ad ad

राजनीति


लामो समयदेखि बिरामी यी ५ सांसद, जो जान सकिरहेका छैनन् संसद्

लामो समयदेखि बिरामी यी ५ सांसद, जो जान सकिरहेका छैनन् संसद्

बायाँबाट क्रमश: अम्बिका बस्नेत, वसन्तकुमार नेम्बाङ, मनोरमा शेरचन, बिनाकुमारी थनैत र दीपक बोहोरा


गीता चिमोरिया
असोज ८, २०८१ मंगलबार २०:११, काठमाडौँ

२०७९ मंसिरमा भएको प्रतिनिधि सभाको दोस्रो निर्वाचनपश्चात् २०७९ पुस २५ का लागि संघीय संसदको अधिवेशन आह्वान भयो। २०७९ पुस २५ गते सोमबार प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्यो। 

संघीय संसद् सचिवालयका अनुसार २०८० वैशाख १५ गते शुक्रबारसम्म ११० दिन चालु रहेको पहिलो अधिवेशनमा प्रतिनिधि सभाको २८ र संयुक्त एउटा (माघ २७) गरी २९ वटा बैठक बसे।  

कांग्रेस सांसद मनोरमा शेरचन पहिलो अधिवेशनमा २९ वटै बैठकमा अनुपस्थित रहिन्। नेपाली कांग्रेस रुपन्देहीकी पूर्वउपसभापति समेत रहेकी ७८ वर्षीया शेरचन प्रतिनिधि सभामा रुपन्देहीबाट समानुपातिक सांसद हुन्।

२०७९ मंसिरमा प्रतिनिधि सभाको निर्वाचन हुनुभन्दा करिब ६ महिना अघिदेखि नै शेरचन बिरामी थिइन्। नेपाली कांग्रेस रुपन्देहीकी जिल्ला सदस्य कमला पाण्डेका अनुसार अमेरिकामा रहेका छोराको मृत्युको खबरपछि शेरचन अचानक बिरामी भएकी थिइन्।  

लामो समय उपचारमा रहनुपरेपछि उनी त्यसपछिको अधिवेशनहरूमा पनि संसदमा उपस्थित हुन सकिनन्। काठमाडौँमा टाउको र ढाडको लामो उपचारपछि उनी हाल रुपन्देहीस्थित घरमै आराम गरिरहेकी छन्।

नवलपरासी पूर्वबाट नेपाली कांग्रेसबाट समानुपातिक सांसद बिनाकुमारी थनैत पहिलो अधिवेशनको २६ बैठकमा अनुपस्थित रहिन्। संसदमा अनुपस्थितिको कारणमा थनैतले स्वास्थ्य उपचारमा अस्पतालमा रहेको उल्लेख गरेकी छन्। लामो समय संसदको बैठकमा अनुपस्थित थनैतको स्वास्थ्य अवस्थाबारे बुझ्न खोज्दा आफू अहिले पनि बिरामी रहेकाले कुराकानी गर्न नसक्ने बताइन्। 

पाँचथर १ बाट प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङ ताप्लेजुङमा आयोजित नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका बेला २०८० माघ १७ गते एक्कासि बिरामी परे। नेम्बाङ बिरामी परेपछि सुरुमा हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो। मेडिसिटी अस्पतालमा झण्डै एक महिना उपचार गराएपछि उनलाई घर फर्काइयो। 

झण्डै डेढ महिना घरमै बसेर उपचार गराएका नेम्बाङलाई त्यसपछि थप उपचारका लागि भारतको बेंग्लोर लगिएको थियो। हाल बेंग्लोरस्थित नेसनल इन्सिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्समा उनको उपचार भइरहेको छ। जसका कारण लामो समयदेखि संसदमा उपस्थित हुन सकेका छैनन्। छोरा प्रभातले दिएको जानकारी अनुसार, उनको अवस्था विस्तारै सुधार हुँदै गएको छ। दसैँपछि घर फर्कने योजना छ। 

मस्तिष्कघातको उपचार गराइरहेका उनी तेस्रो अधिवेशनका १२ र चौथो अधिवेशनका ५६ बैठकमा अनुपस्थित रहे। 

राप्रपा सांसद दीपक बोहोरा चौथो अधिवेशनको ५६ वटै बैठकमा अनुपस्थित रहे। उनी रुपन्देही ३ बाट निर्वाचित सांसद हुन्। 

पारिवारिक स्रोतलाई उधृत गर्दै पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, बोहोरा झन्डै एक वर्षदेखि गम्भीर स्वास्थ्य समस्यामा छन्। 

श्रेष्ठले भने, ‘उहाँ अहिले बिरामी हुनुहुन्छ। परिवारले हामीलाई भनेअनुसार उहाँलाई पोस्ट कोभिड भएको हो। उपचारपछि अहिले घरमा आराम गरिरहनुभएको छ।’

काठमाडौँबाट नेपाली कांग्रेसकी समानुपातिक सांसद अम्बिका बस्नेत पनि चौथो अधिवेशनका ५६ वटै बैठकमा अनुपस्थित रहिन्। पूर्वमन्त्री समेत रहेकी बस्नेतले संसद् बैठकमा उपस्थित हुन नसक्नुको कारणमा स्वास्थ्य उपचारमा रहेको खुलाएकी छन्। 

गएको वैशाखमा लडेर दाहिने खुट्टा भाँचिएपछि बस्नेत चौथो अधिवेशनको एउटा पनि बैठकमा सदन जान सकिनन्। खुट्टाको शल्यक्रियापछि अहिले उनी आराम गरिरहेकी छन्। 

बस्नेतले भनिन्, ‘यसअघि म शत प्रतिशत उपस्थित हुने सांसद हुँ, यो अधिवेशनमा त एकपटक पनि जान सकिनँ।’

अहिले संसद अधिवेशन त चलिरहेको छैन। तर, अधिवेशन नचल्दा पनि संसदीय समितिका बैठक भइरहेका हुन्छन्। ती समितिमा पनि यी सांसदहरू उपस्थित हुन सकेका छैनन्। 

के छ कानुनी व्यवस्था?
संसद् नियमावली अनुसार लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा सांसदले सभामुखमार्फत सदनलाई जानकारी दिनुपर्छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ मा अनुपस्थितिको सूचनासम्बन्धी व्यवस्था छ। 

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ उपनियम (१) मा भनिएको छ, ‘कुनै सदस्य अस्वस्थ वा काबुबाहिरको परिस्थिति परी संविधानको धारा ८९ को खण्ड (घ) बमोजिम लगातार दसवटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा सोसम्बन्धी अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्नेछ।’

उपनियम (२) अनुसार कुनै सदस्य सभाको दसवटाभन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा सभामुखलाई अग्रिम सूचना दिनु पर्नेछ। अग्रिम सूचना दिन नसक्ने कुनै मनासिव कारण भए उपस्थित भएको तीन दिनभित्र सूचना दिनुपर्नेछ।

सांसदले यस प्रकारको सूचना दिँदा सूचनामा आफू अनुपस्थित रहने अवधि र कारण स्पष्ट उल्लेख गर्नुपर्ने नियम छ। त्यस्तो सूचना विद्युतीय माध्यमबाट समेत दिन सकिने व्यवस्था छ। प्राप्त सूचनामध्ये १० भन्दा बढी बैठकमा अनुपस्थितिको सूचना सभामुखले सभाको स्वीकृतिको निमित्त प्रस्तुत गर्ने र १० भन्दा कम बैठकमा अनुपस्थितिको सूचना सभामुखले स्वीकृत गर्ने व्यवस्था छ। 
 
फरार सांसद पनि गर्छन् बिरामीको बहाना 
राप्रपाबाट समानुपातिक सांसद गीता बस्नेत चौथो अधिवेशनको ४७ बैठकमा अनुपस्थित भइन्। सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीबाट पक्राउ पुर्जी जारी भएर उनी फरार थिइन्। 

तर, बस्नेतले संसदमा भने स्वास्थ्य उपचारमा रहेको सूचना दिइन्। उनले बैठकमा उपस्थित हुन नसक्नुको कारणमा स्वास्थ्य उपचार उल्लेख गरेकी हुन्। 

यसअघि पहिलो अधिवेशनमा महोत्तरी १ का सांसद लक्ष्मी महतो कोइरीले पनि स्वास्थ्य उपचारमा रहेको उल्लेख गरेका थिए। उनको बिदा स्वीकृतिका लागि संसदमा पेस गर्दा माओवादी लगायतका दलले स्वीकृत गर्न मानेका थिएनन्। पछि उनले अदालतबाटै अभियोगमा सफाइ पाए।

तलब नियमित 
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार लामो समयदेखि बैठकमा उपस्थित हुन नसकेका सांसदको नियमित तलब बैंक खातामा गइरहेको छ। बैठक भत्ता र यातायात खर्च भने गएको छैन। 

गिरीले भने, ‘पछिल्लो चरण २०७२ पछाडिको कुरा गर्दा सेवा सुविधा लिन्नँ भन्ने खालको कुनै जानकारी हामीकहाँ आएको छैन। त्यस्तो रेकर्ड छैन।’

प्रवक्ता गिरीका अनुसार २०७९ को निर्वाचनपछिको संसदमा सदन अवरुद्ध भएका बेला रास्वपाका सांसदहरूले सदन नचलेको बेलाको भत्ता नलिने भनेर निवेदन दिएका थिए। त्यसबाहेक सेवा सुविधा नलिने भनेर कुनै सांसदले भनेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .