डा. धनञ्जय रेग्मी भर्खरै नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। सन् १९७५ मा स्याङ्जा जिल्लामा सामान्य परिवार मै जन्मेका रेग्मीका बुबा भारतीय सेना थिए। सोही कारण उनको स्कुले जीवन भारतमै बित्यो।
बुबाको सरुवा भारतको जुन–जुन ठाउँमा भयो, उनी पनि त्यहीँ जानुपथ्र्यो। सोही कारण उनले फरक–फरक भारतीय समाजको अध्ययन गर्ने अवसर पाए। सो क्रममा आफूले हिन्दू धर्म मात्रै नभई मुस्लिम, इसाइलगायतका धर्म मान्ने मानिसहरुलाई समेत बुझ्न सकेको उनी बताउँछन्।
उनी भन्छन्, ‘पर्यटन बोर्डको कार्यकारी अधिकृत बनेपछि विभिन्न धर्मका पर्यटक कस्तो वातावरण चाहन्छन् भन्ने कुरा लागू गर्न सजिलो हुन्छ।’
औपचारिक अध्ययन नेपाल, भारत, जापान र अमेरिकाबाट पूरा गरेका रेग्मीले अनुसन्धानको लागि युरोपका धेरै देश घुमेका छन्। सो क्रममा हिमालसम्बन्धी विषयमा अध्ययन गरेका छन्।
‘यी सबै कुरा अब व्यावहारिक रुपमा कसरी लागू गर्न सक्छु, महत्वपूर्ण कुरा हो’, उनी भन्छन्।
सन् २००७ सालमा नेपाल फर्की अटोमोबाइल्स व्यवसाय सुरु गरेका उनले केही समयपछि हिमालय रिसर्च सेन्टर स्थापना गरी नेपालका हिमालको विषयमा अध्ययन गरे। हिमपहिरो, ताल, नदीको समस्याको विषयमा विश्वका वैज्ञानिक ल्याएर अध्ययन गरे। हिमालमा ताल, पोखरी कति बढे कति घटे भन्ने विषयमा अध्ययनको अनुभव संगाले।
‘नेपालको हिमालसम्बन्धी उनले गरेका धेरै अध्ययन त्यहाँ भएका वा हुनसक्ने सम्भावित दुर्घटना समाधानको विषयमा अध्ययन गरेको छु’, उनले भने, ‘प्राकृतिक प्रकोप वा दुर्घटनाका कारण पनि नजिकबाट नियालेको छु।’
कुनै विपत्ति आए कसरी सल्टाउने भन्नेमा आफू जानकार रहेको उनी बताउँछन्।
नेपालको धेरै क्षेत्रको अध्ययन गरेका उनले पर्यटनसँग सम्बन्धित फेवा तालको विषयमा समेत अध्ययन गरेका छन्। त्यस्तै कहाँ कस्ता पर्यटक जाने गरेका छन्। कुन देशका पर्यटक के मन पराउँछन्, कुन ठाउँमा कति होटल छन्, कति बढे भन्ने विषयमा अध्ययन गरेका छन्।
‘पर्यटनको विकास अधिकतम स्थानीय जनतालाई नजोडिएसम्म हुनसक्दैन’, उनले भने, ‘वातावरणमैत्री दिगो पर्यटन र पर्यटन क्षेत्रबाट आउने फाइदा समानताको आधारमा सबैलाई वितरण गर्नुपर्छ भन्ने मेरो मूलमन्त्र हो।’
‘प्रोडक्ट’विना प्रचारको औचित्य छैन
पर्यटन बोर्डको सीईओ भएकोले विश्वमा नेपालको प्रचार गर्ने मुख्य काम त छँदै छ। नेपाल सुरक्षित, शान्त र सुन्दर छ भन्ने विश्वभर फैलाउने प्रयास हुनेछ। यो कुरा त अहिले पनि भइसकेको छ। तर हामीले चाहेजति पर्यटक ल्याउनसकेका छैनौं। यसको विषयमा रिसर्चमा विशेष ध्यान दिने बताउँछन्।
संघीयताअनुसार पर्यटन बोर्डमा संरचनात्मक परिवर्तन गरी नेपालमा गुणस्तरीय पर्यटक ल्याउन के गर्न सकिन्छ, कुन–कुन संस्थासँग मिलेर काम गर्न सकिन्छ, त्यसमा ध्यान दिने बताउँछन्।
पर्यटन बोर्ड मार्केटिङ नियमित गर्दै आए पनि नयाँ ‘प्रोडक्ट’को विकास र भौतिक पूर्वाधारविना पर्यटक ल्याउन नसकिने उनकाे भनाइ छ।
‘हामीले काठमाडौं, लुम्बिनी, पोखरा, चितवन र खुम्बु क्षेत्रको विषयमा मात्रै बाहिर प्रचार गर्छौँ। ६५ प्रतिशत मार्केटिङमा खर्च गर्दै आएका छौँ, पहिला नयाँ गन्तव्य हुनैपर्छ’, उनले भने ।
प्रदेशअनुसार फरक–फरक पर्यटन क्षेत्रको विकास हुनुपर्नेमा जोड दिन्छन् रेग्मी। त्यसपछि मात्रै अन्तर्राष्ट्रिय बजारमा जानसकिने उनको भनाइ छ।
‘हिमाल आरोहणलाई कसरी सुरक्षित र सफा बनाउन सकिन्छ’, उनी भन्छन्।
‘एभरेष्ट, अन्नपूर्ण र लाङटाङ बढी चर्चित रहेका छन्’, उनी भन्छन्, ‘अहिले हिमाल ट्रेकिङ गर्ने पर्यटकले आन्नद लिन नपाएको गुनासो गर्ने गरेका छन् । पर्यटक आफु हिड्ने बाटोमा भीडभाड, आकाशमा हेलिकप्टरले शान्तसँग हिँड्न नपाएको बताउँछन् । अब यसको विषयमा पुनः विचार गर्नुपर्नेछ। एउटै हिमालमा पनि जाँदा एउटा ट्रेक र फर्किँदा अर्को ट्रेकको विकास गर्नु छ।’
यस विषयमा केही अध्ययन गरिरहेको उनी बताउँछन्। ‘मोडर्न ट्रेकिङ ट्र्रेल’को मोडल मकालुमा लागू गर्न सकिने उनको विश्वास छ। त्यहाँ सफलता प्राप्त भयो भने अन्य हिमालमा पनि यस्तो व्यवस्था गर्न सकिने बताउँछन्।
‘पूर्वदेखि पश्चिमका पहाडमा ‘हिल्ली स्टेसन’ निर्माण गर्न सकिन्छ भने तराईमा क्यासिनोको विकास गर्न सकिन्छ। वातावरण सरसफाइ, गाउँ–गाउँसम्म पर्यटक पुर्याउनको लागि विद्यालयहरुसँग समन्वय गर्नुपर्छ,’ उनले आफ्नो योजना सुनाए।
बोर्डका सीईओ रेग्मीले पर्यटनको विकासको लागि स्पष्ट नीति नै नभएको बताउँछन्। ‘कहाँसम्म मोटर सडक बनाउने, कहाँ ट्रेकिङ भन्ने कुरा स्पष्ट हुनैपर्छ । पहिला मनाङ जाने पर्यटक १५ दिन बिताउँथ्यो भने अहिले ३ दिनमै फर्किन्छ । यहाँ हामीले गल्ती गरिरहेका छौँ। पर्यटकको समय अवधि बढाउने कुरा गरिरहँदा अवधि घटाउने काम गरिरहेका छौँ।’
उनले निजी क्षेत्रको पूर्ण सहयोग हुने विश्वास गरेका छन्। आफू पूर्णरुपमा पर्यटन व्यवसायमा लागेको नभए पनि पर्यटन सम्बन्धित धेरै काम गरेको बताउँछन्।
प्रतिक्रिया