ad ad

कारोबार


संसद्‍मा गगनले भने : व्यवसायी टाट पल्टिरहँदा बैंकहरू पैसा थुपारेर बसेका छन्

संसद्‍मा गगनले भने : व्यवसायी टाट पल्टिरहँदा बैंकहरू पैसा थुपारेर बसेका छन्

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २४, २०८० बुधबार १२:१८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकहरूसँग अहिले कहिले नभएको पैसा थुप्रिएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा कांग्रेस सांसदसमेत रहेका थापाले अर्थतन्त्र सुध्रिएको भनिरहँदा व्यवसायीहरू टाट पल्टिँदै गएको बताएका छन्। 

‘राष्ट्र बैंकको ६ महिनायताको रिपोर्टअनुसार ७ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्सबाट आएको रहेछ’, उनले भने, ‘खाडी र मलेसियबाट आएको रेमिट्यान्सले देश धानेको छ। तर उनीहरूलाई हामीले भासिए, पलायन भए भनिदिएका छौँ। उनीहरूकै कारण देशको अर्थतन्त्र टिकेको छ। राष्ट्र बैंकको तथ्यांकले त्यही भन्छ।’

थापाले विदेशी मुद्रा राष्ट्र बैंकमा थुप्रियो भनेर मख्ख परेर बस्न नहुने बताए। 

‘यही आँकडा हेरेर सरकार मख्ख भएर बस्नु भएन। बैंकसँग अहिले कहिले नभएको पैसा थुप्रिएको छ तर कर्जा लगानी गर्दैनन्’, उनले भने, ‘सानादेखि ठूला व्यवसायी टाट पल्टिएका छन्। कहीँ कसैले पनि ठिक भयो भनेका छैनन्। आन्तरिक अर्थतन्त्रमा ठूलो शिथिलता आएको छ।’

थापाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च केवल १९.२१ प्रतिशत हुनुलाई अतिनिराशाजनक भने। 

‘चालु आर्थिक वर्षको ६ महिना २४ दिनमा पुँजीगत खर्च १९.२१ प्रतिशत छ। यो बेला ५० प्रतिशत खर्च सकिनुपर्ने हो। प्रदेश र स्थानीयको हालत पनि उही छ’, थापाले भने, ‘हामीले पुँजीगत खर्च गर्न नसक्दा अर्थतन्त्र शिथिल भएको छ। पुँजीगत खर्च बढाउन हामी सघाउन चाहन्छौँ।’

थापाले प्रधानमन्त्रीसहितका मन्त्रीहरूले हिजोभन्दा फरक गर्न सके मात्रै अर्थतन्त्र उक्सिने बताए। ‘तपाईं हिजो गरेको भन्दा के फरक गर्दै हुनुहुन्छ?’, उनले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले त्यस्तो के फरक गर्दैछन्? हिजोभन्दा फरक गर्न सके मात्रै अर्थतन्त्र माथि उठ्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .