ad ad

कारोबार


नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने

नेपालखबर
माघ २३, २०८० मंगलबार १४:५६, काठमाडौँ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन्। उनले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको बताए। उनले मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताए।

उपनिर्देशक डुम्रेले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका केही समस्या अझै बाँकी रहेको बताए। उनले अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको बताए।

उनले समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको बताए। डुम्रेले एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको बताए। डुम्रेले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिए।

समिति बैठकमा सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राखे। राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताए।

उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताए। उनले २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने बताए। उनले सरकारले कुनैपनि आयोजना शुरु गर्नेलाई नै अन्तिमसम्म आयोजना जिम्मा दिन आवश्यक रहेको बताए।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङमार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्य रोक्न नहुने बताए। उनले सुरुङ निर्माणको काम समयमा नै सम्पन्न गर्न आवश्यक रहेको बताए।

नागढुङ्गा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’यसअघि नै भइसहेको छ। २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .