले जानाकारी गराएको छ।
विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ। निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने छ। यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइने समेत टेलिकले जानाकारी गराएको हो।
Shares
प्रतिक्रिया