साताको पहिलो कारोबार दिन एउटा कम्पनीको सेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ।
आइतबार बोटलर्स नेपाल (बालाजु)को सेयर १० प्रतिशतले बढेको हो। पछिल्लो समय लगातारजसो कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दै आएको छ।
त्यसपछि चिर्ख्वा हाइड्रोको सेयर ८.५५ प्रतिशतले, धौलागिरि लघुवित्तको ६.६६ प्रतिशतले, गुर्खाज फाइनान्सको ५.१६ प्रतिशतले र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले सेयर मूल्य बढेको छ।
योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १ हजार ३ सय ४१.५०, ४९, ५१, ३२ र २८.८० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
सेयरबजारमा आज ३८ वटा कम्पनीको सेयर मूल्य बढे पनि २०६ वटाको घटेको छ।
आज समाज लघुवित्त र मौलुङ हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको सेयर १० प्रतिशतले घटेको हो। यसबाहेक सामलिङ पावरको ९.५६ प्रतिशत, बलेफी हाइड्रो ९.२१ प्रतिशत र जोशी हाइड्रोपावरको सेयर ७.७७ प्रतिशतले घटेको हो।
सेयरमूल्य घट्दा यी कम्पनीका लगानीकर्ताले क्रमशः २१७.६०, ६२.५०, ६५, ३४ र ३२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सूचक घट्यो, ३ अर्बको कारोबार
पहिलो कारोबार दिन नै बजार परिसूचक घटेको छ। २६.८१ अंकले घटेपछि नेप्से फेरि २ हजार विन्दुबाट झरेको छ।
आइतबार चारवटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। दिनभरिमा ८५ लाख कित्ता सेयर बिक्री हुँदा ३ अर्ब ८ करोडको कारोबार भएको छ। रकमका हिसाबले आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २५ करोडको कारोबार भएको छ।
त्यसपछि जोशी हाइड्रोको ११ करोड, हिमालयन रि ११ करोड, गुर्खाज फाइनान्स १० करोड र ङादी पावरको ८ करोडको सेयर कारोबार भएको छ।
Shares
प्रतिक्रिया