यो साता बजार २०९६.३२ विन्दुमा छ। गत साता २०६७.०१ विन्दुमा बन्द भएको बजार यो साता २९.३१ अंकले बढेर २०९६.३२ विन्दुमा पुगेको छ।
पाँच दिनमा १ दिन घटेको बजार ४ दिन बढ्यो। साताको पहिलो कारोबार दिन सामान्य अंकले घटेको बजार त्यसपछि निरन्तर बढेर सकारात्मक बन्यो।
नेप्से परिसूचक बढे पनि यो साता कारोबार रकम भने खुम्चिन पुग्यो। गत साता २३ अर्बको कारोबार भएको बजार यो साता १४ अर्बमा खुम्चिन पुग्यो। बढेको बजारमा कारोबार खुम्चिनुले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ।
माथिल्लो तामाकोसीको सेयर बाँडफाँटपछिको सेयर नपरेको रकम बजारमा फर्किने लगानीकर्ताको मनोविज्ञानले यो साता बजारमा सकारात्मक प्रभाव देखियो। योसँगै लगानीकर्ताको मनोबल उच्च देखिँदा नेप्से परिसूचक बढेर कारोबार घट्न पुग्यो। साथै, आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा हुने हल्लाको प्रभाव बजारमा देखियो।
अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक रहेको र प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले केही लचिलो नीति लिने आकलनले लगानीकर्ताको मनोबल उच्च हुँदा बजार सकारात्मक लय लिएको जानकार बताउँछन्। प्रणालीमा तरलता थुप्रिएको हुँदा केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा परिमार्जन गर्नसक्ने उनीहरुको भनाइ छ।
हाल व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था छ। कर्जाको ब्याजदर घट्दो क्रममा रहेको र तरलता थुप्रिँदै जाँदा मौद्रिक नीति केही लचिलो आउने उनीहरुको तर्क छ।
केन्द्रीय बैंकले यसअघि नै ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतको व्यवस्था घटाएर १२५ मा झारेको छ। तर, यस्तो कर्जाको क्याप व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म सीमा हुँदा त्यसले बजारमा धेरै उत्साह नदेखिएको उनीहरु बताउँछन्। अब यस्तो क्यापमा केही खुकुलो व्यवस्था गरिदिए त्यसले बजारमा सकारात्मक हुने लगानीकर्ताको आकलन छ।
हुन त केन्द्रीय बैंकले सेयरबजारलाई हेरेर मात्रै मौद्रिक नीति ल्याउने भने होइन। उसले वर्तमान वित्तीय अवस्थामा केन्द्रित रहेर मौद्रिक नीतिको समीक्षा गर्छ। तर, केन्द्रीय बैंकले लिने केही नीतिले बजारसँग प्रत्यक्ष÷अप्रत्यक्ष सरोकार राख्छ। हाम्रो सेयरबजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ठूलो छ। सेयर बजारमा ठूलो हिस्सा भएका बैंकिङ तथा बीमा सेक्टरमा हुने नीतिगत परिवर्तनले बजारलाई प्रभाव पार्ने हुन्छ।
यद्यपि, केन्द्रीय बैंकले कर्जा विस्तार नीति, नीतिगत दर घटाउने लगायतका व्यवस्थाले बजार सकारात्मक प्रभाव देखिने गर्छ। तर, उसले कर्जा प्रवाहमा कसिलो र नीतिगत दर बढाउँदा त्यसको बजारमा नकारात्मक असर पर्छ।
२१ सय नजिक पुगेको बजारमा आगामी साता धेरै उतारचढाव हुने देखिँदैन। एकथरि लगानीकर्ता मौद्रिक नीतिको समीक्षासम्म पर्ख र हेरको अवस्था छन्। अर्कोथरि, लगानीकर्ता मौद्रिक नीति देखाएर स्वार्थअनुरुप बजार चलाउन कसरत समेत गर्छन्।
अन्ततः माथिल्लो तामाकोसीको सेयर बाँडफाँटपछिको सेयर नपरेको रकम सेयर बजारमा फर्किए बजार २२ सयतिर जाने, नभए बजार बजारमा धेरै उतारचढाव हुने देखिँदैन।
यो साता १३ उपसूचकमध्ये ११ मा बढ्दा म्युचुअल फन्डमा गिरावट देखियो। यो साता हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट देखिएको छ।
जसले धेरै कमाए, गुमाए
यो साता सर्वाधिक कमाउनेमा समाज लघुवित्तका लगानीकर्ता छन्। यस साता यस कम्पनीका लगानीकर्ताले उच्च दरले कमाउन सफल रहे। त्यसैगरी, गुँरास लघुवित्तका लगानीकर्ता छन्। यस साता यस कम्पनीका लगानीकर्ताले ३० प्रतिशत बढीका दरले कमाए।
साथै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसियन हाइड्रोपावरका लगानीकर्ताले उच्च दरले कमाउन सफल देखिए।
यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा मन्दाकिनी हाइड्रोपावर, विशाल बजार कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ता छन्।
सर्वाधिक कारोबार गर्ने हिमालयन रि
यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। त्यसैगरी यो साता न्याङदी हाइड्रोपावर, सानोपुर मिनिरल एन्ड आयल र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको थियो।
फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्ष स्थानमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी छ। त्यसैगरी, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, अपी पावरको सेयर माग उच्च देखिएको छ।
यो साता सर्वाधिक सेयर डिमान्ड रहेका कम्पनीको सप्लाई अर्थात् विक्रीचाप समेत उच्च नै देखिएको थियो।
Shares
प्रतिक्रिया